हितोपदेशको पुस्तक 8
8
ज्ञान नै असल स्त्री हुन्
1के ज्ञानले तिमीलाई बोलाउँदैन र?
के समझशक्तिले तिमीलाई ठूलो स्वरमा बोलाएको छैन र?
2ऊ अग्लो ठाउँहरू माथि उभिन्छे,
जहाँबाट दोबाटो देखिन्छन्।
3ऊ शहरको प्रवेशद्वार नजिक छे,
उनले खुल्ला ढोकाहरूबाट बोलाइरहेकी छे।
4ज्ञानले भन्छे, “हे मानिस हो, म तिमीहरूलाई आह्वान गर्दछु,
म सबै मानिसहरूलाई बोलाउँदैछु।
5तिमीहरू जो अनुभवी छैनौ भने ज्ञानी हुन सिक।
हे मूर्खहरू हो, बुझ्न सिक।
6तिमीहरू सुन, म जुन कुराहरू सिकाउँछु, तिनीहरू महत्वपूर्ण छन्।
जुन कुराहरू सही हुन, तिनीहरू नै भन्छु।
7मेरा वचनहरू सत्य हुन।
किनभने मेरा ओंठहरूले मिथ्यालाई घृणा गर्छन्।
8मेरो मुखबाट निस्केका सबै वचनहरू सही तथा न्यायपूर्ण हुन्छन्
अनि कुनै पनि भ्रमित तथा झूटो हुँदैनन्।
9यी सब भनाईहरू समझ हुने मानिसहरूको लागि स्पष्ट छन्
अनि ज्ञानी मानिसहरूको निम्ति तिनीहरू सरल छन्।
10मैले दिएका उपदेशहरू स्वीकार गर, कारण तिनीहरू चाँदी भन्दा असल छन्,
अनि बहुमूल्य सुन लिनु भन्दा ज्ञान र बुद्धि लिनु नै उत्तम हो।
11ज्ञान मोतीहरू भन्दा अझ उत्तम हो।
ज्ञान मानिसले चाहने ती सवै चिजहरू भन्दा असल हो।”
ज्ञानले के गर्छ
12“म ज्ञान हुँ।
अनि म बिवेकसँग बस्छु।
तिमीले मलाई विद्या अनि राम्रो योजनासँग पाउनँ सक्छौ।
13परमप्रभुको डर मान्नु नै दुष्टतालाई घृणा गर्नु हो।
अभिमान, अहंकार, कुटिल व्यवहार
अनि छलपूर्ण बोलीलाई म घृणा गर्छु।
14मसँग राम्रो सल्लाह अनि स्वास्थ्य ज्ञान छ।
मसँग समझशक्ति अनि सामर्थ्य छन्।
15मेरै सहायतामा राजाहरूले राज गर्छन्,
अनि शासकहरूले उचित कानून बनाउँछन् जुन सही र न्यायपूर्ण हुन्छ।
16राजकुमारहरू, राजकीय मानिसहरू,
निष्पक्ष न्याय घोषणा गर्नेहरूले आफ्नो काम मद्वारा गर्छन्।
17म ती मानिसहरूलाई प्रेम गर्छु, ज-जसले मलाई प्रेम गर्छन्
अनि यदि मानिसहरूले मलाई चेष्टा गरेर खोज्छन् भने तिनीहरूले मलाई भेट्ने छन्।
18धन दौलत र आदर मसित रहन्छ,
म अनन्त धन अनि साँचो सफलता प्रदान गर्छु।
19मैले दिएका भेटीहरू शुद्ध चाँदी भन्दा असल छन्
औ म जुन चीज दिन्छु तिनीहरू अकबरी सुनभन्दा असल हुन्छन्।
20म मानिसहरूलाई सही मार्गमा डोर्याउँछु,
म तिनीहरूलाई सही न्यायले चल्ने पथमा डोर्याउँछु।
21मलाई मन पराउनेहरूलाई सम्पत्ति दिन्छु,
हो, म तिनीहरूको घर नै सम्पत्तिले भरिदिन्छु।
22“परमप्रभुले उहाँको प्राचीन कार्यहरू भन्दा पहिला
सृष्टिको प्रारम्भमा नै मलाई बनाउनु भयो।
23यो संसार सृजना गरिनु भन्दा पहिला
अस्मरणीय आनन्द कालमा मेरो सृजना भयो।
24जब त्यहाँ भूमध्यसागर थिएन, म जन्मिएको थिएँ।
पानीले भरिएको महा-सागरहरू भन्दा पहिला म जन्मिएको थिए।
25पर्वतहरूलाई तिनीहरूको ठाउँमा राख्नु भन्दा अघि,
पहाडहरू हुनु भन्दा अघि म जन्मिएको थिएँ।
26परमप्रभुले पृथ्वी रच्नु भन्दा पहिल्यै, खेत सृजना गर्नु भन्दा पहिल्यै,
पृथ्वीमा पहिलो धूलो बनाउँनु भन्दा अघि नै, म त्यहाँ थिएँ।
27जब परमप्रभुले आकाश सृष्टि गर्नु भयो, म त्यहाँ थिएँ।
जब परमप्रभुले क्षितिजहरूको चित्रसागरको प्रतिबिम्ब माथि कोर्नु भन्दा पहिला म त्यहाँ थिएँ।
28जब उहाँले आकाशमा बादल राखेर
महा-सागर सृष्टि गर्नु भन्दा पहिला म जन्मेको थिएँ।
29उहाँले समुद्रको सिमाना तोक्दा
उहाँको आज्ञा नाघी पानी बाहिर नजाओस् भनी
उहाँले पृथ्वीको जग बसाउँनु हुँदा।
30म उहाँको छेउमा एउटा प्रिय बालक झैं थिएँ। म दिन प्रतिदिन उहाँको खुशीयालिमा थिएँ।
हर समय उहाँको उपस्थिमा निरन्तर आनन्द मनाउँथें।
31म उहाँले सृष्टि गर्नु भएको संसारमा आनन्द लिन्छु,
म मानव जातिमा खुशी लिन्छु।
32“अनि अब, हे मेरो छोराहरू, मलाई सुन!
ती मानिसहरू भाग्यमानी हुन्
जो मैले देखाएको बाटोमा हिँड्छन्।
33मेरो शिक्षाहरूलाई सुन अनि ज्ञानी बन,
तिनीहरूलाई अस्वीकार नगर।
34जुन मानिसले मेरो कुरा सुन्छ,
त्यही मानिस नै भाग्यमानी हुनेछ,
जसले दिनहुँ मेरो ढोकामा आँखा लगाइरहन्छ,
जसले मेरो ढोकाको सङ्घार पर्खिरहन्छन्, तिनीहरूनै धन्य हुन्छन्।
35किनभने जसले मलाई पाउँछ, उसले जीवन पाउँछ।
अनि उसैले परमेश्वरबाट अनुग्रह पाउँछ।
36तर जसले मेरो बिरूद्ध पाप गर्छ, उसले आफैंलाई हानी पुर्याउँछ।
जसले मलाई घृणा गर्छ उसले मृत्युलाई प्रेम गर्छ।”
अहिले सेलेक्ट गरिएको:
हितोपदेशको पुस्तक 8: NERV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International