यशैया 5
5
दाखबारीको गीत
1अब म मेरो प्रियको निम्ति
र उहाँको दाखबारीको निम्ति एउटा गीत गाउनेछु:
एउटा मलिलो डाँडामा
मेरा प्रियको एउटा दाखबारी थियो।
2उहाँले त्यसलाई खनेर ढुङ्गाहरू हटाउनुभयो;
अनि त्यसमा अति उत्तम दाख रोप्नुभयो।
उहाँले त्यसमा एउटा मचान बनाउनुभयो;
अनि एउटा कोल पनि खोप्नुभयो।
तब उहाँले असल दाखको आशा राख्नुभयो,
तर त्यसले खराब फल फलायो।
3“अब हे यरूशलेमका बासिन्दा र यहूदाका मानिसहरू हो,
म र मेरो दाखबारीका बीचमा न्याय गरिदेओ।
4मेरो दाखबारीका निम्ति मैले जति गरेँ,
त्योभन्दा बढी के गरिनुपर्नेथियो र?
मैले असल दाखको आशा गर्दा
किन त्यसले खराब फल फलायो?
5अब म तिमीहरूलाई भन्नेछु,
कि आफ्नो दाखबारीलाई म के गर्नेछु।
म त्यसको बार निकालिदिनेछु,
र त्यो नाश हुनेछ;
म त्यसको पर्खाल भत्काइदिनेछु,
र त्यो कुल्चीमिल्ची पारिनेछ।
6म त्यसलाई नछिमलेको र नगोडिएको
उजाडभूमि बनाइदिनेछु;
अनि त्यसमा सिउँडी र काँडाहरू उम्रनेछन्।
त्यसमा पानी नपरोस् भनेर,
म बादललाई आज्ञा गर्नेछु।”
7सेनाहरूका याहवेहको दाखबारी
इस्राएलको घराना हो,
र यहूदाका मानिसहरू
उहाँलाई मनपर्ने बगैँचा हो।
उहाँले न्यायको आशा गर्नुभयो, तर रक्तपात देख्नुभयो;
धार्मिकताको आशा गर्नुभयो, तर सङ्कष्टको रुवाइ पो सुन्नुभयो।
धिक्कार र न्याय
8धिक्कार तिमीहरूलाई,
जसले केही जग्गा नरहने गरी घरमा घर थप्छौ;
अनि खेतमा खेत जोड्छौ,
र देशमा आफू मात्र बस्छौ।
9सेनाहरूका याहवेहले मैले सुन्ने गरी घोषणा गर्नुभएको छ:
“निश्चय नै ठूला घरहरू उजाड हुनेछन्,
सुन्दर भवनहरू निर्जन हुनेछन्।
10पाँच बिघा दाखबारीले एक बाथ#5:10 लगभग 22 लिटर दाखरस मात्र दिनेछ;
एक होमेर#5:10 लगभग 160 किलो बिउले एक एपा#5:10 लगभग 16 किलो अन्न मात्र दिनेछ।”
11धिक्कार तिनीहरूलाई,
जो मद्यको निम्ति एकाबिहानै उठ्छन्,
जो मद्यले नमातुन्जेल
आधा रातसम्म बस्छन्।
12तिनीहरूसित भोजमा वीणा र सारङ्गी,
खैँजडी, बाँसुरी र मद्य हुन्छन्,
तर तिनीहरूसित याहवेहका कार्यहरूका निम्ति कुनै श्रद्धा हुँदैन;
उहाँका हातका कामप्रति कुनै आदर हुँदैन।
13यसकारण समझशक्तिको अभावले गर्दा
मेरा प्रजा देशबाट निकालिनेछन्;
तिनीहरूका प्रतिष्ठित मानिसहरू भोकले मर्नेछन्;
अनि तिनीहरूका सर्वसाधारण तिर्खाले सुक्नेछन्।
14यसकारण चिहानले आफ्नो मुख खोल्छ,
र आफ्नो मुख ठूलो उघार्छ;
त्यसभित्र तिनीहरूका कुलीन व्यक्तिहरू र जनसमूह
तिनीहरूका झगडालु र विलासीहरूसितै पस्नेछन्।
15यसरी मानिस होच्याइनेछ;
अनि हरेक जन नम्र बनाइनेछ,
अभिमानीका आँखा नम्र पारिनेछन्।
16तर सेनाहरूका याहवेह आफ्नो न्यायद्वारा उच्च पारिनुहुनेछ,
पवित्र परमेश्वरले आफ्नो धार्मिकताद्वारा आफूलाई पवित्र प्रकट गर्नुहुनेछ।
17तब भेडाहरू आफ्नै खर्कमा झैँ चर्नेछन्;
तथा धनीहरूका खाली ठाउँहरूमा परदेशीहरूले खानेछन्।
18धिक्कार तिनीहरूलाई जसले छलका डोरीहरूले पाप निकाल्छन्;
अनि गाडाका डोरीहरूले झैँ दुष्टता निकाल्छन्,
19जसले यसो भन्छन्, “परमेश्वरले हतार गरून्;
उहाँले आफ्नो काम चाँडो गरून्,
ताकि हामीले त्यो देख्न सकौँ।
इस्राएलका पवित्र परमेश्वरको योजना आओस्,
त्यो नजिक आओस्,
ताकि हामीले जान्न सकौँ।”
20धिक्कार तिनीहरूलाई, जसले दुष्टलाई असल
र असललाई दुष्ट भन्छन्,
जसले उज्यालोको सट्टा अँध्यारोलाई
र अँध्यारोको सट्टा उज्यालोलाई राख्छन्;
जसले मिठोको सट्टामा तितो,
र तितोको सट्टा मिठो राख्छन्।
21धिक्कार तिनीहरूलाई, जो आफ्नै नजरमा बुद्धिमान् छन्;
अनि आफ्नै दृष्टिमा चतुर छन्।
22धिक्कार तिनीहरूलाई, जो मद्य पिउन बहादुर छन्;
अनि मद्य मिसाउन सिपालु छन्,
23जसले घूस लिएर दोषीलाई छोडिदिन्छन्,
तर निर्दोषलाई न्याय दिँदैनन्।
24यसकारण पराललाई आगोका जिब्राहरूले चाटेझैँ
र ज्वालामा सुक्खा घाँस खरानी भएझैँ
तिनीहरूका जरा सडिजाने छन्,
र तिनीहरूका फूलहरू धुलोझैँ उडिजानेछन्;
किनकि तिनीहरूले सेनाहरूका याहवेहको व्यवस्थालाई इन्कार गरेका छन्;
अनि इस्राएलका पवित्र परमेश्वरको वचनलाई लत्याएका छन्।
25यसकारण याहवेहको क्रोध आफ्ना जातिको विरुद्ध दन्केको छ;
उहाँको हात उठेको छ र उहाँले तिनीहरूलाई प्रहार गर्नुहुन्छ।
पर्वतहरू काँप्छन्,
र मृतक शरीरहरू सडकतिर कसिङ्गरझैँ छन्।
यति भएर पनि उहाँको क्रोध शान्त भएको छैन,
तर उहाँको हात अझै पनि उठिराखेकै छ।
26उहाँले टाढाका जातिहरूको निम्ति
एउटा झण्डा खडा गर्नुहुनेछ;
उहाँले पृथ्वीको पल्लो छेउमा भएकाहरूका निम्ति भनेर सुसेली मार्नुहुनेछ।
तिनीहरू द्रूत गतिले आउँछन्!
27तिनीहरूमध्ये एक जना पनि थाक्दैनन्, र धरमराउँदैनन्,
कोही पनि झुल्दैनन्, न त निदाउँछन्।
एउटै पेटी पनि खुकुलो हुँदैन,
जुत्ताका एउटै फित्ता पनि चुँडिदैन।
28तिनीहरूका काँडहरू तीखा छन्,
सबै धनुहरूमा ताँदो चढाइएका छन्;
तिनीहरूका घोडाका टाप बज्रझैँ छन्,
तिनीहरूका रथका चक्काहरूको आवाज आँधीबेहरीझैँ छ।
29तिनीहरूका गर्जन सिंहको झैँ छ,
तिनीहरू जवान सिंहझैँ गर्जन्छन्;
आफ्नो शिकारलाई पक्रँदा तिनीहरू ङ्वार-ङ्वार गर्छन्;
अनि त्यसलाई कसैले नछुटाउने गरी लैजान्छन्।
30त्यस दिन तिनीहरू
त्यसमाथि समुद्र गर्जेझैँ गर्जनेछन्।
अनि यदि कसैले देशलाई हेर्यो भने,
त्यसले अन्धकार र सङ्कष्ट देख्नेछ;
यहाँसम्म कि प्रकाशलाई पनि बादलले अँध्यारो बनाइदिनेछ।
अहिले सेलेक्ट गरिएको:
यशैया 5: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.