येशू डाँडाबाट तल झर्नुहुँदा मानिसको ठूलो धुइरोले उहाँलाई पछ्यायो। त्यसै बेला एक जना कुष्ठरोग लागेको मानिस आएर उहाँको पाउमा पर्दै भन्यो, “गुरुज्यू, तपाईंले चाहनुभयो भने मलाई शुद्ध पार्न सक्नुहुन्छ।” येशूले उसमाथि हात राखेर भन्नुभयो, “तिमी शुद्ध होऊ भन्ने म चाहन्छु।” तुरुन्तै त्यो कुष्ठरोग लागेको मानिस शुद्ध भइहाल्यो। येशूले उसलाई भन्नुभयो, “हेर, यो कुरा कसैलाई नभन्नू। तर पूजाहारीकहाँ गएर आफ्नो जाँच गराऊ अनि मोशाले अह्राएजस्तो भेटी चढाएर सबैलाई तिमी शुद्ध भएको प्रमाण देऊ।” येशू कफर्नहुम सहरमा आउनुहुँदा एक जना रोमी कप्तान आएर उहाँसँग बिन्ती गरे, “हजुर, मेरो नोकर पक्षघात रोगले घरमा थलिएको छ।” येशूले उनलाई भन्नुभयो, “म आएर उसलाई निको पार्नेछु।” कप्तानले भने, “हजुरलाई आफ्नो घरभित्र लैजाने लायकको म छैनँ। हजुरले आज्ञा मात्र दिनुहोस् र मेरो नोकर निको भइहाल्नेछ। म आफैं पनि ठूला हाकिमहरूको अधीनमा रहेको छु। मेरो अधीनमा पनि सिपाहीहरू छन्। एउटालाई ‘जा’ भन्छु, त्यो जान्छ, अर्कोलाई ‘आइज’ भन्छु, त्यो आउँछ अनि आफ्नो नोकरलाई पनि ‘यसो गर्’ भन्छु, त्यसले गरिहाल्छ।” यो कुरा सुनेर येशू छक्क पर्नुभयो अनि आफ्ना पछि लागेका मानिसहरूलाई भन्नुभयो, “हेर, यति ठूलो विश्वास गर्ने मानिस त मैले इस्राएलीहरूको बीचमा पनि भेटेको छैनँ। साँच्चै म तिमीहरूलाई भन्छु, पूर्व र पश्चिमबाट अरू जातिका धेरै मानिसहरू परमेश्वरको राज्यमा आउनेछन् र अब्राहाम, इसहाक र याकूबसँगै खान बस्नेछन्। तर परमेश्वरको राज्यमा हुनुपर्ने इस्राएलीहरूचाहिँ बाहिर अन्धकारमा फ्याँकिनेछन् र त्यहाँ तिनीहरू दाह्रा किट्दै रुवाबासी गरिरहनेछन्।” त्यसपछि येशूले कप्तानलाई भन्नुभयो, “हुन्छ, अब तिमी जाऊ, तिमीले विश्वास गरेजस्तै हुनेछ।” त्यति नै खेर कप्तानको नोकर निको भयो। येशू पत्रुसको घरमा जानुभयो। त्यहाँ उहाँले पत्रुसकी सासूलाई ज्वरोले थलिएर सुतिरहेकी भेट्टाउनुभयो। येशूले तिनको हात छोइदिनुभयो र तिनलाई ज्वरोले छोडिहाल्यो अनि तिनी उठेर उहाँको सेवा सत्कार गर्न लागिन्। साँझ परेपछि मानिसहरूले भूत लागेका धेरै बिरामीहरूलाई येशूकहाँ ल्याए। येशूले आफ्नो बोलीले नै भूतहरूलाई निकाल्नुभयो र सबै बिरामीहरूलाई निको पार्नुभयो। यसरी यशैया अगमवक्ताले भनेको यो कुरा पूरा हुन आएको हो– “उहाँले हाम्रा रोग र कमजोरीहरू लिएर आफैंले बोक्नुभयो।”
मत्ती 8 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 8:1-17
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू