YouVersion लोगो
खोज आइकन

मत्ती 6:25-34

मत्ती 6:25-34 सरल नेपाली

“त्‍यसैकारण म तिमीहरूलाई भन्‍छु, जीविका चलाउन चाहिने खाने-पिउने, लाउने कुराको बारेमा चिन्‍ता नगर। के खाने कुराभन्दा जीवन ठूलो र लाउने कुराभन्दा शरीर ठूलो होइन र? आकाशमा उड्‍ने चराहरूलाई हेर, खै तिनीहरू खेती गर्दैनन्, बाली काट्‍ने, थन्‍क्‍याउने पनि गर्दैनन्। तैपनि स्‍वर्गमा हुनुहुने तिमीहरूका परमेश्‍वर पिताले तिनीहरूलाई खुवाउनुहुन्‍छ। ती चरा-चुरुङ्गीहरूभन्दा त तिमीहरू धेरै नै मूल्‍यवान् छौ, होइन र? तिमीहरूमध्‍ये कसैले चिन्‍ता गरेर आफ्‍नो आयु अलिक लामो बनाउन सक्‍छौ र? “के लगाउने होला भनेर तिमीहरू किन चिन्‍ता गर्छौ? जङ्गलका लिली फूलहरू बढेको हेर, तिनीहरूले त काम पनि गर्दैनन्, लाउनलाई लुगा पनि बुन्‍दैनन्। तर म तिमीहरूलाई भन्‍छु, सोलोमन राजाको त्‍यत्रो धन-सम्‍पत्ति छँदाछँदै पनि उनी ती फूलहरू जति सिंगारिन सकेका थिएनन्। आज मौलाउने, अनि भोलि नै ओइलाएर आगोमा फालिने झारलाई पनि परमेश्‍वरले यसरी सिंगार्नुहुन्‍छ भने के झन् उहाँले तिमीहरूलाई लगाउने लुगा दिनुहुन्‍न र? खै त तिमीहरूको विश्‍वास? “यसकारण के खाऔं, के पिऔं र के लाऔं भनेर चिन्‍ता नगर। परमेश्‍वरलाई नचिन्‍ने अन्‍यजातिहरूले पो यस्‍तो चिन्‍ता गर्छन्। यी सबै कुरा तिमीहरूलाई चाहिन्‍छ भनेर स्‍वर्गमा हुनुहुने तिमीहरूका परमेश्‍वर पितालाई थाहै छ। पहिले परमेश्‍वरको राज्‍यको खोजी गर र उहाँका आज्ञाहरू पालन गर अनि उहाँले यी सबै कुरा तिमीहरूलाई थपिदिनुहुनेछ। भोलिको चिन्‍ता नगर। भोलिको समस्‍या भोलि नै सुल्‍झिन्‍छ। आजलाई आजकै दु:ख पुग्‍दो छ।”

मत्ती 6 पढ्नुहोस्