लूका 19:1-10

लूका 19:1-10 सरल नेपाली

येशू यरीहो सहर भएर जाँदै हुनुहुन्‍थ्‍यो। त्‍यस सहरमा जखायस नाउँ भएका धनी मानिस कर उठाउनेहरूका हाकिम थिए। उनले येशूलाई हेर्न खोज्‍दै थिए। तर उनी पुड्का थिए र मानिसहरूको घुइँचोले गर्दा उनले येशूलाई देख्‍न सकेनन्। त्‍यसकारण येशूलाई हेर्न उनी दगुर्दै अगाडि गएर एउटा जङ्गली नेभाराको रूखमा चढे। येशू त्‍यही बाटो भएर आउँदै हुनुहुन्‍थ्‍यो। त्‍यस ठाउँमा आइपुगेपछि येशूले मास्‍तिर हेरेर जखायसलाई भन्‍नुभयो, “ए जखायस, झट्टै तल ओर्लेर आऊ! आज म तिम्रो घरमा बास बस्‍नुपरेको छ।” जखायसले खुसी हुँदै तुरुन्‍तै ओर्लेर येशूको स्‍वागत गरे। यो देखेर सबै जना यसो भन्‍दै गनगनाउन लागे, “यी मानिस त पापीको घरमा पो बास बस्‍न जाँदै छन्!” तर जखायसले प्रभुको अगाडि उभिएर भने, “सुन्‍नुहोस् हजुर, अब म आफ्‍नो धन-सम्‍पत्तिको आधा भाग गरीबहरूलाई बाँडिदिनेछु अनि कसैलाई करकापमा पारेर केही लिएको छु भने म त्‍यसको चार गुणा फिर्ता पनि गरिदिनेछु।” येशूले तिनलाई भन्‍नुभयो, “आज यस घरले उद्धार पाएको छ। जखायस पनि त अब्राहामकै सन्‍तान हुन्। म मानव पुत्र हराएकालाई नै खोज्‍न र बचाउन भनेर आएको हुँ।”

लूका 19 पढ्नुहोस्