यशैया 7
7
इम्मानुएलको चिन्ह
1उज्जियाहका नाति, योतामका छोरा आहाज यहूदाको राजा हुँदा अरामका राजा रसीन र इस्राएलका राजा रमल्याहका छोरा पेकह यरूशलेमको विरुद्ध युद्ध गर्न आए, तर तिनीहरूले त्यसलाई जित्न सकेनन्।
2अब दावीदको घरानालाई यसो भनियो, “अराम एफ्राइमसित मिलेको छ।” यसरी वनका रूखहरू बतासले हल्लाएझैँ आहाज र तिनको प्रजाको हृदय काँप्यो।
3तब याहवेहले यशैयालाई भन्नुभयो, “तँ र तेरा छोरा शार्यासूब धोबीहरूको खेतमा जाने बाटोमा माथिल्लो पोखरीको कुलोको अन्तिम भागमा आहाजलाई भेट्न निस्केर जा। 4त्यसलाई भन्, ‘होशियार बस्, शान्त हो, र नडरा। धुवाँ मात्र आइरहेका दाउराका यी दुई ठुटाहरूका कारण रसीन, अराम र रमल्याहका छोराको डरलाग्दो रिसको कारण हताश नहो। 5अराम, एफ्राइम र रमल्याहका छोराले तेरो विनाशको षड्यन्त्र गरेर यसो भनेका छन्, 6“हामी यहूदामाथि आक्रमण गरौँ र त्यसलाई टुक्रा-टुक्रा पारौँ; अनि त्यसलाई हाम्रो बीचमा बाँडौँ, र ताबेलको छोरालाई त्यसका राजा बनाऔँ।” 7तर प्रभु याहवेह यसो भन्नुहुन्छ:
“ ‘यो कहिल्यै हुनेछैन,
यो टिक्नेछैन;
8किनकि अरामको शिर दमस्कस हो;
अनि दमस्कसको शिर रसीन मात्र हो।
पैँसट्ठी वर्षभित्र एफ्राइम
एउटा जाति नै नरहने गरी टुटफुट हुनेछ।
9एफ्राइमको शिर सामरिया हो;
अनि सामरियाको शिर रमल्याहको छोरा मात्र हो।
यदि तँ आफ्नो विश्वासमा दृढतासाथ स्थिर रहिनस् भने,
तँ स्थापित हुनेछैनस्।’ ”
10फेरि याहवेहले आहाजलाई भन्नुभयो, 11“याहवेह तेरा परमेश्वरलाई अति गहिराइमा अथवा अति उचाइमा भए तापनि एउटा चिन्ह माग्।”
12तर आहाजले भने, “म माग्नेछैनँ; म याहवेहको परीक्षा गर्नेछैनँ।”
13तब यशैयाले भने, “हे दावीदको घराना, अब यो सुन्! के मानिसहरूको धैर्यतालाई जाँच गर्नु पर्याप्त थिएन? के तँ मेरा परमेश्वरको धैर्य पनि जाँच गर्छस्? 14यसकारण प्रभु आफूले तँलाई एउटा चिन्ह दिनुहुनेछ: कन्या गर्भवती हुनेछिन् र एउटा पुत्र जन्माउनेछिन्; अनि उनलाई इम्मानुएल#7:14 इम्मानुएल यसको अर्थ परमेश्वर हामीहरूसँग हुन्छ भन्नेछिन्। 15खराबलाई इन्कार गर्न र ठिकलाई चुन्न पर्याप्त ज्ञान पाएपछि उसले दही र मह खानेछ। 16तर बालकले खराबलाई इन्कार गर्न र ठिकलाई चुन्न पर्याप्त ज्ञान पाउनुअगि तँलाई तर्साउने दुई राजाहरूको देश उजाड हुनेछ। 17याहवेहले तँ र तेरा मानिसहरूमाथि, तेरा पिताका घरानामाथि एफ्राइम यहूदाबाट अलग भएको समयभन्दा बेग्लै समय यस देशमा ल्याउनुहुनेछ; उहाँले अश्शूरका राजालाई ल्याउनुहुनेछ।”
अश्शूर याहवेहको साधन
18त्यस दिन याहवेहले इजिप्टका नदीहरूको पल्लो छेउमा रहेका झिँगाहरू र अश्शूरको देशबाटका मौरीहरूलाई सुसेली मारेर बोलाउनुहुनेछ। 19तिनीहरू सबै आएर भिरालो कन्दराहरूमा, चट्टानका दुलाहरूमा, सबै काँडे-पोथ्राहरूमा र पानीको खाडलका सबै भ्वाङ्गहरूमाथि बस्नेछन्। 20त्यस दिन प्रभुले तिमीहरूका कपाल खौरिन, तिमीहरूका दाह्री र शरीरका सबै रौँ खौरिनलाई नदी पारिबाट एउटा छुरा ज्यालामा लिनुहुनेछ, अर्थात् अश्शूरका राजालाई ल्याउनुहुनेछ। 21त्यस दिन एउटा मानिसले एउटी कोरली र एक जोर भेडा पाल्नेछ। 22तिनीहरूले प्रशस्त दूध दिएको कारण उसले दही खानेछ। त्यस देशमा छोडिएका सबैले दही र मह खानेछन्। 23त्यस दिन एक हजार शेकेलको#7:23 लगभग 12 किलो चाँदीको मूल्य बराबरको एक हजार दाखको बोट भएको प्रत्येक ठाउँमा खाली सिउँडी र काँडा मात्र हुनेछन्। 24मानिसहरू त्यहाँ धनु र काँड लिएर जानेछन्; किनकि देश सिउँडी र काँडाहरूले ढाकिएको हुनेछ। 25एक पल्ट तिमीहरूले कोदालोले खेती गरेका डाँडाहरूको विषयमा चाहिँ तिमीहरू त्यहाँ सिउँडी र काँडाहरूको डरले जानेछैनौ; ती गाईबस्तु र भेडाहरूका निम्ति चर्ने ठाउँ हुनेछन्।
अहिले सेलेक्ट गरिएको:
यशैया 7: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.