याकोब 2
2
पक्षपात निषेध
1हे मेरा दाजुभाइ-दिदीबहिनीहरूहो, हाम्रा महिमित प्रभु येशू ख्रीष्टमा विश्वास गर्नेहरू भएकाले पक्षपात नगर। 2मानौं, तिमीहरूको सभामा एकजना मानिस सुनको औँठी र सुन्दर वस्त्र लगाएर आयो, अनि थाङ्ने वस्त्र लगाएको गरिब मानिस पनि आयो; 3यदि तिमीले सुन्दर वस्त्र लगाएको त्यस मानिसलाई विशेष ध्यान दिएर “तपाईंको लागि यहाँ असल ठाउँ छ” भन्छौ र त्यस गरिब मानिसलाई चाहिँ “तिमी त्यहीं उभ” अथवा “भुइँमा मेरो पाउनिर बस” भन्छौ भने, 4के तिमीहरू आपसमा पक्षपात गरेर दुष्ट विचारले न्याय गर्नेहरू भएनौ र?
5मेरा प्यारा दाजुभाइ-दिदीबहिनीहरूहो, ध्यानसित सुन! के संसारको नजरमा गरिब भएकाहरूलाई परमेश्वरले विश्वासमा धनी हुनालाई, अनि उहाँलाई प्रेम गर्नेहरू सबैलाई प्रतिज्ञा गर्नुभएको राज्यको उत्तराधिकारी हुनालाई चुन्नुभएको होइन र? 6तर तिमीहरूले त गरिबहरूलाई अपमान गर्यौ। के तिमीहरूलाई शोषण गर्ने धनीहरू नै होइनन्? के तिमीहरूलाई अदालतमा घिसारेर लाने तिनीहरू नै होइनन्? 7के तिनीहरूले त्यही आदरणीय नाउँको निन्दा गर्दैनन्, जुन नाउँले तिमीहरू बोलाइएका छौ?
8यदि “आफ्ना छिमेकीलाई आफूलाई झैं प्रेम गर”#2:8 लेवी 19:18 भन्ने पवित्र धर्मशास्त्रमा पाइने राजकीय आज्ञा तिमीहरूले पालन गर्दछौ भने तिमीहरूले ठीक गर्दैछौ। 9तर तिमीहरूले पक्षपात गर्यौ भने तिमीहरूले पाप गर्दछौ, र व्यवस्थाले तिमीहरूलाई व्यवस्था उलङ्घन गरेको दोष लगाउँछ। 10किनकि जसले व्यवस्थाका सबै कुरा पालन गर्दछ, तर एउटै कुरामा पनि चुक्यो भने त्यो सम्पूर्ण व्यवस्था उलङ्घन गर्नेजस्तै दोषी हुनेछ। 11किनकि जसले “व्यभिचार नगर्नू”#2:11 प्रस 20:14; व्यव 5:18 भन्नुभयो, उहाँले “हत्या नगर्नू”#2:11 प्रस 20:13; व्यव 5:17 पनि भन्नुभयो। यदि तिमीहरू व्यभिचार गर्दैनौ, तर हत्या गर्छौ भने तिमीहरू व्यवस्था उलङ्घन गर्नेहरू भयौ।
12स्वतन्त्रता दिने व्यवस्थाद्वारा तिमीहरू जाँचिनेछौ भनेर त्यही किसिमले बोल र काम गर; 13किनकि दयालु नहुने हरेकलाई दयाविना न्याय गरिनेछ। दयालुले न्यायमाथि विजय गर्छ।
विश्वास र काम
14हे मेरा दाजुभाइ-दिदीबहिनीहरूहो, यदि कुनै मानिसले मसँग विश्वास छ भनी दाबी गर्छ, तर कामहरूचाहिँ गर्दैन भने, के फाइदा भयो र? के त्यस्तो विश्वासले तिनीहरूलाई बचाउन सक्छ र? 15मानौं, कोही दाजुभाइ-दिदीबहिनीहरूलाई वस्त्र अनि दैनिक भोजनको खाँचो छ, 16अनि तिमीहरूमध्ये कसैले तिनलाई “म तिम्रो भलो चिताउँछु, जाऊ अनि न्यानो बस, अघाउने गरी खाऊ” भन्यो, तर तिनका शारीरिक खाँचोहरूचाहिँ पुर्याइदिँदैन भने, त्यसबाट के फाइदा हुन्छ र? 17यस्तै किसिमले कामविनाको विश्वास पनि मरेतुल्य हुन्छ।
18तर कसैले भन्ला, “तिमीसँग विश्वास छ, तर मसँग कामहरू छन्।”
कामविनाको तिम्रो विश्वास मलाई देखाऊ, र म तिमीलाई मेरो कामद्वारा आफ्नो विश्वास देखाउनेछु। 19परमेश्वर एक मात्र हुनुहुन्छ भनी तिमी विश्वास गर्छौ; यो असल कुरो हो! दुष्ट आत्माहरूले पनि त्यो विश्वास गर्छन् र काँप्तछन्।
20ए मूर्ख मानिसहो, के कामविनाको विश्वास व्यर्थ#2:20 केही पा.लि.हरूमा मृत हो भनेर तिमी बुझ्दैनौ? 21आफ्नो पुत्र इसहाकलाई वेदीमा अर्पण गर्दा के हाम्रा पुर्खा अब्राहाम तिनका कामहरूद्वारा धर्मी ठहरिएका होइनन् र? 22तिमी देख्दछौ, तिनको विश्वास र काम एकसाथ मिलेर काम गर्दैथिए, अनि तिनले जे गरे, त्यसबाट तिनको विश्वास पूरा भयो। 23“अब्राहामले परमेश्वरमाथि विश्वास गरे, अनि यो उनको निम्ति धार्मिकता गनियो”#2:23 उत्प 15:6 भन्ने पवित्र धर्मशास्त्र पूरा भयो; र तिनी परमेश्वरका मित्र कहलिए। 24तिमीहरू देख्छौ, कि विश्वासले मात्र होइन, तर मानिसले जे गर्छ, त्यसबाट ऊ धर्मी ठहरिन्छ।
25यस्तै किसिमले राहाब वेश्या पनि, तिनले ती जासूसहरूलाई आश्रय दिएर अर्को दिशातिर पठाइदिएको#2:25 यहो 2:21 कामबाट धर्मी ठहरिएकी थिइनन् र? 26जसरी शरीर आत्माविना मरेतुल्य हुन्छ, त्यसरी नै विश्वास पनि कामविना मरेतुल्य हुन्छ।
अहिले सेलेक्ट गरिएको:
याकोब 2: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ। सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Nepali Contemporary Version™, New Testament
Copyright © 1998, 2006, 2021 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.