YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 12:23-36

यूहन्‍ना 12:23-36 NCV

येशूले भन्‍नुभयो, “मानिसको पुत्र महिमित हुने समय आइपुगेको छ। म तिमीहरूलाई साँच्‍चै भन्दछु, गहुँको दाना माटोमा परेर मरेन भने त्यो एकलो रहन्छ; तर यदि त्यो मर्‍यो भने त्यसले धेरै फल फलाउँछ। आफ्नो प्राणलाई माया गर्ने मानिसले त्यो गुमाउनेछ; तर आफ्नो प्राणलाई यस संसारमा घृणा गर्नेले त्यो अनन्त जीवनका लागि बचाउनेछ। मेरो सेवा गर्नेले मलाई पछ्याउनैपर्छ। अनि म जहाँ छु, मेरो सेवक पनि त्यहाँ हुनेछ। मेरो सेवा गर्नेहरूलाई मेरा पिताले आदर गर्नुहुनेछ। “अहिले मेरो हृदय अति व्याकुल भएको छ। के म यसरी प्रार्थना गरूँ, ‘पिता, जे हुन आँटेको छ, त्यसदेखि मलाई बचाउनुहोस्?’ होइन, यसैको लागि म यहाँसम्म आएँ। हे पिता, तपाईं आफ्नो नामको महिमा गर्नुहोस्!” त्यसपछि स्वर्गबाट यस्तो एउटा सोर आयो, “मैले मेरो नामको महिमा गरिसकेको छु, र म फेरि महिमा गर्नेछु।” त्यो भीडमा यो सोर सुन्‍नेहरूमध्ये कतिले यसलाई गर्जन हो भनी ठाने, तर अरूले स्वर्गदूत उहाँसँग बोल्नुभएको हो भनी भने। येशूले भन्‍नुभयो, “यो आवाजचाहिँ तिमीहरूका फाइदाको निम्ति थियो, मेरो निम्ति थिएन। अब संसारको न्यायको समय आइपुगेको छ। अब यस संसारको शासक बाहिर फालिनेछ। यदि म पृथ्वीबाट माथि उचालिएँ भने मैले सबै मानिसहरूलाई मकहाँ खिँच्नेछु।” उहाँको मृत्यु कुन प्रकारको हुनेछ भन्‍ने सङ्केत गर्न उहाँले यसो भन्‍नुभएको थियो। भीडले प्रश्न गर्‍यो, “ख्रीष्‍ट सदासर्वदा जीवित रहनुहुनेछ र कहिल्यै मर्नुहुनेछैन भनेर व्यवस्थाबाट हामीले सुनेका थियौँ। त्यसो हो भने, ‘मानिसको पुत्र उचालिनैपर्छ’ भनेर तपाईं कसरी भन्‍न सक्नुहुन्छ? अनि ‘मानिसको पुत्र’ चाहिँ को हो त?” येशूले तिनीहरूलाई भन्‍नुभयो, “अब केही बेर मात्र तिमीहरूले ज्योति पाउनेछौ। तिमीहरूसँग ज्योति भएकै बेला र अन्धकारले ढाक्नुभन्दा अगि नै हिँड्‍डुल गर। अन्धकारमा हिँड्ने मानिसले ऊ कहाँ जाँदैछ भन्‍ने थाहा पाउँदैन। तिमीहरूसँग ज्योति हुँदा नै आफ्नो भरोसा त्यसमा राख, तब तिमीहरू ज्योतिका सन्तान बन्‍नेछौ।” यति भनिसक्नुभएपछि येशू त्यहाँबाट जानुभयो, र फेरि तिनीहरूबीचमा देखा पर्नुभएन।

यूहन्‍ना 12 पढ्नुहोस्