होशे 5
5
इस्राएलको विरुद्धमा न्याय
1“हे पुजारीहरू हो, यो कुरा सुन!
हे इस्राएलीहरू हो, ध्यान दिएर सुन!
हे राजकीय घराना हो, ध्यानसित सुन!
यो न्याय तिमीहरूको विरुद्धमा छ:
तिमीहरू मिस्पामा पासोझैँ बनेका छौ,
र तिमीहरू तबोरमा फिँजाइराखेका जाल भएका छौ।
2विद्रोहीहरू हत्याको गहिराइमा फसेका छन्;
म तिनीहरू सबैलाई अनुशासित तुल्याउनेछु।
3म एफ्राइमको बारेमा सबै कुरा जान्दछु;
इस्राएल मदेखि लुकेको छैनँ।
एफ्राइम, तँ अब वेश्यावृत्तिमा लागेको छस्;
इस्राएल भ्रष्ट भएको छ।
4“तिनीहरूका कामहरूले तिनीहरूलाई
आफ्ना परमेश्वरतर्फ फर्कन दिँदैन।
तिनीहरूका हृदयमा वेश्यावृत्तिको आत्मा छ;
तिनीहरूले याहवेहलाई मान्यता दिँदैनन्।
5इस्राएलको अहङ्कारले तिनीहरूको विरुद्धमा साक्षी दिन्छ;
इस्राएल र एफ्राइम पनि आ-आफ्नो पापमा ठक्कर खानेछन्;
तिनीहरूसँग यहूदाले पनि ठक्कर खानेछ।
6जब तिनीहरू याहवेहलाई खोज्न
आफ्ना बगालहरू र बथानहरूसँग जान्छन्,
तब तिनीहरूले उहाँलाई भेट्टाउनेछैनन्;
उहाँले आफैँलाई तिनीहरूदेखि अलग गर्नुभएको छ।
7तिनीहरू याहवेहप्रति विश्वासघाती भएका छन्;
तिनीहरूले अवैध छोराछोरीहरू जन्माउँछन्।
जब तिनीहरूले नयाँ औँसीका चाडपर्वहरू मनाउँछन्,
तब ती चाडपर्वहरूले तिनीहरूका खेतहरू निल्नेछन्।
8“गेबामा तुरही फुक,
रामामा बिगुल फुक।
बेथ-आवेनमा युद्धको ध्वनि उठाओ;
हे बेन्यामीन, अगुवाइ गर।
9न्यायको दिनमा
एफ्राइमलाई उजाड पारिनेछ।
इस्राएलका कुलहरूका बीचमा
यी कुराहरू निश्चित छन्, म घोषणा गर्दछु।
10यहूदाका अगुवाहरू
सिमानाका ढुङ्गाहरू हटाउनेहरूजस्ता छन्।
म तिनीहरूमाथि वर्षाको बाढीजस्तै
मेरो क्रोध खन्याउनेछु।
11एफ्राइम थिचोमिचोमा परेको छ,
न्यायमा त्यो कुल्चीमिल्ची भएको छ;
त्यसले मूर्तिको पछि हिँड्नलाई अठोट गरेको छ।
12म एफ्राइमको निम्ति कपडा खाने किराजस्तै छु,
र यहूदाका मानिसहरूका निम्ति म ढुसीजस्तै छु।
13“जब एफ्राइमले आफ्नो रोग देख्यो
र यहूदाले आफ्नो चोट देख्यो,
तब एफ्राइम अश्शूरतिर फर्क्यो,
र महान् राजाकहाँ सहायताको निम्ति मानिस पठायो।
तर त्यसले तँलाई निको पार्न सक्दैन;
त्यसले तेरा घाउ निको पार्न सक्दैन।
14किनकि म एफ्राइमको निम्ति एउटा सिंहजस्तै
र यहूदाको निम्ति एउटा ठूलो सिंहजस्तै हुनेछु।
म तिनीहरूलाई टुक्रा-टुक्रा पार्नेछु र गइहाल्नेछु;
म तिनीहरूलाई उठाएर लैजानेछु, र तिनीहरूलाई छुटाउने कोही पनि हुनेछैन।
15जबसम्म तिनीहरूले आफ्नो दोष स्वीकार गर्दैनन्,
र तिनीहरूले मेरो अनुहार खोज्दैनन्,
तबसम्म म फर्केर आफ्नै ठाउँमा रहनेछु;
अनि आफ्नो कष्टमा
तिनीहरूले मलाई यत्नपूर्वक खोज्नेछन्।”
अहिले सेलेक्ट गरिएको:
होशे 5: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.