उसले भन्यो, “उहाँ पापी हुनुहुन्छ कि हुनुहुन्न, त्यो त म जान्दिनँ! तर एउटै कुराचाहिँ म जान्दछु, म अन्धो थिएँ, तर अहिले देख्ने भएँ।” तिनीहरूले फेरि सोधे, “त्यसले तिमीलाई के गर्यो, कसरी त्यसले तिम्रो आँखा देख्ने गरायो?” उसले भन्यो, “मैले हजुरहरूलाई अघि नै भनिसकें, तर हजुरहरूले सुन्नुभएन। फेरि किन त्यही कुरा सोधिरहनुहुन्छ? के हजुरहरूको पनि उहाँका चेला हुने विचार छ कि कसो?” यो सुनेर तिनीहरूले उसला ई गाली गर्दै भने, “तँ पो त्यस मानिसको चेला होस्, हामी त मोशाका चेला हौं। मोशासँग त परमेश्वर बोल्नुभएको थियो, त्यो हामीलाई थाहा छ। तर त्योचाहिँ कहाँको मान्छे हो, यो त हामीलाई थाहा छैन।” तब उसले भन्यो, “यो कस्तो अचम्मको कुरा! उहाँले मेरो आँखा देख्ने बनाउनुभयो। उहाँ कहाँको मान्छे हुनुहुन्छ, हजुरहरूलाई थाहा छैन? परमेश्वरले पापीका कुरा सुन्नुहुन्न भन्ने हामी सबैलाई थाहा छ तर उहाँले आफूलाई आदर गर्ने र उहाँको इच्छाअनुसार काम गर्नेको मात्र कुरा सुन्नुहुन्छ। संसारको सुरुदेखि अहिलेसम्म जन्मैको अन्धोलाई कसैले निको पारेको कहिल्यै पनि सुनिएको छैन। यदि उहाँ परमेश्वरको मानिस नहुनुभएको भए उहाँले केही गर्न सक्नुहुनेथिएन।” “तँ पापमा जन्मेर पापैमा हुर्केको मान्छेले हामीलाई सिकाउन खोज्छस्?” भन्दै तिनीहरूले उसलाई सभाघरबाट निकाले। यहूदी अगुवाहरूले उसलाई निकालिदिए भन्ने कुरा येशूले सुन्नुभयो अनि येशूले उसलाई भेटेर भन्नुभयो, “के तिमी परमेश्वरले पठाउनुभएको मानव पुत्रमाथि विश्वास गर्छौ?” उसले भन्यो, “हजुर, उहाँ को हुनुहुन्छ मलाई भन्नुहोस् र म विश्वास गर्छु।” येशूले भन्नुभयो, “तिमीले उसलाई देखिसकेका छौ, उसले अहिले तिमीसँग कुरा गरिरहेको छ।” यो सुनेर उसले येशूको चरणमा पर्दै भन्यो, “प्रभु, म विश्वास गर्छु!” अनि येशूले भन्नुभयो, “नदेख्ने मानिसहरूले देख्न सकून् र देख्तछु भन्नेहरू नदेख्ने होऊन् भनेर म संसारमा न्याय गर्न आएको छु।”
यूहन्ना 9 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 9:25-39
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू