लूका 19:1-10

लूका 19:1-10 NCV

येशू यरीहोमा प्रवेश गरी त्यहाँबाट जाँदैहुनुहुन्थ्यो। त्यहाँ जक्‍कै नाम भएका एक जना मानिस थिए। तिनी कर उठाउनेहरूका प्रमुख थिए; र धनी थिए। अनि तिनले येशू को हुनुहुँदोरहेछ भनी हेर्न चाहन्थे, तर भीडले गर्दा तिनले उहाँलाई देख्न सकेनन्; किनकि तिनी पुड्का थिए। त्यसकारण तिनी दौडेर अगि-अगि गएर उहाँलाई हेर्नका लागि एउटा अञ्जीरको रूखमा चढे; किनकि येशू त्यही बाटो भएर आउन लाग्नुभएको थियो। जब येशू त्यस ठाउँमा आइपुग्नुभयो, तब उहाँले माथितिर हेरेर तिनलाई भन्‍नुभयो, “ए जक्‍कै, चाँडै तल ओर्लेर आऊ। आज मलाई तिम्रो घरमा बस्‍नु छ।” तिनी झट्टै तल ओर्लेर आए, र खुशी हुँदै उहाँलाई सत्कार गरे। तर यो देखेर सबै जनाले गनगनाउँदै भन्‍न लागे, “उनी त एउटा पापीको घरमा पाहुना बस्‍न गए।” तर जक्‍कै खडा भएर प्रभुलाई भने, “हे प्रभु, हेर्नुहोस्! म अहिले यहीँ नै मेरो सम्पत्तिको आधा भाग गरिबहरूलाई दिन्छु; यदि मैले कसैलाई कुनै कुरामा ठगेको छु भने म त्यसको चार गुणा फिर्ता गरिदिनेछु।” येशूले तिनलाई भन्‍नुभयो, “आज यस घरमा मुक्ति आएको छ; किनकि यी मानिस पनि अब्राहामकै सन्तान हुन्। किनकि मानिसको पुत्र हराएकालाई खोज्न र बचाउन आएको हो।”

लूका 19 पढ्नुहोस्