इजकिएल 19
19
इस्राएलका राजकुमारहरूका निम्ति विलाप
1“इस्राएलका राजकुमारहरूका निम्ति एउटा विलापको गीत सुना, 2र भन्:
“सिंहहरूमध्ये तेरी आमा
कस्ती सिंहिनी थिई!
जवान सिंहहरूको बीचमा बसेर
त्यसले आफ्ना डमरुहरूलाई हुर्काई।
3त्यसले आफ्ना डमरुहरूमध्ये एउटालाई हुर्काई;
अनि त्यो एउटा बलियो सिंह भयो।
त्यसले शिकारलाई फहराउन जान्यो,
र त्यसले मानिसहरूलाई खान थाल्यो।
4जाति-जातिहरूले त्यसको बारेमा सुने,
र त्यो तिनीहरूको खाडलको पासोमा पर्यो।
तिनीहरूले त्यसलाई अङ्कुसेले तानेर
इजिप्ट देशमा लगे।
5“ ‘जब त्यस सिंहिनीले आफ्नो आशा पूरा नभएको,
आफ्नो अपेक्षा टुटेको देखी;
तब त्यसले आफ्ना डमरुहरूमध्ये अर्को एउटालाई लिई
र त्यसलाई एउटा बलियो सिंह बनाई।
6त्यो सिंहहरूको बीचमा शिकारको खोजीमा यताउता हिँड्डुल गर्न थाल्यो;
किनकि अब त्यो एउटा बलवान् सिंह भएको थियो।
त्यसले शिकारलाई फहराउन जान्यो,
र त्यो मानिस खाने भयो।
7त्यसले तिनीहरूका बलियो किल्लाहरू भत्काइदियो,
र तिनीहरूका सहरहरू ध्वस्त पारिदियो।
देश र त्यसमा भएका सबै जना
त्यसको गर्जनद्वारा त्रसित भए।
8तब त्यसको चारैतिर भएका
जाति-जातिहरू त्यसको विरुद्धमा आए।
तिनीहरूले त्यसको विरुद्धमा तिनीहरूका जाल फिँजाए,
र त्यो तिनीहरूको खाडलको पासोमा फस्यो।
9तिनीहरूले त्यसलाई अङ्कुसेले तानेर खोरमा हाले
र त्यसलाई बेबिलोनका राजाकहाँ ल्याए।
तिनीहरूले त्यसलाई थुनेर राखे।
त्यसैले त्यसको गर्जन इस्राएलका
पर्वतहरूमा फेरि सुनिएन।
10“ ‘पानीको छेउमा रोपिएको तेरो दाखबारीको
दाखको बोटजस्तै तेरी आमा थिई;
प्रशस्त पानी भएको कारण
त्यो फलदायक र हाँगाहरूले भरिएको थियो।
11त्यसका हाँगाहरू बलिया थिए,
र शासकको राजदण्डको निम्ति योग्यका थिए।
बाक्ला पातहरूमाथि
त्यो अग्लो बोट भएर बढ्यो;
अनि त्यसका हाँगाहरू धेरै थिए,
र त्यो उचाइमा अग्लो देखिन्थ्यो।
12तर क्रोधमा त्यो उखेलियो,
र जमिनमा त्यो फ्याँकियो।
अनि पूर्वीय बतासले त्यसलाई सुकाइदियो,
र त्यसका फलहरू सबै झारिदियो;
त्यसका बलिया हाँगाहरू सुकिहाले,
र आगोले ती भस्म पार्यो।
13अब त त्यो सुक्खा र पानी नभएको ठाउँ,
मरुभूमिमा रोपिएको छ।
14त्यसका मुख्य हाँगाहरूमध्ये एउटाबाट आगो फैलियो
र त्यसका फलहरूलाई भस्म पारिदियो।
शासकको राजदण्डको निम्ति योग्य,
कुनै पनि बलियो हाँगा त्यसमा छोडिएन।’
यो एक विलापको गीत हो, र यो विलापको गीतको रूपमा प्रयोग हुनुपर्छ।”
अहिले सेलेक्ट गरिएको:
इजकिएल 19: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.