YouVersion लोगो
खोज आइकन

1 पत्रुस 3

3
1हे पत्नीहरूहो, यसरी नै तिमीहरू आफ्ना पतिहरूका अधीनमा बस, र यदि तिनीहरूमध्ये कसैले वचनमाथि विश्‍वास गर्दैन भने पनि, तिनीहरूका पत्नीहरूको आचरणले गर्दा वचनविना नै 2तिमीहरूको जीवनको शुद्धता र आदर देखेर तिनीहरूलाई जितियोस्। 3तिमीहरू केशका सिँगार, सुनका गहना तथा महङ्गा कपडाहरू जस्ता बाहिरी सिँगारले नहोस्। 4तर तिमीहरूको आन्तरिक व्यक्‍तित्वमा नम्र र शान्त आत्माको अविनाशी सौन्दर्य होस्, जो परमेश्‍वरको दृष्‍टिमा अति मूल्यवान् छ। 5किनकि परमेश्‍वरमाथि आशा राख्ने प्राचीन कालका पवित्र महिलाहरूले यसैगरी आफूलाई सुन्दर बनाउँथे। तिनीहरू आफ्ना पतिहरूका अधीनतामा रहन्थे, 6साराजस्तै, जसले अब्राहामको आज्ञा पालन गर्थिन्, र तिनलाई आफ्नो “मालिक” भन्थिन्। यदि तिमीहरू असल काम गर्छौ र डराउँदैनौ भने तिमीहरू यिनैका छोरीहरू हौ।
7हे पतिहरूहो, त्यसै गरी आफ्ना पत्नीहरूलाई कमजोर पात्र र तिमीसँगै जीवनका अनुग्रहका साझा उत्तराधिकारी सम्झी उनीहरूलाई आदर गर्दै बुद्धिमानीसाथ उनीहरूसँग बस, र तिमीहरूका प्रार्थना नरोकियोस्।
असल काम गर्दा दुःख भोगाइ
8अन्त्यमा, तिमीहरू सबै एकै मनका होओ, सहानुभूति देखाओ, आपसमा प्रेम गर, टिठालु र नम्र होओ। 9दुष्‍टताको सट्टा दुष्‍टता नगर, अथवा अपमानको सट्टा अपमान, तर आशीर्वाद देओ; किनकि आशिषको हकदार हुनालाई तिमीहरू यसैको निम्ति बोलाइएका हौ। 10किनकि पवित्र धर्मशास्त्रमा लेखिएको छ:
“जसले जीवनलाई प्रेम गर्न
र असल दिन देख्न चाहन्छ,
तिनले आफ्ना जिब्रोलाई खराबीबाट
र आफ्ना ओठहरूलाई छलका बोलीबाट बचाउनुपर्दछ।
11तिनले खराबीबाट फर्केर असल गर्नुपर्दछ
तिनले शान्तिको खोजी गर्नुपर्दछ, र त्यसलाई पछ्याउनुपर्दछ।
12किनकि प्रभुका आँखा धर्मीहरूमाथि रहन्छन्;
र उहाँका कानहरूले तिनीहरूका प्रार्थनातिर ध्यान दिन्छन्,
तर परमप्रभुको मुहार खराबी गर्नेहरूका विरुद्धमा हुन्छ।”#3:12 भजन 34:12-16
13त्यसैले तिमीहरू असल गर्न उत्सुक हुन्छौ भने, कसले तिमीहरूलाई हानि गर्छ र? 14तर ठीक कुराको लागि तिमीहरूले दुःख भोग्नुपर्ने भए तापनि तिमीहरू धन्यका हौ। “तिनीहरूका धम्कीदेखि नडराओ, न त भयभीत होओ!”#3:14 यशै 8:12 15तर तिमीहरूका हृदयमा ख्रीष्‍टलाई प्रभु मानेर उहाँको श्रद्धा गर। तिमीहरूसँग भएका आशाको कारण सोध्ने हरेकलाई उत्तर दिन सधैं तयार रहो, तर यो नम्रता र इज्जतसाथ गर। 16तिमीहरूमा सफा विवेक होस्, यसरी ख्रीष्‍टमा तिमीहरूको असल व्यवहारको विरुद्ध द्वेषपूर्ण रूपले बोल्नेहरू आफूले गरेको निन्दाबाट लजाऊन्। 17परमेश्‍वरको इच्छा यस्तै छ भने खराबी गरेर दुःख भोग्नुभन्दा असल गरेर दुःख भोग्नु असल हो। 18किनकि अधर्मीहरूलाई परमेश्‍वरकहाँ ल्याउन ख्रीष्‍ट जो धर्मी हुनुहुन्छ, उहाँले हाम्रा पापका निम्ति दुःख भोग्नुभयो; उहाँ शरीरमा मारिनुभयो, तर आत्मामा जीवित पारिनुभयो। 19उहाँ आत्मामा जानुभयो, र कैदमा भएका आत्माहरूलाई प्रचार गर्नुभयो, 20जसले धेरै अघि आज्ञा उलङ्घन गरेका थिए, जुन बेला नूहको समयमा जहाज बनिदै गर्दा परमेश्‍वरले धैर्यसाथ पर्खनुभएको थियो। जसमा केही मानिसहरू, अर्थात् जम्मा आठजना मानिसहरू पानीबाट बाँचेका थिए, 21अनि यो पानीले बप्‍तिस्मालाई सङ्केत गर्दछ, जसले तिमीहरूलाई पनि अहिले बचाएको छ; यसले शरीरबाट मैलो निकाल्ने होइन, तर यो परमेश्‍वरप्रतिको स्पष्‍ट विवेकको प्रतिज्ञा हो। यसले तिमीहरूलाई येशू ख्रीष्‍टको पुनर्जीवनद्वारा बचाउँदछ, 22ख्रीष्‍ट, जो स्वर्गमा जानुभएको छ, र परमेश्‍वरको दाहिने हाततिर बस्‍नुभएको छ। स्वर्गदूतहरू, अधिकारहरू तथा शक्‍तिहरू उहाँकै अधीनतामा राखिएका छन्।

अहिले सेलेक्ट गरिएको:

1 पत्रुस 3: NCV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्