यशैया 46
46
बेबिलोनका देवताहरू
1बेल देवता झुक्छ, नेबो देवता निहुरिन्छ;
तिनीहरूका मूर्तिहरू भारी बोक्ने पशुहरूले बोकेका छन्।
तिनीहरूले लिएर हिँडेका मूर्तिहरू
थाकेकाहरूका निम्ति गह्रौँ भारजस्तै छन्।
2त्यस भारबाट मुक्त हुन नसकेर
तिनीहरू एकसाथ निहुरिन्छन्, ती सँगसँगै झुक्छन्;
तिनीहरू आफैँ कैदमा गइहाल्छन्।
3“हे याकोबको घराना, मेरो कुरा ध्यानसित सुन्,
इस्राएलका घरानाका बाँचेकाहरू सबै,
जसलाई गर्भधारण गरेको समयदेखि मैले सम्हालेको छु,
र जन्मेको घडीदेखि नै मैले बोकेको छु।
4तिमीहरूका वृद्धावस्था र केश फुलेका बेलासम्म म उही हुँ;
म उही हुँ, जसले तिमीहरूलाई थामिराख्नेछ।
मैले तिमीहरूलाई बनाएँ, र म तिमीहरूलाई बोक्नेछु;
म तिमीहरूलाई थामिराख्नेछु, र म तिमीहरूलाई छुटाउनेछु।
5“तिमीहरूले मलाई कोसित तुलना गर्छौ वा त्यसको बराबरी सम्झन्छौ?
मेरो तुलना गर्न तिमीहरूले मलाई कोजस्तो ठान्छौ?
6कसैले आफ्ना थैलाबाट सुन खन्याउँछन्
र तराजुमा चाँदी जोख्छन्;
तिनीहरूले त्यसबाट देवता बनाउनको लागि सुनारलाई ज्यालामा लिन्छन्,
र घोप्टेर त्यसलाई पुज्छन्।
7त्यसलाई काँधमा उठाएर बोक्छन्;
अनि त्यसलाई त्यसको ठाउँमा राख्छन् र त्यो त्यहाँ खडा रहन्छ।
त्यस ठाउँबाट त्यो यताउता चल्न सक्दैन।
कसैले त्यसलाई पुकार गर्यो भने तापनि त्यसले जवाफ दिन सक्दैन;
त्यसले तिनीहरूलाई विपत्तिबाट बचाउन सक्दैन।
8“हे बागीहरू हो, यो याद राख,
मनमा छाप लगाओ, यसलाई हृदयभित्र राख।
9ती धेरै पहिल्यैका पुराना कुराहरू सम्झ;
किनकि म परमेश्वर हुँ, अरू कोही पनि छैन;
म परमेश्वर हुँ, मजस्तो अरू कोही पनि छैन।
10म अन्तिमका कुराहरू पहिल्यैदेखि नै;
र प्राचीन समयदेखि नै, हुन आउने घटनाहरूको बारेमा भन्छु।
म भन्छु, ‘मेरो उद्देश्य अटल रहन्छ,
र म आफ्नो इच्छाअनुसार सबै कुरा गर्नेछु।’
11पूर्वबाट म शिकारी पक्षीलाई बोलाउँछु;
मेरो उद्देश्य पूरा गर्नलाई टाढा देशबाट मानिसलाई बोलाउँछु।
मैले जे भनेको छु, त्यो म गर्नेछु;
मैले जे योजना गरेको छु, त्यो म गर्नेछु।
12हे हठी हृदय भएकाहरू हो, मेरो कुरा ध्यानसित सुन;
तिमीहरू, जो धार्मिकताबाट टाढा छौ।
13म आफ्नो धार्मिकता नजिक ल्याउँदैछु;
यो टाढा छैन,
र मेरो उद्धार ढिलो हुनेछैन।
मेरो उद्धार सियोनलाई दिनेछु,
मेरो गौरव इस्राएललाई दिनेछु।
अहिले सेलेक्ट गरिएको:
यशैया 46: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.