4
परमेश्वरको निम्ति जिउनु
1यसकारण ख्रीष्टले आफ्नो शरीरमा दुःख भोग्नुभएकोले, तिमीहरू पनि आफूलाई त्यही भावनाले सुसज्जित पार; किनकि जसले आफ्नो शरीरमा दुःख भोगेको हुन्छ, त्यसले पापलाई त्यागेको हुन्छ; 2फलस्वरूप, त्यसले आफ्नो बाँकी शारीरिक जीवन दुष्ट मानवीय इच्छाको लागि जिउँदैन, बरु परमेश्वरको इच्छाको निम्ति जिउँदछ। 3किनकि बितेका समयमा तिमीहरूले छाडा, वासनाका जीवन, मतवालीपन, कामुकता, मोजमज्जा तथा घिनलाग्दा मूर्तिपूजाहरू जस्ता गैरयहूदीले गर्न छानेका कुराहरूमा प्रशस्त समय बितायौ। 4तिमीहरू तिनीहरूसँग तिनीहरूका जङ्गली र विनाशकारी जीवनमा लागेनौ भनेर तिनीहरूले अचम्म मानेका छन्, र तिमीहरूमाथि अपमान थुपारेका छन्। 5तर तिनीहरूले जिउँदा र मरेकाहरूको न्याय गर्न तयार हुनुभएकालाई बयान दिनुपर्नेछ। 6यसैकारण त अहिले मरिसकेका समेतलाई सुसमाचार प्रचार गरिएको हो। यसरी अरू मानिसहरूका अनुसार शरीर सम्बन्धी तिनीहरूका न्याय होस्, र परमेश्वरका अनुसार तिनीहरू आत्मामा जिऊन्।
7सबै कुराको अन्त्य नजिकै छ। यसकारण सतर्क र संयमी भएर तिमीहरू प्रार्थना गर्न सक्ने होओ। 8सबैभन्दा बढी, एक-अर्कालाई गहिरो प्रेम गर; किनकि प्रेमले असंख्य पापहरूलाई ढाक्दछ। 9एक-अर्कालाई गनगनविना सत्कार गर। 10हरेकले जस्तो आत्मिक वरदान पाएको छ, परमेश्वरका अनुग्रहको विभिन्न वरदान पाएका असल सेवकझैं ती एक-अर्काको निम्ति प्रयोग गर। 11यदि कसैले बोल्छ भने, परमेश्वरकै शब्दमा बोलोस्; यदि कसैले सेवा गर्छ भने, परमेश्वरले दिनुहुने बलद्वारा सेवा गरोस्; यसरी सबै कुरामा येशू ख्रीष्टद्वारा परमेश्वरको प्रशंसा होस्। उहाँलाई सदा-सर्वदा महिमा र शक्ति होस्! आमेन!
ख्रीष्टियान भएकोमा दुःख भोगाइ
12हे प्रिय मित्रहरूहो, तिमीहरूले अग्निपरीक्षा भोग्नुपर्दा तिमीहरूलाई कुनै अनौठो कुरा आइपरेझैं अचम्म नमान; 13तर तिमीहरू ख्रीष्टको दुःखमा सहभागी हुन पाएकोमा आनन्द गर; यसरी उहाँको महिमा प्रकट हुँदा तिमीहरूको आनन्द प्रशस्त होस्। 14ख्रीष्टको नाउँको कारण अपमानित भएका छौ भने, तिमीहरू धन्यका हौ; किनकि परमेश्वरको आत्माको महिमा तिमीहरूमा बस्नुहुन्छ। 15तिमीहरूले कष्ट भोग्छौ भने, ज्यानमारा, चोर वा अरू कुनै किसिमको अपराधी, वा हस्तक्षेप गर्नेले झैं नहोस्। 16तापनि तिमीहरूले ख्रीष्टियान भएको कारण कष्ट भोग्यौ भने लाज नमान, तर तिमीहरूले त्यो नाउँ पाएकोमा परमेश्वरको प्रशंसा गर। 17किनकि परमेश्वरकै परिवारबाट न्याय सुरु हुने बेला आएको छ र यो यदि हामीबाटै सुरु हुन्छ भने, परमेश्वरको सुसमाचार नमान्नेहरूको नतिजा कस्तो होला? 18पवित्र धर्मशास्त्रमा लेखिएको छ:
“धर्मीहरूलाई बाँच्न कठिन छ भने,
अधर्मी र पापीहरूको गति के होला?”#4:18 हितो 11:31
19यसर्थ परमेश्वरको इच्छाअनुसार कष्ट भोग्नेहरूले आफूलाई तिनीहरूका विश्वासयोग्य सृष्टिकर्ताकहाँ समर्पण गर्नुपर्छ, र असल गर्नमा जारी राखिरहनुपर्छ।