YouVersion लोगो
खोज आइकन

यशैया 9

9
1तरै पनि त्यो सङ्कष्‍टमा परेकाहरूका निम्ति निराशा हुनेछैन। बितेका समयमा उहाँले जबूलून र नप्‍तालीको मुलुकलाई नम्र तुल्याउनुभयो। तर भविष्यमा उहाँले यर्दनतिरको समुद्र छेउको गैरयहूदीहरूको गालीललाई सम्मानित पार्नुहुनेछ—
2अन्धकारमा जिउनेहरूले
एउटा ठूलो ज्योति देखेका छन्;
घोर अन्धकारमा बस्‍नेहरूमाथि
ज्योति उदाएको छ।
3तपाईंले जातिलाई फराकिलो पार्नुभएको छ;
अनि तिनीहरूका आनन्द बढाइदिनुभएको छ;
मानिसहरूले कटनीमा रमाएझैँ
लुटको माल बाँड्दा रमाएझैँ,
तिनीहरू तपाईंको सामु
रमाउनेछन्।
4किनकि मिद्यानको पराजयको दिनमा झैँ
तपाईंले तिनीहरूलाई भार भएको जुवा,
र तिनीहरूका काँधमा परेको बोझ,
साथै तिनीहरूलाई सताउनेहरूका लहुरोलाई
भाँचिदिनुभएको छ।
5प्रत्येक योद्धाले लडाइँमा लगाएको जुत्ता,
र रगतमा लतपतिएको
हरेक वस्त्र आगोमा भस्म हुनेछ।
त्यो आगोको निम्ति इन्धन हुनेछ।
6किनकि हाम्रा निम्ति एउटा बालकको जन्म भएको छ;
हाम्रा निम्ति एउटा पुत्र दिइएको छ।
शासन उहाँको काँधमा हुनेछ।
उहाँलाई उदेकको सल्‍लाहकार,
शक्तिशाली परमेश्‍वर,
सनातनका पिता, शान्तिका राजकुमार भनिनेछ।
7उहाँको शासन वृद्धि र शान्तिको
अन्त्य हुनेछैन।
उहाँले दावीदको सिंहासनमाथि
र तिनका राज्यमाथि शासन गर्नुहुनेछ।
उहाँले राज्यलाई त्यस समयदेखि अनन्तसम्म
न्याय र धार्मिकतासँग स्थापित गर्नुहुनेछ र दृढ पार्नुहुनेछ।
सेनाहरूका याहवेहको जोशले
यसलाई सम्पन्‍न गर्नेछ।
इस्राएलमाथि याहवेहको क्रोध
8प्रभुले याकोबको विरुद्धमा एउटा सन्देश पठाउनुभएको छ;
जुन इस्राएलमाथि पर्नेछ।
9सबै मानिसहरूले त्यसलाई जान्‍नेछन्;
एफ्राइम र सामरियाका बासिन्दाहरू,
जो घमण्ड र अभिमानको
हृदयले यसो भन्छन्,
10“इँटाहरू लडेका छन्,
तर हामी काटेका ढुङ्गाहरूले बनाउनेछौँ;
नेभाराका रूखहरू ढालिएका छन्,
तर हामी त्यसको सट्टामा देवदारुका रूखहरू लगाउनेछौँ।”
11तर याहवेहले तिनीहरूको विरुद्ध रसीनका शत्रुहरूलाई बलियो पार्नुभएको छ;
अनि तिनीहरूका शत्रुहरूलाई सुर्‍याउनुभएको छ।
12पूर्वबाट अरामीहरू र पश्‍चिमबाट पलिश्तीहरूले
मुख खोलेर इस्राएललाई खाएका छन्।
यति भएर पनि उहाँको क्रोध शान्त भएको छैन,
तर उहाँको हात अझै पनि उठिराखेकै छ।
13तर उहाँले प्रहार गर्नुभएका मानिसहरू उहाँतिर फर्केका छैनन्,
न त तिनीहरूले सेनाहरूका याहवेहलाई खोजेका छन्।
14यसकारण याहवेहले इस्राएलबाट शिर र पुच्छर,
खजूरको हाँगा र निगालो दुवै एकै दिनमा अलग गरिदिनुहुनेछ।
15प्रधानहरू र विशिष्‍ट व्यक्तिहरू शिर हुन्;
अनि झूट सिकाउने अगमवक्ताहरूचाहिँ पुच्छर हुन्।
16यस जातिलाई डोर्‍याउनेहरूले तिनीहरूलाई पथभ्रष्‍ट पार्छन्,
र डोर्‍याइएकाहरू बरालिएका छन्।
17यसकारण प्रभु जवान मानिसहरूसित प्रसन्‍न हुनुहुनेछैन।
न त उहाँले अनाथ र विधवाहरूलाई टिठाउनुहुनेछ।
किनकि हरेक मानिस ईश्‍वरहीन र दुष्‍ट छ;
प्रत्येक मुखले नीच कुरा बोल्छ।
यति भएर पनि उहाँको क्रोध शान्त भएको छैन;
उहाँको हात उठिराखेकै छ।
18किनकि निश्‍चय नै दुष्‍टता आगोझैँ बल्छ;
यसले सिउँडी र काँडालाई भस्म पार्नेछ;
यसले वनका झाडीहरू आगो लगाइदिनेछ,
र त्यो धुवाँको मुस्लोमा बटारिँदै उँभो-उँभो जानेछ।
19सेनाहरूका याहवेहको क्रोधद्वारा
सबै देश भस्म हुनेछ;
अनि मानिसहरू आगोको निम्ति दाउरा हुनेछन्;
कसैले पनि आफ्नो दाजुभाइलाई बाँकी राख्नेछैन।
20तिनीहरूले आफ्ना दाहिनेतिर खानेछ,
र पनि अझ भोकै रहनेछ;
देब्रेतिर तिनीहरूले खानेछन्,
तर तृप्‍त हुनेछैनन्।
प्रत्येकले आफ्नै सन्तानको मासु खानेछ:
21मनश्शेले एफ्राइमलाई खानेछ र एफ्राइमले मनश्शेलाई खानेछ;
ती दुवै एकसाथ यहूदाको विरुद्ध जाइलाग्नेछन्।
यति भएर पनि उहाँको क्रोध शान्त भएको छैन,
तर उहाँको हात अझै उठिराखेकै छ।

अहिले सेलेक्ट गरिएको:

यशैया 9: NCV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्