लूका 16
16
चतुर प्रबन्धक
1येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो: “कुनै धनी मानिसको एकजना प्रबन्धक थियो र उसलाई आफ्ना मालिकको धनसम्पत्ति उडाइरहेको छ भन्ने दोष लागेको थियो। 2त्यसकारण मालिकले त्यसलाई बोलाएर सोधे, ‘मैले तिम्रो बारेमा जे सुन्दैछु, त्यो के हो? तिम्रो कामको हिसाब देऊ; किनकि अब उप्रान्त तिमी प्रबन्धक रहिरहन सक्दैनौ।’
3“त्यो प्रबन्धकले आफ्नो मनमनै भन्यो, ‘अब म के गरूँ? मेरा मालिकले मेरो काम खोस्न लागेका छन्। खनजोत गर्ने मेरो बल छैनँ, अनि भीख माग्न मलाई लाज लाग्छ। 4मैले के गर्नेछु, त्यो मलाई थाहा छ, त्यसो गर्दा म यहाँको कामबाट हटाइए पनि मानिसहरूले मलाई तिनीहरूका घरमा स्वागत गरून्।’
5“तब त्यसले आफ्ना मालिकका ऋणीहरूमध्ये हरेकलाई बोलायो। त्यसले पहिलोलाई सोध्यो, ‘तिमीलाई मेरा मालिकको कति ऋण छ?’
6“उसले भन्यो, ‘तीन हजार लिटर जैतुनको तेल।’
“प्रबन्धकले उसलाई भन्यो, ‘तिम्रो तमसुक लेऊ र चाँडो बसेर पन्ध्र सय लिटर लेख।’
7“त्यसपछि त्यसले दोस्रोलाई सोध्यो, ‘तिमीलाई कति ऋण छ?’
“उसले भन्यो, ‘तीस टन गहुँ।’
“त्यसले उसलाई भन्यो, ‘तिम्रो तमसुक लेऊ र चौबीस टन लेख।’
8“त्यसले चतुर्याइँपूर्वक काम गरेकोले त्यसका मालिकले त्यो बेइमान प्रबन्धकको तारिफ गरे, किनकि यस संसारका मानिसहरू आफूजस्तै अरू मानिसहरूसँग व्यवहार गर्ने काममा ज्योतिका मानिसहरूभन्दा अझ बढी चतुर हुन्छन्। 9म तिमीहरूलाई भन्दछु, संसारको धन प्रयोग गरेर आफ्ना निम्ति मित्रहरू बनाओ, र त्यो धन सकिएपछि तिमीहरूले अनन्त वासस्थानमा स्वागत पाउनेछौ।
10“जसलाई थोरै कुरामा भरोसा गर्न सकिन्छ, त्यसलाई धेरै कुरामा पनि भरोसा गर्न सकिन्छ, अनि जो सानो कुरामा बेइमान हुन्छ, त्यो धेरै कुरामा पनि बेइमान हुन्छ। 11त्यसैले यदि तिमीहरू सांसारिक धन चलाउने काममा इमानदार भएनौ भने तिमीहरूलाई साँचो धनको निम्ति कसले भरोसा गर्ला? 12अनि यदि तिमीहरू अरू कसैको धनमा इमानदार भएनौ भने तिमीहरूलाई तिम्रो आफ्नै धन कसले देला र?
13“कुनै पनि सेवकले दुई मालिकको सेवा गर्न सक्दैन। कि ता त्यसले एउटालाई घृणा गरेर अर्कोलाई प्रेम गर्नेछ, कि ता त्यो एउटाप्रति भक्त बनेर अर्कालाई तुच्छ ठान्नेछ। तिमीहरूले परमेश्वर र धन दुवैको सेवा गर्न सक्दैनौ।”
14फरिसीहरू, जसले धनको लोभ गर्थे, यी सबै कुरा सुनेर तिनीहरूले उहाँका विरुद्ध ओठ लेप्य्राउँदै थिए। 15उहाँले तिनीहरूलाई भन्नुभयो, “मानिसहरूका सामुन्ने आफैलाई धर्मी ठहराउने मानिसहरू तिमीहरू नै हौ, तर तिमीहरूका हृदय परमेश्वरले जान्नुहुन्छ। मानिसहरूका बीचमा जे उच्च ठानिएको हुन्छ, त्यो परमेश्वरको दृष्टिमा घृणित हुन्छ।
अन्य शिक्षाहरू
16“व्यवस्था र अगमवक्ताका वचन यूहन्नाको पालासम्म घोषणा गरिए। त्यस बेलादेखि परमेश्वरको राज्यको सुसमाचार घोषणा भइरहेको छ, अनि हरेक व्यक्तिले आफू त्यसभित्र पस्न जबरजस्ती गर्दैछ। 17तर व्यवस्थाबाट एक मात्रा पनि हट्नुभन्दा आकाश र पृथ्वी टलिजान सजिलो छ।
18“जसले आफ्नी पत्नीलाई विवाह-विच्छेद गरेर अर्की स्त्रीसँग विवाह गर्छ, त्यसले व्यभिचार गर्छ, अनि त्यो मानिस जसले विवाह-विच्छेद गरिएकी कुनै स्त्रीलाई विवाह गर्छ, उसले पनि व्यभिचार गर्छ।
धनी मानिस र लाजरस
19“येशूले भन्नुभयो, एउटा धनी मानिस थियो र ऊ बहुमूल्य बैजनी र मिहिन मलमलको लुगा लगाएर दिनहुँ सुख-विलासमा बस्दथ्यो। 20उसको ढोकामा लाजरस नाउँ भएको एउटा माग्ने राखिन्थ्यो, जसको शरीर घाउ नै घाउले भरिएको थियो, 21अनि त्यसले धनी मानिसको टेबुलबाट झरेका भोजनका टुक्रा-टाक्री खाने इच्छा गर्दथ्यो। कुकुरहरूले पनि आएर त्यसका घाउहरू चाट्दथे।
22“केही समयपछि त्यो माग्ने मर्यो र स्वर्गदूतहरूले त्यसलाई लगेर अब्राहामको साथमा पुर्याइयो। त्यो धनी मानिस पनि मर्यो, र गाडियो। 23नरकमा, जहाँ ऊ कठोर यातनामा थियो। उसले त्यहाँबाट नजर उठाएर हेर्यो, र टाढामा अब्राहाम र उनको साथमा लाजरसलाई देख्यो। 24तब उसले उनलाई कराएर भन्यो, ‘हे पिता अब्राहाम, ममाथि दया गर्नुहोस्, र लाजरसलाई त्यसको औंला पानीमा चोपेर मेरो जिब्रोलाई शीतल पारिदिन यहाँ पठाइदिनुहोस्, किनकि म यस आगोमा कठोर वेदनामा छु।’
25“तर अब्राहामले जवाफ दिए, ‘छोरा, याद गर! तिमीले तिम्रो जीवनकालमा असल कुराहरू प्राप्त गर्यौ, तर लाजरसले दुःख मात्र पायो; तर अहिले उसले यहाँ आराम पाउँदैछ, र तिमीचाहिँ वेदनामा तड्पिरहेका छौ। 26अनि यसबाहेक पनि, यहाँबाट तिमीकहाँ जान चाहनेहरू जान नसकून् र त्यहाँबाट पनि कोही पार गरेर यहाँ आउन नसकून् भनेर हामीहरूका बीचमा एउटा अति गहिरो धाँदो राखिएको छ।’
27“तब उसले भन्यो, ‘त्यसो भए, हे पिता, म तपाईंलाई विन्ती गर्दछु, लाजरसलाई मेरो परिवारकहाँ पठाइदिनुहोस्, 28किनकि मेरा पाँच भाइहरू त्यहाँ छन्; त्यसले तिनीहरूलाई चेतावनी देओस्, जसबाट तिनीहरू पनि यो यातनाको ठाउँमा नआऊन्।’
29“अब्राहामले जवाफ दिए, ‘तिनीहरूसित मोशा र अगमवक्ताका पुस्तकहरू छन्, तिनीहरूले तिनलाई सुनून्।’
30“उसले भन्यो, ‘होइन, पिता अब्राहाम, तर मरेकाहरूबाट कोही एकजना तिनीहरूकहाँ गयो भने ता, तिनीहरूले पश्चात्ताप गर्नेछन्।’
31“तिनले उसलाई भने, ‘यदि तिनीहरूले मोशा र अगमवक्ताका वचन सुन्दैनन् भने मरेकाहरूबाट कोही जीवित भए तापनि तिनीहरूले विश्वास गर्नेछैनन्।’ ”
अहिले सेलेक्ट गरिएको:
लूका 16: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ। सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Nepali Contemporary Version™, New Testament
Copyright © 1998, 2006, 2021 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.