YouVersion लोगो
खोज आइकन

लूकाको सुसमाचार 2:1-20

लूकाको सुसमाचार 2:1-20 NERV

त्यसैबेला अगस्टस सिजरले रोमको अधिनमा रहेका सबै देशहरूलाई एउटा आदेश पठाए। त्यो आदेश अनुसार जम्मै मानिसले आफ्नो नाउँ पञ्जीकरण गराउनु पर्थ्यो। यो नै पहिलो पल्टको यस्तो जनगणना थियो। कुरेनियस सिरयाको राज्यपाल हुँदा यो भएको हो। जम्मै मानिसहरू आफ्नो शहरहरूमा नाउँ पञ्जीकरण गराउन गए। यूसुफ पनि गालीलको नासरत शहरबाट यहूदियाको बेतलेहेम नामक शहरमा गए। बेतलेहेम शहरलाई दाऊदको शहर भनिन्थ्यो। यूसुफ पञ्जीकरणको लागि मरियमसँगै गए किनभने मरियमसँग उसको विवाह निश्चित भइसकेको थियो। मरियम त्यसबेला गर्भवती थिईन्। यूसुफ र मरियम बेतलेहेममा हुँदा नै बालक जन्मने समय भएको थियो। अनि तिनले जेठो पुत्र जन्माइन्। त्यसबेला धर्मशालाभित्र ठाउँ थिएन। त्यसैले तिनले आफ्नो बालकलाई लुगाहरूले बेरिन् अनि एउटा डूँडमा सुताइन। त्यो राती त्यस क्षेत्रमा बाहिर खेतमा केही गोठालाहरू आफ्नो भेंडा़हरू हेरचाह गरिरहेका थिए। परमप्रभुको एउटा दूत यसैबेला तिनीहरूको अघि उभिए। परमप्रभुको महिमा तिनीहरूको चारैतिर चम्किरहेको थियो। ती गोठालाहरू खुबै डराए। तर त्यो स्वर्गदूतले तिनीहरूलाई भने, “डराउनु पर्दैन, किनभने म तिमीहरूलाई शुभ-समाचारहरू भन्न लागेकोछु। यसले सबै मानिसहरूलाई अत्यन्त हर्षित तुल्याउनेछ। किनभने आज नै दाऊदको शहरमा तिमीहरूको निम्ति एउटा मुक्तिदाताको जन्म भएको छ। उहाँ ख्रीष्ट, प्रभु हुनुन्छ। उहाँलाई तिमीहरूले यसरी चिन्नेछौः तिमीहरूले एउटा बालकलाई लुगाले बेह्रेको र डुँडमा सुतिरहेको भेट्टाउनेछौ।” त्यसपछि अचानक अनगन्ति स्वर्गिय दूतहरू पहिलो दूतसँग भेला भए। सबै दूतहरूले यसो भन्दै परमेश्वरको प्रशंसा गरिरहेका थिए, “स्वर्गमा परमेश्वरलाई महिमा, अनि जति मानिसहरूसँग परमेश्वर खुशी हुनुहुन्छ, तिनीहरूमा शान्ति रहोस्।” ती स्वर्गदूतहरूले गोठालाहरूलाई छोडे अनि स्वर्गतिर प्रस्थान गरे। गोठालाहरूले आपसमा कुरा गरे, “अब हामी बेतलेहेम जाऊँ, अनि के भएको छ हेरौं जसको विषयमा परमप्रभु परमेश्वरले हामीलाई थाहा दिनु भएको छ।” तिनीहरू हतारहतार त्यहाँ गए अनि मरियम र यूसुफलाई भेटे अनि बालक डूँडमा सुतिरहेको थियो। गोठालाहरूले बालकलाई देखे। तब तिनीहरूले यो बालकको विषयमा स्वर्गदूतले जे भनेका थिए सुनाए। गोठालाहरूको कुरा सुनेर सबै छक्क परे। मरियमले यी सबै कुराहरू आफ्नै हृदयमा राखिन र ती विषयहरूमा सोचिरहिन्। गोठालाहरूले तिनीहरूले देखेका र सुनेका घट्नाहरूका निम्ति परमेश्वरप्रति प्रशंसा गर्दै र महिमा गाउँदै आफ्ना भेंडा़हरू भएको ठाँउमा फर्के। स्वर्गदूतले तिनीहरूलाई वर्णन गरे झैं सबै सत्य सावित भयो।