लूका 20
20
प्रभु येशूको अधिकारमाथि प्रश्न
1एक दिन उहाँले मन्दिरको चोकहरूमा भएका मानिसहरूलाई शिक्षा दिँदै र सुसमाचार घोषणा गरिरहनुभएको बेला, मुख्य पूजाहारीहरू र व्यवस्थाका शिक्षकहरू, प्रधानहरूका साथमा उहाँकहाँ आए। 2तिनीहरूले भने, “हामीलाई भन, तिमीले कुन अधिकारले यी कुराहरू गर्दैछौ? तिमीलाई यो अधिकार कसले दियो?”
3उहाँले जवाफ दिनुभयो, “म पनि तिमीहरूलाई एउटा प्रश्न गर्छु, मलाई भन, 4यूहन्नाको बप्तिस्मा स्वर्गबाट थियो कि मानिसहरूबाटको?”
5तिनीहरूले यस विषयमा आ-आफूभित्र छलफल गरेर भने, “यदि हामीले ‘स्वर्गबाट’ भनौं भने, तिनले ‘त्यसो भए किन तिनलाई विश्वास गरेनौ त?’ भनी सोध्नेछन्। 6तर हामीले ‘मानिसहरूबाट’ भनौं भने, सबै मानिसहरूले हामीलाई ढुङ्गाले हान्नेछन्; किनकि तिनीहरूले यूहन्नालाई अगमवक्ता भनी विश्वास गर्दछन्।”
7त्यसकारण तिनीहरूले जवाफ दिए, “त्यो कहाँबाट थियो, हामी जान्दैनौं।”
8अनि येशूले भन्नुभयो, “म पनि कुन अधिकारले यी कामहरू गर्दैछु त्यो भन्दिनँ।”
दाखबारी लगाउने मालिकको दृष्टान्त
9उहाँ बोल्दैजानुभयो र मानिसहरूलाई यो दृष्टान्त भन्नुभयो: “एकजना मानिसले दाखबारी लगाए, र केही किसानहरूलाई मोहीको रूपमा खटाएर लामो समयका लागि टाढा गए। 10कटनीको समयमा तिनले ती मोहीहरूले दाखबारीबाट तिनलाई फलको केही भाग दिऊन् भनी एउटा सेवकलाई तिनीहरूकहाँ पठाए। तर मोहीहरूले त्यसलाई पिटे, र त्यसलाई रित्तै हात फर्काइदिए। 11तिनले अर्को सेवकलाई पनि पठाए, तर त्यसलाई पनि तिनीहरूले पिटे, र बेइज्जत गरेर रित्तै हात नै पठाइदिए। 12तिनले तेस्रो सेवकलाई पनि पठाए, अनि तिनीहरूले त्यसलाई पनि घाइते बनाएर बाहिर फालिदिए।
13“त्यसपछि दाखबारीका मालिकले भने, ‘म के गरूँ? म आफ्नो प्यारो छोरोलाई पठाउनेछु; शायद तिनीहरूले उसलाई त आदर गर्लान्।’
14“तर जब मोहीहरूले त्यसलाई देखे, तब आपसमा यस विषयमा कुरा गरे। तिनीहरूले भने, ‘यो त हकवाला हो। हामी यसलाई मारौं, अनि हकको सम्पत्ति हाम्रो हुनेछ।’ 15यसरी तिनीहरूले त्यसलाई दाखबारीको बाहिर निकालेर मारे।
“अब त्यस दाखबारीका मालिकले तिनीहरूलाई के गर्लान्? 16तिनी आएर ती मोहीहरूलाई मार्नेछन्, र त्यो दाखबारी अरूहरूलाई दिनेछन्।”
मानिसहरूले यो सुनेर भने, “यस्तो कहिल्यै नहोस्!”
17येशूले सोझै तिनीहरूलाई हेर्नुभयो र सोध्नुभयो, “तब यसरी लेखिएको कुराको अर्थ के हो त:
“ ‘जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे,
त्यही नै कुनाको मुख्य ढुङ्गो बन्यो’?#20:17 भजन 118:22
18हरेक जो त्यस ढुङ्गामाथि खस्छ, त्यो टुक्रा-टुक्रा हुनेछ, तर जसमाथि त्यो खस्छ, त्यो धूलोपीठो हुनेछ।”
19त्यसपछि व्यवस्थाका शिक्षकहरू र मुख्य पूजाहारीहरूले उहाँलाई तुरुन्तै पक्रने उपाय खोज्न थाले, किनकि उहाँले यो दृष्टान्त तिनीहरूका विरुद्धमा भन्नुभएको हो भनी तिनीहरूलाई थाहा थियो। तर तिनीहरू मानिसहरूदेखि डराउँथे।
सिजरलाई तिर्ने कर
20उहाँको चियो गरी मौका हेर्दै, तिनीहरूले धर्मी भएको बहाना गर्ने जासूसहरूलाई उहाँकहाँ पठाए। येशूले भन्नुभएका कुनै कुरामा उहाँलाई फसाई पक्रेर राज्यपालको अधिकार र शक्तिकहाँ उहाँलाई सुम्पिदिन तिनीहरूले दाउ हेरे। 21अनि ती जासूसहरूले उहाँलाई प्रश्न गरे: “गुरुज्यू, हामी जान्दछौं कि तपाईंले जे ठीक छ, त्यही बोल्नुहुन्छ र त्यसैको शिक्षा दिनुहुन्छ र तपाईंले भेदभाव राख्नुहुन्न, तर सत्यता बमोजिम परमेश्वरका मार्ग सिकाउनुहुन्छ। 22के हामीले सिजरलाई#20:22 सिजर रोमी सम्राट थिए, र सम्पूर्ण प्यालेसटाइन रोमी सम्राटको अधीनतामा थियो कर तिर्नु उचित छ कि छैन?”
23तर उहाँले तिनीहरूका बनावटी कुरा देख्नुभयो र भन्नुभयो, 24“मलाई दिनारको एउटा सिक्का देखाओ। यसमा कसका चित्र र छाप छन्?”
“सिजरको,” तिनीहरूले जवाफ दिए।
25तब उहाँले तिनीहरूलाई भन्नुभयो, “त्यसो भए जे सिजरको हो, त्यो सिजरलाई देओ र जे परमेश्वरको हो, त्यो परमेश्वरलाई देओ।”
26उहाँले त्यहाँ सारा मानिसहरूको अघि जे भन्नुभयो त्यस कुरामा उहाँलाई पक्रन तिनीहरू सामर्थ्य भएनन्। अनि उहाँले दिनुभएको जवाफमा आश्चर्य चकित भएर तिनीहरू चूप लागिरहे।
पुनर्जीवन र विवाह
27मरेकाहरू पुनर्जीवित हुँदैन भनी विश्वास गर्ने समूह सदुकीहरूमध्ये केही एउटा प्रश्न लिएर येशूकहाँ आए। 28तिनीहरूले भने, “गुरुज्यू, मोशाले हाम्रा निम्ति लेखिदिएका थिए, कुनै मानिसको दाजु निःसन्तान भई पत्नीलाई मात्र छोडेर मर्यो भने, त्यस मानिसले त्यो विधवालाई विवाह गरेर उसका दाजुका निम्ति सन्तान उत्पन्न गरिदिनुपर्छ। 29अब कुनै परिवारमा सात भाइ थिए। पहिलोले विवाह गरेर पत्नी ल्यायो र निःसन्तान भई मर्यो। 30-31अनि दोस्रोले, र ऊपछि तेस्रोले उसलाई विवाह गर्यो, अनि यसैगरी सातै जना नै निःसन्तान भई मरे। 32अन्त्यमा त्यो स्त्री पनि मरी। 33अब मरेकाहरू पुनर्जीवित हुँदा त्यो स्त्री कसकी पत्नी हुनेछे? किनकि सातै जनाको त्यससँग विवाह भएको थियो।”
34येशूले जवाफ दिनुभयो, “यस युगका मानिसहरू विवाह गर्दछन् र विवाहमा दिइन्छन्। 35तर त्यस युगसम्म पुग्न, र मरेकाहरूबाट पुनर्जीवित हुनयोग्य ठहरिनेहरूले न ता विवाह गर्नेछन् न विवाहमा दिइन्छन्, 36अनि तिनीहरू कहिल्यै मर्दैनन्; किनकि तिनीहरू स्वर्गदूतसमान हुन्। पुनर्जीवितका सन्तान भएकाले, तिनीहरू परमेश्वरका सन्तान हुन्। 37पोथ्राको विवरणमा मोशाले पनि मरेकाहरू जीवित पारिन्छन् भन्ने कुरा देखाएका थिए, किनकि तिनले प्रभुलाई ‘अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकोबका परमेश्वर’#20:37 प्रस 3:6 भनी पुकारा गरेका छन्। 38उहाँ मरेकाहरूको परमेश्वर हुनुहुन्न, तर जीवितहरूका हुनुहुन्छ; किनकि उहाँका निम्ति सबै जीवित छन्।”
39व्यवस्थाका केही शिक्षकहरूले भने, “गुरुज्यू, तपाईंले बडो असल कुरो भन्नुभयो!” 40अनि कसैले पनि उहाँलाई अरू प्रश्न सोध्ने आँट गरेनन्।
येशू ख्रीष्ट कसका पुत्र?
41त्यसपछि येशूले तिनीहरूलाई भन्नुभयो, “ख्रीष्ट दाविदका पुत्र हुन् भनी तिनीहरू कसरी भन्दछन्? 42-43किनकि दाविद आफैले भजनको पुस्तकमा यसो भनेका छन्:
“ ‘प्रभुले मेरा प्रभुलाई भन्नुभयो:
“जबसम्म म तिम्रा शत्रुहरूलाई
तिम्रा खुट्टाको पाउदान बनाउँदिनँ,
तिमी मेरो दाहिने हातपट्टि बस।” ’#20:42-43 भजन 110:1
44दाविदले उहाँलाई ‘प्रभु’ भन्छन्। त्यसो भए उहाँ कसरी तिनका पुत्र हुन सक्छन्?”
व्यवस्थाका शिक्षकहरू विरुद्ध चेतावनी
45अनि सबै मानिसहरूले सुनिरहेकै बेलामा येशूले उहाँका चेलाहरूलाई भन्नुभयो: 46“व्यवस्थाका शिक्षकहरूदेखि होसियार बस। तिनीहरू लामो पोशाक पहिरेर यताउता हिँड्न चाहन्छन्, बजारहरूमा आदरको अभिवादन पाउन मन पराउँछन्, अनि सभाघरहरूमा सबैभन्दा प्रमुख आसन र भोजहरूमा आदरको स्थान लिन मन पराउँछन्। 47तिनीहरूले विधवाहरूका घरहरू हडप्छन्, र देखाउनका निम्ति लामा-लामा प्रार्थना गर्दछन्। यस्ता मानिसहरूले सबैभन्दा कडा दण्ड पाउनेछन्।”
अहिले सेलेक्ट गरिएको:
लूका 20: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ। सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Nepali Contemporary Version™, New Testament
Copyright © 1998, 2006, 2021 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.