मत्तीको सुसमाचार 12
12
यहूदीहरूद्वारा येशूको आलोचना
(मर्कूस 2:23-28; लूका 6:1-5)
1त्यो समय, येशू विश्रामको दिनमा अन्नका खेतहरूबाट जानुहुँदै थियो, येशूका चेलाहरू पनि उहाँसँगै थिए। तिनीहरू भोकाएका थिए। ती चेलाहरूले अन्नका बाला टिप्दै खान लागे। 2फसिहीहरूले यो देखेर। तिनीहरूले येशूलाई भने, “हेर्नुहोस्! तपाईंको चेलाहरू विश्रामको दिनमा गर्नु निषेध गरिएका कुरा गर्दैछन्।”
3उहाँले तिनीहरूलाई भन्नुभयो, “दाऊदले, आफैं र आफूसँगका मानिसहरू भोकाउँदा के गरेथे, के तिमीहरूले पढेका छैनौ? 4दाऊद परमेश्वरको घरमा गए। दाऊद र तिनका साथीहरूले परमेश्वरलाई चढाइएको रोटी खाए। दाऊद र तिनका साथीहरूले यसरी रोटी खानु नियमको विरुद्ध थियो। केवल पूजाहारीहरूलाई मात्र त्यस्तो रोटी खाने अनुमति थियो। 5अनि तिमीहरूले मोशाको व्यवस्थामा यो पनि निश्चयनै पढेको हुनुपर्छ कि कसरी प्रत्येक विश्रामको दिनमा पूजारीहरूले मन्दिरमा विश्राम अथवा विश्रामको नियम भङ्ग गर्छन्। तरै पनि पूजाहारीहरूलाई त्यस दोषको निम्ति दोषी ठानिन्दैन। 6म तिमीहरूलाई भन्दछु, ‘यहाँ मन्दिर भन्दा ठूलो’ केही छ। 7धर्मशास्त्रमा भनिएको छ, ‘म पशुहरूको बलिदान चाहन्न। म मानिसहरूमा दया चाहन्छु।’#होशे 6:6 वास्तवमा तिमीहरू ती शब्दहरूका अर्थ के हो त्यो पनि जान्दैनौ। यदि ती शब्दहरूका अर्थ तिमीहरूले बुझ्यौ भने ती तिमीहरूले निर्दोषहरूलाई न्याय गर्ने थिएनौ।
8“मानिसको पुत्र विश्राम दिनको पनि प्रभु हो।”
येशूले विश्राम दिनमा निको पार्नु भयो
(मर्कूस 3:1-6; लूका 6:6-11)
9येशू त्यहाँबाट हिँड्नु भयो अनि तिनीहरूको सभाघरमा जानूभयो। 10उहाँले सभाघरमा एउटा सुकेर चाउरिएको हात भएको मानिसलाई देख्नु भयो। केही यहूदीहरू येशूलाई दोष लगाउनलाई निहुँ खोजिरहेका थिए। अनि तिनीहरूले उहाँलाई सोधे, “के विश्रामको दिनमा कसैलाई निको पार्नु न्यायोचित छ?”
11उहाँले भन्नुभयो, “यदि तिमीहरूमध्ये कसैको एउटा भेंडा़ छ, त्यो विश्रामकोदिनमा एउटा खाल्डामा खस्यो भने के आफ्नो हातले समातेर बाहिर तान्दैनौ? 12एउटा मानिस भेंडा़ भन्दा धेरै असल हुन्छ। त्यसर्थ विश्रामको दिनमा भलो गर्न व्यवस्थाले दिन्छ।”
13तब उहाँले त्यस डुँडेहात भएको मानिसलाई भन्नुभयो, “मलाई तिम्रो हात हेर्न देऊ।” त्यसले येशू भएतिर हात पसार्यो। अनि उसको हात, त्यो अर्को हात जस्तै निको भयो। 14तर फरिसीहरू बाहिर गए अनि येशूलाई मार्नका निम्ति योजना बनाए।
येशू परमेश्वरद्वारा चुनिएको सेवक हुनुहुन्छ
15फरिसीहरूले के गर्न लगिरहेका थिए सो येशूलाई थाहा भयो। अनि उहाँले त्यो ठाउँ छोड्नुभयो। धेरै मानिसहरूले उहाँलाई पछ्याउन लागे। उहाँले सबै रोगीहरूलाई निको पारी दिनुभयो। 16उहाँ को हुनुहुन्छ भनेर मानिसहरूलाई केही नभन्नुभनी तिनीहरूलाई येशूले चेताउनी दिनुभएको थियो। 17येशूले यी कुराहरू यशैया अगमवक्ताले भनेका कुराहरू पूर्ण गर्नका निम्ति गर्नु भयो।
18“यहाँ मेरो दास छ,
मैले उसलाई चुनेको हुँ।
म उसलाई प्रेम गर्छु
अनि म उसित खुशी छु।
म मेरो आत्मा उसमा हालिदिनेछु,
अनि उसले नै अन्य राष्ट्रहरूमाथि न्यायको घोषणा गर्नेछ।
19उसले झगडा गर्नेछैन न त चिच्याउने नै छ;
उसको स्वर कसैले पनि गल्लीहरूमा सुन्ने छैन।
20उसले बाङ्गि सकेको निगालो भाँच्ने छैन।
उसले जलिहरेको दीयो निभ्दै जाँदैछ भनि निभाउने छैन।
उसले यी सबै गरिरहनेछ जबसम्म साँच्चो न्यायले विजय प्राप्त गर्दैन।
21सबै राष्ट्रहरूले उहाँमाथिनै आशा गर्नेछन्।”#यशैया 42:1-4
परमेश्वरद्वारा येशूको शक्ति
(मर्कूस 3:20-30; लूका 11:14-23; 12:10)
22त्यसपछि केही मानिसहरूले एकजना मानिसलाई येशू कहाँ ल्याए। उ अन्धो थियो अनि बोल्न पनि सक्दैनथ्यो किनकि उसलाई भूत लागेको थियो। उहाँले त्यसलाई निको पार्नुभयो अनि त्यस मानिसले बोल्न अनि देख्न थाल्यो। 23सबै मानिसहरू चकित भए। तिनीहरूले भने, “निश्चयनै यी मानिस नै दाऊदका पुत्र हुन् जसलाई परमेश्वरले हामीकहाँ पठाउने प्रतिज्ञा गर्नु भएको थियो?”
24जब फरिसीहरूले मानिसहरूको मुखबाट यस्तो कुरा सुने तब तिनीहरूले भने, “येशूले मानिसरूबाट भूत भगाउनका निम्ति बालजिबुल शक्तिको प्रयोग गर्दछन्। बालजिबुल भूतहरूको शासक हो।”
25येशूले फरिसीहरूले सोचेका कुरा थाहा पाउनुभयो। अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “आपसमा झगडा गर्ने कुनै पनि राज्य ध्वंस हुनेछ त्यसै गरी आफैंमा विभाजन भएको नगर टिक्ने छैन। त्यसरीनै विभाजन भएको कुनै परिवार सफल हुँदैन। 26यदि शैतानले शैतानलाई निकाल्दछ भने, त्यो आफ्नै विरुद्ध विभाजित हुन्छ। तब कसरी उसको राज्य टिक्न वा चल्न सक्छ? 27तिमीहरूले भन्दैछौ कि मैले शैतानको शक्तिद्वारा भूतहरू भगाउँदैछु। यदि यो सत्य हो भने, तिम्रा मानिसहरूले भूत भगाउन कुन शक्तिको प्रयोग गर्दैछन्? यसकारण तिमीहरूका आफ्नै मानिसहरूले तिमीहरूको भूल कोट्याउनेछन्। 28तर म परमेश्वरका आत्माको शक्तिद्वारा भूतहरू भगाउँछु। यसबाट यो थाहा हुन्छ कि परमेश्वरको राज्य अघि नै तिमीहरूमा आइसकेको छ। 29यदि कुनै मानिसले कुनै एक बलवान मानिसको घरमा लुटपाट गर्न चाहन्छ भने, सर्वप्रथम उसले त्यो बलवान मानिसलाई साङ्लोले बाँधेर राख्नुपर्छ। त्यसपछि मात्र त्यो मानिसले घर लुट्न सक्दछ। 30जो मानिस मसित छैन, त्यो मेरो विरुद्धमा छ। मसित काम नर्गेनले मेरो विरूद्धमा काम गरिरहेको हुन्छ।
31“यसैले म तिमीहरूलाई भन्दछु, तिनीहरूले गरेका हरेक पापका निम्ति मानिसहरूलाई क्षमा प्रदान गर्न सकिन्छ। अनि तिनीहरूले भनेका सबै नराम्रा शब्दहरूको निम्ति मानिसहरूलाई क्षमा प्रदान गर्न सकिन्छ। तर यदि कसैले पवित्र आत्माको विरुद्धमा कुरा गर्छ भने उसलाई क्षमा गरिनेछैन। 32यदि कसैले मानिसका पुत्रका विरुद्धमा कुरा गरे उसलाई क्षमा हुनेछ। तर कसैले पवित्र आत्माको विरुद्धमा-कुरा गरे क्षमा हुनेछैन। त्यस मानिसलाई न ता अहिले क्षमा दिइन्छ न ता भविष्यमानै।
तिमीहरूको चाल-चलनले तिमीहरूको परिचय गराउँछ
(लूका 6:43-45)
33“यदि तिमीहरू असल फल चाहन्छौ भने तिमीहरूले बृक्षलाईनै असल तुल्याउनु पर्छ। यदि तिमीहरूको बृक्षनै नराम्रो छ भने त्यसको फल पनि नराम्रो हुनेछ। किनकि त्यसको फलबाटनै बोटलाई चिन्न सकिन्छ। 34ए सर्पहरू, तिमीहरू दुष्ट मतिका छौ। तिमीहरूबाट कसरी असल कुराहरू आउनसक्छ। हृदयमा जे कुरा थुपरीएको छ त्यही कुराहरू नै मुखले बोल्दछ। 35असल मानिसले असलै कुराहरू हृदयमा थुपारेको हुन्छ। यसर्थ राम्रै कुराहरू उसले बोल्दछ। तर एउटा दुष्ट मानिसले हृदयमा दुष्ट कुराहरू नै राखेका हुन्छ र उसले बोलेको बेलामा हृदयमा भएका दुष्ट कुराहरू नै उसले बोल्दछ। 36यसर्थ म तिमीहरूलाई भन्दछु प्रत्येक मानिसले आफूले बोलेका हरेक लापरवाही कुराहरूको विवरण न्यायको दिनमा दिनु पर्नेछ। 37तिमीलाई तिम्रा आफ्नै कुराहरूद्वारा न्याय गरिनेछ। तिम्रा कतिपय कुराहरूले तिमीलाई सही तुल्याउँनेछ अनि तिम्रा कतिपय कुराहरूले तिमीहरूलाई दोषी ठहराउनेछ।”
प्रमाणकालागि येशूसँग यहूदीहरूको सोधखोज
(मर्कूस 8:11-12; लूका 11:29-32)
38तब केही शास्त्रीहरू र फरिसीहरूले येशूलाई जवाफ दिए। तिनीहरूले भने, “गुरूज्यू, हामी तपाईंबाट एउटा आश्चर्यको चिन्ह हेर्न चाहन्छौ।”
39येशूले जवाफ दिनुभयो, “दुष्ट र पापी मानिसहरूले प्रमाणकोलगि चमत्कार खोज्दैछन्। तर त्यस्ता मानिसहरूलाई प्रमाणकोलागि कुनै चमत्कार देखाइने छैन। अगमवक्ता योनाको चिन्ह बाहेक। 40तीन दिन र तीन रात सम्म योना एउटा ठूलो माछाको पेटमा थिए। त्यसरी नै तीन दिन र तीन रात सम्म मानिसको पुत्र पृथ्वीको पेटभित्र रहनेछ। 41अनि न्यायको दिनमा तिनीहरू दोषी छन् भनी देखाउनका निम्ति निनवेका मानिसहरू यस पुस्ताको साथमा खड़ा हुनेछन्। किनभने योनाले तिनीहरूलाई उपदेश दिएका थिए, अनि तिनीहरूले आफ्नो जीवननै बद्लेका थिए। अनि अझ यहाँ एक मानिस छ त्यो योना अगमवक्ता भन्दा महान छ।
42“न्यायको दिनमा दक्षिणको महारानी यस पुस्ताको अगाडी खडा हुनेछिन् र उनैले तिनीहरूलाई दोषी भनी प्रमाण दिने छिन्। किनभने सुलेमानका ज्ञानहरू सुन्न महारानीले धेरै-टाढासम्मको यात्रा गरेकी थिइन्। अनि अझ यहाँ एक मानिस छ त्यो सुलेमानभन्दा महान छ।
दुष्ट आत्माले भरिएका आजका मानिसहरू
(लूका 11:24-26)
43“जब दुष्ट आत्मा मानिसबाट निस्केर जान्छ, त्यो ओबानो ठाउँतिर विश्राम खोज्दै हिड्छ तर त्यसले भेट्टाउन सक्तैन। 44तब त्यस दुष्ट आत्माले भन्छ, ‘म आफ्नै अघिको घरमा फर्किजानेछु, जसलाई मैले छाडेर आएँ।’ त्यो फर्केर आउँछ र पहिलेको उसको घरभित्र रित्तो र सफा गरि राखेको भेट्टाउँछ। 45त्यसपछि त्यो दुष्ट आत्मा जान्छ, र आफू भन्दा बढ़ता अरू सातवटा दुष्ट आत्माहरू ल्याउँछ। तब सबै दुष्ट आत्माहरू त्यस मानिस भित्र पसेर त्यहाँ बास गर्छन् र त्यस मानिसहरूको अवस्था पहिलेको भन्दा झन खराब हुन्छ अनि त्यही अवस्था त्यो दुष्ट पुस्तामाथि पनि हुन्छ।”
चेलाहरू नै येशूका परिवार
(मर्कूस 3:31-35; लूका 8:19-21)
46जब येशू मानिसहरूसित अझ बातचीत गर्दै हुनुहुन्थ्यो उहाँका आमा र भाइहरू बाहिर उभिरहेका थिए। तिनीहरू येशूसँग भेट गर्न चाहन्थे। 47कुनै एकजनाले भने, “तपाईंकी आमा र भाइहरू बाहिर उभिरहेका छन्, अनि तिनीहरू तपाईंसँग भेट गर्न चाहन्छन्।” 48येशूले त्यो बोल्दै गर्ने मानिसलाई भन्नुभयो, “मेरा आमा र मेरा भाइहरू को हुन्?”
49आफ्ना चेलाहरूलाई संकेत गर्दै उहाँले भन्नुभयो, “हेर! यिनीहरू नै आमा र भाइहरू हुन्। 50जसले स्वर्गको मेरो पिताले चाहनु भए झैं गर्दछ उनीहरूनै मेरा भाइ, बहिनी र आमा हुन्।”
अहिले सेलेक्ट गरिएको:
मत्तीको सुसमाचार 12: NERV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International