उपदेशक 4
4
अत्याचार, परिश्रम, मित्रहीनता
1फेरि मैले विचार गरेँ, र सूर्यमुनि भइरहेका सबै अत्याचारहरूलाई देखेँ:
मैले अत्याचारमा परेकाहरूका आँसु देखेँ;
र तिनीहरूलाई सान्त्वना दिने कोही थिएन;
अत्याचार गर्नेहरूको हातमा शक्ति थियो,
र अत्याचारमा परेकाहरूलाई सान्त्वना दिने कोही थिएन।
2अनि मैले यो घोषणा गरेँ,
मृतकहरू, जो मरिसकेका थिए;
तिनीहरू अझै जीवितै रहेकाहरूभन्दा
धेरै आनन्दित छन्।
3तर ती दुवैभन्दा
अझ धेरै सुखीचाहिँ त्यो मानिस हो, जो जन्मिएकै छैन;
जसले सूर्यमुनि भइरहेको
दुष्ट काम देखेकै छैन।
4अनि मैले देखेँ, मानिसका सम्पूर्ण परिश्रम र उपलब्धीहरूको मूलचाहिँ त्यसको आफ्ना छिमेकीमाथि भएको डाह हो। यो पनि अर्थहीन छ, बतासलाई खेदेको जस्तो मात्र हो।
5मूर्खले आफ्ना हातहरू बाँधेर राख्छ,
र आफ्नो निम्ति आफैँ विनाश ल्याउँछ।#4:5 मूल भाषामा आफ्नै मासु खानु
6दुई हातको परिश्रमले कमाएको
र बतासलाई खेदेको दुई मुट्ठीभन्दा
शान्तिको साथमा एक मुट्ठी हुनु अझ असल हो।
7फेरि मैले सूर्यमुनि केही अर्थहीन कुरा देखेँ:
8त्यहाँ नितान्त एउटा एकलो मानिस थियो;
उसको न छोरो, न त दाजुभाइ थिए।
उसको परिश्रमको अन्त्य थिएन;
तापनि उसका आँखाहरू आफ्नो धनसम्पत्तिमा सन्तुष्ट थिएनन्।
उसले आफैँलाई सोध्यो, “म कसका निम्ति परिश्रम गरिरहेको छु?
र किन आफैँलाई जीवनका आनन्दबाट वञ्चित गर्दैछु?”
यो पनि अर्थहीन छ,
एक दुःखदायी कुरा हो।
9एक जनाभन्दा दुई जना असल हुन्,
किनकि तिनीहरूले मेहनतको असल फल पाउँदछन्:
10यदि कुनै एउटा लड्यो भने,
अर्कोले त्यसलाई उठ्न मदत गर्न सक्छ;
तर लड्दा उठाउने कोही नहुँदा
कस्तो दुःखको कुरा हुन्छ!
11फेरि, दुई जना सँगै सुते भने तिनीहरूलाई न्यानो हुन्छ;
तर एकलो त कसरी न्यानो हुन सक्छ र?
12एकलो मानिसलाई कसैले जित्ला;
तर दुई जनाले त आफ्नो रक्षा गर्न सक्छन्।
अनि तीन सुतरीले बाटेर बनेको डोरी झट्टै चुँडिदैन।
उन्नति अर्थहीन छ
13एक गरिब तर बुद्धिमान् युवक एक बूढो तर निर्बुद्धि राजाभन्दा उत्तम हो; जसले कसरी सल्लाह लिने भन्ने कुरा पनि जान्दैन। 14त्यो युवक झ्यालखानाबाट छुटेर राजा बन्न आइपुगेको हुन सक्छ, अथवा उनकै राज्यमा गरिबीमा जन्मेको हुन सक्छ। 15तर मैले सूर्यमुनि बास गर्ने र हिँड्डुल गर्ने सबै मानिसहरू राजाको उत्तराधिकारी त्यही युवकको पछि-पछि लागेका देखेँ। 16तिनीहरूभन्दा अगिका सबै मानिसहरूको संख्या अनगन्ती थिए। तर पछिबाट आउनेहरू त्यस उत्तराधिकारीसित खुशी भएनन्। यो पनि अर्थहीन रहेछ, केवल बतासलाई खेदेको जस्तो मात्र।
अहिले सेलेक्ट गरिएको:
उपदेशक 4: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.