प्रस्थान 3
3
मोशा र जलिरहेको पोथ्रा
1मोशाले आफ्ना ससुरा मिद्यानका पुजारी यित्रोका#3:1 मोशाका ससुरालाई दुई वटा नामले चिनिन्थ्यो, रूएल र यित्रो। भेडाबाख्रा चराउँथे। अनि आफ्नो बगाललाई उजाडस्थानको पल्लो छेउतिर लगे; अनि तिनी परमेश्वरको पर्वत होरेबमा#3:1 यो सीनै पर्वत को अर्को नाम हो। आए। 2त्यहाँ याहवेहका दूत पोथ्राको माझमा जलिरहेको ज्वालाको रूपमा तिनीकहाँ देखा पर्नुभयो। मोशाले देखे, कि त्यो पोथ्रा जलिरहेको थियो; तापनि भस्म भएको थिएन। 3अनि मोशाले मनमनै सोचे, “यो अनौठो दृश्य म त्यहीँ गएर हेर्नेछु—त्यो पोथ्रा किन भस्म भएको छैन।”
4जब याहवेहले तिनले हेर्न गएको देख्नुभयो, तब परमेश्वरले त्यस पोथ्राभित्रबाट तिनलाई बोलाएर भन्नुभयो, “मोशा! ए मोशा!”
अनि मोशाले भने, “हजुर, म यहाँ छु।”
5परमेश्वरले भन्नुभयो, “यता नजिक नआइज! तेरो जुत्ता फुकाल; किनकि तँ उभिएको ठाउँ पवित्र भूमि हो।” 6तब उहाँले भन्नुभयो, “म तेरा पितापुर्खाका परमेश्वर हुँ; अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकोबका परमेश्वर।” यो सुनेर मोशाले आफ्नो अनुहार छोपे; किनकि तिनी परमेश्वरलाई हेर्न डराए।
7याहवेहले भन्नुभयो, “मैले इजिप्टमा भएका मेरा प्रजाका कष्ट साँच्चै देखेको छु। परिश्रममा जोतिएकाहरूलाई यातना दिने ठेकेदारहरूका कारण मैले तिनीहरूको चीत्कार सुनेको छु; र तिनीहरूका दुःखप्रति मेरो वास्ता छ। 8यसकारण म तिनीहरूलाई इजिप्टियनहरूका हातबाट छुटाउन, र त्यस देशबाट निकालेर एउटा असल र ठूलो देश, दूध र मह बग्ने, जो कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी र यबूसीहरूको देश हो, त्यहाँ ल्याउनलाई म ओर्लिएको छु। 9अब इस्राएलीहरूको चीत्कार मेरो सामु आइपुगेको छ; अनि इजिप्टियनहरूले कसरी तिनीहरूलाई सताइरहेका छन्, त्यो मैले देखेको छु। 10यसकारण अब जा। म मेरा मानिसहरू अर्थात् इस्राएलीहरूलाई इजिप्टबाट बाहिर ल्याउन तँलाई फारोकहाँ पठाउँदैछु।”
11तर मोशाले परमेश्वरलाई भने, “फारोकहाँ गएर इस्राएलीहरूलाई इजिप्टबाट बाहिर निकालेर ल्याउने म को हुँ र?”
12तब परमेश्वरले भन्नुभयो, “म तेरो साथमा हुनेछु। तँलाई पठाउने म नै हुँ भनी देखाउने अद्भुत चिन्ह यो हुनेछ: जब तैँले ती मानिसहरूलाई इजिप्टबाट बाहिर निकालेर ल्याउनेछस्, तब तिमीहरूले यस पर्वतमा परमेश्वरको आराधना गर्नेछौ।”
13मोशाले परमेश्वरलाई भने, “यदि मैले गएर इस्राएलीहरूलाई ‘तिमीहरूका पितापुर्खाहरूका परमेश्वरले मलाई तिमीहरूकहाँ पठाउनुभएको हो’ भनुँला, र तिनीहरूले मलाई ‘उहाँको नाम के हो?’ भनी सोध्लान्, तब म तिनीहरूलाई त्यस बेला के भनूँ?”
14परमेश्वरले मोशालाई भन्नुभयो, “म हुँ, जो म हुँ। तैँले इस्राएलीहरूलाई भन्नू: ‘म हुँ भन्नेले नै मलाई तिमीहरूकहाँ पठाउनुभएको हो।’ ”
15परमेश्वरले मोशालाई यसो पनि भन्नुभयो, “इस्राएलीहरूलाई भन्नू, ‘तिमीहरूका पितापुर्खाहरूका याहवेह परमेश्वर—अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकोबका परमेश्वरले—मलाई तिमीहरूकहाँ पठाउनुभएको हो।’
“मेरो नाम सदा यही रहन्छ,
र सबै पुस्तासम्म
मेरो नामको सम्झना यही हुनेछ।
16“जा, इस्राएलका प्रधानहरूलाई जम्मा गरेर तिनीहरूलाई भन्, ‘याहवेह तिमीहरूका पितापुर्खाहरूका परमेश्वर—अब्राहाम, इसहाक र याकोबका परमेश्वर—मकहाँ देखा परेर भन्नुभयो: मैले तिमीहरूमाथि दृष्टि लगाएको छु र तिनीहरूले तिमीहरूलाई इजिप्टमा के-के गरे, सो देखेको छु। 17मैले तिमीहरूलाई इजिप्टको दुःखबाट बाहिर निकालेर कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी र यबूसीहरूको देशमा ल्याउनलाई प्रतिज्ञा गरेको छु—जुन दूध र मह बग्ने देश हो।’
18“इस्राएलका प्रधानहरूले तेरो कुरा सुन्नेछन्। तब तँ र प्रधानहरू इजिप्टका राजाकहाँ गएर यसो भन्नू: ‘याहवेह, हिब्रूहरूका परमेश्वरले हामीसित भेट गर्नुभयो। हामीलाई तीन दिनको बाटो उजाडस्थानमा गएर याहवेह हाम्रा परमेश्वरकहाँ बलिदान चढाउन जान दिनुहोस्।’ 19तर म जान्दछु, शक्तिशाली हातले त्यसलाई बाध्य नगराएसम्म इजिप्टको राजाले तिमीहरूलाई जान दिनेछैन। 20यसकारण म आफ्नो हात पसारेर इजिप्टियनहरूका बीचमा सबै अद्भुत कार्यहरू गरेर तिनीहरूलाई प्रहार गर्नेछु। त्यसपछि त्यसले तिमीहरूलाई जान दिनेछ।
21“म इजिप्टियनहरूलाई यस जातिप्रति कृपा राख्ने बनाउनेछु, र तिमीहरू निस्कँदा खाली हात निस्कनेछैनौ। 22हरेक स्त्रीले आफ्ना छिमेकीसित र उसको घरमा बसेकी कुनै पनि स्त्रीसित सुन र चाँदीका चीजहरू, र लुगाफाटाहरू मागेर ती तिमीहरूका छोराछोरीहरूलाई लगाइदिनेछौ। यसरी तिमीहरूले इजिप्टियनहरूलाई लुट्नेछौ।”
अहिले सेलेक्ट गरिएको:
प्रस्थान 3: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.