YouVersion लोगो
खोज आइकन

प्रेरित 2:14-41

प्रेरित 2:14-41 NCV

तब पत्रुस एघार जनासँग उभिए। अनि उच्‍च सोरमा भीडलाई यसरी सम्बोधन गरे: “यहूदी मित्रहरू र यरूशलेममा बस्‍नुहुने तपाईं सबै मानिसहरू हो, तपाईंहरूसमक्ष यसको अर्थ मलाई वर्णन गर्न दिनुहोस्। अनि म जे भन्छु, त्यो ध्यानपूर्वक सुन्‍नुहोस्। तपाईंहरूले ठानेझैँ यी मानिसहरू मातेका छैनन्। किनकि अहिले बिहानको नौ मात्र बजेको छ! तर यो त अगमवक्ता योएलद्वारा बोलिएको कुरा नै हो: “ ‘अन्तिम दिनहरूमा यस्तो हुनेछ भनी परमेश्‍वर भन्‍नुहुन्छ, म मेरो आत्मा सबै मानिसहरूमाथि खन्याउनेछु। तिमीहरूका जवानहरूले दर्शनहरू देख्नेछन्; तिमीहरूका छोरा र छोरीहरूले अगमवाणी गर्नेछन्, तिमीहरूका बुढापाकाहरूले सपना देख्नेछन्। ती दिनहरूमा म मेरो आत्मा मेरा सेवकहरू, स्त्री र पुरुषहरू दुवैमाथि खन्याउनेछु। अनि तिनीहरूले अगमवाणी बोल्नेछन्। अनि माथि आकाशमा अद्‌भुत कार्यहरू देखाउनेछु, र तल पृथ्वीमा म अलौकिक चिन्हहरू देखाउनेछु, रगत, आगो र धुवाँका मुस्लाहरू। प्रभुको महान् र गौरवशाली दिन आउनुभन्दा अगि सूर्य अन्धकारमा परिवर्तन हुनेछ, र चन्द्रमा रगतजस्तै रातो हुनेछ। अनि प्रभुको नाम पुकार्ने हरेक मानिसले उद्धार पाउनेछ।’ “हे इस्राएलका मानिसहरू हो, यो कुरा राम्रोसँग बुझ्नुहोस्: नासरतका येशू यस्तो मानिस हुनुहुन्थ्यो, जसलाई परमेश्‍वरले तपाईंहरूका सामु अचम्मका कामहरू, अद्‌भुत कार्यहरू र अलौकिक चिन्हहरूद्वारा प्रमाणित गर्नुभयो, जुन तपाईंहरू सबैले जान्‍नुभएकै कुरा हो। यी कामहरू परमेश्‍वरले उहाँद्वारा तपाईंहरूका बीचमा गराउनुभएको हो। आफ्नो निश्‍चित योजना र पूर्वज्ञानद्वारा यी व्यक्तिलाई परमेश्‍वरले तपाईंहरूमा सुम्पनुभएको थियो। उहाँ येशूलाई अधर्मी मानिसहरूको मदतद्वारा क्रूसमा काँटी ठोकी झुण्ड्याएर मार्ने काम तपाईंहरूले गर्नुभयो; तर मृत्युको पीडाबाट छुटकारा दिलाउँदै परमेश्‍वरले उहाँलाई मृतकबाट जीवित पार्नुभयो; किनकि मृत्युले उहाँलाई आफ्नो अधीनमा राखिरहन असम्भव थियो। दावीदले उहाँको बारेमा भनेका थिए: “ ‘मेरो सामु प्रभुलाई मैले सधैँ देखेँ। उहाँ मेरो दाहिनेपट्टि हुनुभएकोले, म डगमगाउनेछैनँ। यसैकारण मेरो हृदय आनन्दित छ, र मेरो जिब्रो हर्षित छ; मेरो शरीर पनि आशामा बाँच्नेछ; किनभने तपाईंले मेरो प्राणलाई चिहानमा छोड्नुहुनेछैन, न त तपाईंले आफ्ना पवित्र जनको शरीर कुहुन दिनुहुनेछ। जीवनका मार्गहरू तपाईंले मलाई थाहा गराउनुभएको छ; आफ्नो उपस्थितिमा तपाईंले मभित्र आनन्द भरिदिनुहुनेछ।’ “हे सङ्गी भाइहरू हो, म तपाईंहरूलाई निश्‍चयतासाथ भन्‍न सक्छु: हाम्रा पुर्खा दावीद मरेर गाडिएका थिए, र उनको चिहान आजसम्म पनि छँदैछ। तर उनी एउटा अगमवक्ता थिए र उनकै सन्तानमध्ये एक जनालाई परमेश्‍वरले उनको सिंहासनमा बसाल्नुहुनेछ भनेर उहाँले शपथ खाएर उनीसँग प्रतिज्ञा गर्नुभएको कुरा उनलाई थाहा थियो। पछि हुने घटना पहिले नै थाहा पाएकाले उनले ख्रीष्‍ट पुनरुत्थान हुनुहुनेछ भन्‍ने विषयमा बोले। उहाँ न चिहानमा त्यसै छोडिनुभयो, न त उहाँको शरीर कुहियो। परमेश्‍वरले यही येशूलाई जीवित पार्नुभयो, र हामी सबै यस तथ्यका साक्षी छौँ। परमेश्‍वरको दाहिने हातपट्टि उहाँले उच्‍च स्थान पाउनुभयो। अनि पिताबाट प्रतिज्ञा गरिएको पवित्र आत्मा प्राप्‍त गर्नुभयो। अनि त्यसैलाई खन्याइदिनुभयो, जुन तपाईंहरू अहिले देख्दै र सुन्दै हुनुहुन्छ। किनकि दावीद स्वर्गमा उचालिएनन्, तैपनि उनले यसो भने, “ ‘परमप्रभुले मेरा प्रभुलाई भन्‍नुभयो: “मेरो दाहिने हातपट्टि बस जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाको पाउदान बनाउँदिनँ।” ’ “त्यसैकारण सबै इस्राएलीहरूले यो कुरा निश्‍चयताका साथ जानून्, तपाईंहरूले क्रूसमा टाँग्नुभएको यही येशूलाई परमेश्‍वरले प्रभु र ख्रीष्‍ट दुवै बनाउनुभएको छ।” जब जम्मा भएका मानिसहरूले यो कुरा सुने, तब तिनीहरूको हृदय छिया-छिया भयो! अनि तिनीहरूले पत्रुस र अरू प्रेरितहरूलाई सोधे, “ए भाइहरू हो, अब हामीले के गरौँ?” पत्रुसले जवाफ दिए, “तपाईंहरूले गरेका पाप क्षमाका निम्ति पश्‍चात्ताप गर्नुहोस्, र येशू ख्रीष्‍टको नाममा तपाईंहरू हरेकले बप्‍तिस्मा लिनुहोस्। त्यसपछि तपाईंहरूले पवित्र आत्माको वरदान प्राप्‍त गर्नुहुनेछ। किनकि परमेश्‍वरले यो प्रतिज्ञा तपाईंहरूका निम्ति, र तपाईंका सन्तानका निम्ति र टाढा-टाढा बस्‍नेहरूका निम्ति गर्नुभएको हो। ती सबैका निम्ति, जसलाई प्रभु हाम्रा परमेश्‍वरले बोलाउनुहुन्छ।” अरू पनि धेरै कुराहरू भनेर तिनले उनीहरूलाई चेतावनी दिए; र तिनीहरूलाई अर्ती दिँदै यसो भने, “यो भ्रष्‍ट पुस्ताबाट आफूलाई बचाउनुहोस्।” तिनका अर्ती मान्‍नेहरू सबैले बप्‍तिस्मा पाए, र त्यस दिन करिब तीन हजार जति मानिसहरू तिनीहरूका संख्यामा थपिए।

प्रेरित 2 पढ्नुहोस्