लूका 19:1-10

लूका 19:1-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

येशू यरीहोमा प्रवेश गरेर त्‍यहाँबाट जाँदैहुनुहुन्‍थ्‍यो। त्‍यहाँ जखायस नाउँ भएका एक जना मानिस थिए। तिनी कर उठाउनेहरूमा प्रमुख मानिस थिए, अनि धनी थिए। येशू को हुनुहुँदोरहेछ भनेर तिनी हेर्न चाहन्‍थे, तर पुड़को भएका हुनाले भीड़ले गर्दा तिनले देख्‍न सकेनन्‌। तिनी उहाँलाई हेर्नलाई अगिअगि दौड़ेर एउटा अञ्‍जीरको रूखमा चढ़े। किनकि येशू त्‍यही बाटो भएर जान लाग्‍नुभएको थियो। जब येशू त्‍यस ठाउँमा आइपुग्‍नुभयो, तब उहाँले मास्‍तिर हेरेर तिनलाई भन्‍नुभयो, “ए जखायस, चाँड़ो ओर्लेर आऊ, किनभने आज मलाई तिम्रो घरमा बस्‍नुपरेको छ।” तिनी झट्टै ओर्लेर आए। अनि खुसीसाथ उहाँको सत्‍कार गरे। जब मानिसहरूले यो देखे, तिनीहरू सबै यसो भनेर गनगनाउन लागे, “उनी पापीको घरमा पाहुना लाग्‍न गए।” जखायसले खड़ा भएर प्रभुलाई भने, “प्रभु, हेर्नुहोस्, म आफ्‍ना सम्‍पत्तिको आधा भाग गरीबहरूलाई दिन्‍छु, र कोहीबाट अन्‍यायपूर्वक केही लिएको छु भने म त्‍यसको चार गुणा फिर्ता गरिदिनेछु।” तब येशूले तिनलाई भन्‍नुभयो, “आज यस घरमा मुक्ति आएको छ, किनकि यिनी पनि अब्राहामका छोरा हुन्‌। किनभने मानिसको पुत्र हराएकालाई खोज्‍न र बचाउन आएको हो।”

शेयर गर्नुहोस्
लूका 19 पढ्नुहोस्

लूका 19:1-10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

येशू यरीहोमा प्रवेश गरी त्यहाँबाट जाँदैहुनुहुन्थ्यो। त्यहाँ जक्‍कै नाम भएका एक जना मानिस थिए। तिनी कर उठाउनेहरूका प्रमुख थिए; र धनी थिए। अनि तिनले येशू को हुनुहुँदोरहेछ भनी हेर्न चाहन्थे, तर भीडले गर्दा तिनले उहाँलाई देख्न सकेनन्; किनकि तिनी पुड्का थिए। त्यसकारण तिनी दौडेर अगि-अगि गएर उहाँलाई हेर्नका लागि एउटा अञ्जीरको रूखमा चढे; किनकि येशू त्यही बाटो भएर आउन लाग्नुभएको थियो। जब येशू त्यस ठाउँमा आइपुग्नुभयो, तब उहाँले माथितिर हेरेर तिनलाई भन्‍नुभयो, “ए जक्‍कै, चाँडै तल ओर्लेर आऊ। आज मलाई तिम्रो घरमा बस्‍नु छ।” तिनी झट्टै तल ओर्लेर आए, र खुशी हुँदै उहाँलाई सत्कार गरे। तर यो देखेर सबै जनाले गनगनाउँदै भन्‍न लागे, “उनी त एउटा पापीको घरमा पाहुना बस्‍न गए।” तर जक्‍कै खडा भएर प्रभुलाई भने, “हे प्रभु, हेर्नुहोस्! म अहिले यहीँ नै मेरो सम्पत्तिको आधा भाग गरिबहरूलाई दिन्छु; यदि मैले कसैलाई कुनै कुरामा ठगेको छु भने म त्यसको चार गुणा फिर्ता गरिदिनेछु।” येशूले तिनलाई भन्‍नुभयो, “आज यस घरमा मुक्ति आएको छ; किनकि यी मानिस पनि अब्राहामकै सन्तान हुन्। किनकि मानिसको पुत्र हराएकालाई खोज्न र बचाउन आएको हो।”

शेयर गर्नुहोस्
लूका 19 पढ्नुहोस्

लूका 19:1-10 पवित्र बाइबल (NERV)

येशू यरीहो शहर भएर जाँदै हुनुहुन्थ्यो। यरीकोमा एकजना जक्कै नाउँ भएको मानिस बस्थे। तिनी महसूल उठाउने हाकीम औ धनवान मानिस थिए। तिनी येशू को हुन भनी हेर्न चाहन्थे। अरू मानिसहरू पनि त्यहाँ उहाँलाई हेर्न चाहन्थे। जक्कै एकदमै पुडको मानिस थिए अनि उनले मानिसहरूको भीडमा येशूलाई देख्न सक्ने थिएनन्। अनि येशू आउँदै गरेको ठाँउ पुग्नु तिनी अघि दौडे। तिनी नेभाराको रूखमा चढे जहाँबाट तिनले येशूलाई देख्न सक्थे। जब येशू त्यो ठाउँमा आइपुग्नु भयो उहाँले जक्कैलाई रूखमाथि देख्नु भयो। उहाँले तिनलाई भन्नुभयो, “जक्कै, झट्टै! तल ओर्लेरआऊ! आज म तिम्रो घरमा बास बस्नु पर्छ।” त्यसपछि जक्कै झट्टै तल ओर्लेर आए। तिनी आफ्नो घरमा येशूलाई स्वागत गर्न पाउँदा खुबै खुशी भए। सबै मानिसहरूले यो देखो। तिनीहरू यसो भन्दै विरोध गर्न लागे, “हेर येशू कस्ता मानिससँग बस्न जानु हुँदैंछ? जक्कै पापी हो।” जक्कैले प्रभूलाई भन्यो, “म असल काम गर्न चाहान्छु। म गरीबहरूलाई मेरो आधा सम्पति दिनेछु। अनि यदि मैले कसैलाई ठगेकोछु भने तिनीहरूलाई चार गुणा अधिक तिर्नेछु।” येशूले भन्नुभयो, “यो मानिस असल हो। निश्चय नै यी अब्राहामको परिवारको हुनुपर्छ। आज जक्कै आफ्नो पापहरूबाट मुक्त भएको छ। मानिसको पुत्र हाराएको मानिसहरूलाई खोज्नु र उद्धार गर्न आएको हो।”

शेयर गर्नुहोस्
लूका 19 पढ्नुहोस्

लूका 19:1-10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

येशू यरीहो सहर भएर जाँदै हुनुहुन्‍थ्‍यो। त्‍यस सहरमा जखायस नाउँ भएका धनी मानिस कर उठाउनेहरूका हाकिम थिए। उनले येशूलाई हेर्न खोज्‍दै थिए। तर उनी पुड्का थिए र मानिसहरूको घुइँचोले गर्दा उनले येशूलाई देख्‍न सकेनन्। त्‍यसकारण येशूलाई हेर्न उनी दगुर्दै अगाडि गएर एउटा जङ्गली नेभाराको रूखमा चढे। येशू त्‍यही बाटो भएर आउँदै हुनुहुन्‍थ्‍यो। त्‍यस ठाउँमा आइपुगेपछि येशूले मास्‍तिर हेरेर जखायसलाई भन्‍नुभयो, “ए जखायस, झट्टै तल ओर्लेर आऊ! आज म तिम्रो घरमा बास बस्‍नुपरेको छ।” जखायसले खुसी हुँदै तुरुन्‍तै ओर्लेर येशूको स्‍वागत गरे। यो देखेर सबै जना यसो भन्‍दै गनगनाउन लागे, “यी मानिस त पापीको घरमा पो बास बस्‍न जाँदै छन्!” तर जखायसले प्रभुको अगाडि उभिएर भने, “सुन्‍नुहोस् हजुर, अब म आफ्‍नो धन-सम्‍पत्तिको आधा भाग गरीबहरूलाई बाँडिदिनेछु अनि कसैलाई करकापमा पारेर केही लिएको छु भने म त्‍यसको चार गुणा फिर्ता पनि गरिदिनेछु।” येशूले तिनलाई भन्‍नुभयो, “आज यस घरले उद्धार पाएको छ। जखायस पनि त अब्राहामकै सन्‍तान हुन्। म मानव पुत्र हराएकालाई नै खोज्‍न र बचाउन भनेर आएको हुँ।”

शेयर गर्नुहोस्
लूका 19 पढ्नुहोस्