लूका 9
9
येशूले बाह्र जनालाई पठाउनुभएको
1एक दिन येशूले बाह्र जनालाई एकसाथ बोलाउनुभयो र, त्यसपछि तिनीहरूलाई उहाँले भूतहरू निकाल्ने र रोगहरू निको पार्ने शक्ति र अधिकार दिनुभयो, 2अनि उहाँले तिनीहरूलाई परमेश्वरको राज्यको घोषणा गर्न र बिरामीहरूलाई निको पार्न अधिकार दिएर पठाउनुभयो। 3उहाँले तिनीहरूलाई भन्नुभयो: “यात्राको लागि केही पनि नलेओ—न लौरो, न झोला, न रोटी, न पैसा, न दुईसरो लुगा। 4जुन घरमा तिमीहरू पस्दछौ, त्यो शहरलाई नछोडेसम्म त्यहीं अतिथीको रूपमा बस। 5यदि मानिसहरूले तिमीहरूलाई स्वागत गरेनन् भने, तिनीहरूका शहर छोडेर जाँदा तिनीहरूका विरुद्धमा गवाहीको निम्ति तिमीहरूका खुट्टाको धूलो टक्टक्याइदेओ।” 6तब तिनीहरू बिदा भए, र सबैतिर सुसमाचार घोषणा गर्दै र रोगीहरूलाई निको पार्दै गाउँ-गाउँमा गए।
7अब गालील प्रदेशका शासक हेरोदले यी सबै घटनाबारे सुनेर तिनी अन्योलमा परे, किनकि कसै-कसैले यूहन्ना मरेकाबाट जीवित भएका छन् भनी भन्दथे, 8अरूले एलिया देखा परेका छन् भन्दथे, र अझै अरूले उहिलेका अगमवक्ताहरूमध्ये एकजना बौरी उठेर आएका हुन् भन्ने गर्थे। 9तर हेरोदले भने, “मैले नै यूहन्नाको शिर काट्न लगाएँ। त्यसकारण यिनीचाहिँ को हुन्, जसका बारेमा म यस्ता सबै कुराहरू सुन्दैछु?” अनि तिनले उहाँलाई भेट्ने प्रयास गरे।
येशूले पाँच हजारलाई खुवाउनुभएको
10जब प्रेरितहरू फर्केर आए, तब आफूले गरेका कामका विषयमा येशूलाई बताए। त्यसपछि उहाँले तिनीहरूलाई आफ्नो साथमा लैजानुभयो र उहाँहरू आफै मात्र सुटुक्कै बेथसेदा भन्ने एउटा शहरमा जानुभयो। 11तर भीडले यो कुरा थाहा पाएर तिनीहरूले उहाँलाई पछ्याए। उहाँले तिनीहरूलाई स्वागत गर्नुभयो र परमेश्वरको राज्यको विषयमा सिकाउनुभयो, अनि निको हुन आवश्यक भएका जतिलाई निको पार्नुभयो।
12दिन ढल्कन थालेपछि बाह्रैजना उहाँकहाँ आएर भने, “भीडलाई बिदा गर्नुहोस्, र तिनीहरू छेउछाउका गाउँ र बस्तीहरूतिर गएर खानपान र वास खोजून्, किनकि हामी यहाँ सुनसान ठाउँमा छौं।”
13उहाँले भन्नुभयो, “तिमीहरूले नै तिनीहरूलाई केही खान देओ।”
तिनीहरूले जवाफ दिए, “गएर भीडका निम्ति खानेकुरा नकिनेसम्म त अहिले हामीसँग केवल पाँचओटा रोटी र दुईओटा माछा मात्र छन्।” 14(त्यहाँ पुरुषहरू मात्र लगभग पाँच हजार जति थिए।)
तर उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, “तिनीहरूलाई पचास पचासको समूहमा बसाओ।” 15अनि चेलाहरूले त्यसै गरे, र सबैजना बसे। 16ती पाँचओटा रोटी र दुईटा माछा लिएर स्वर्गतिर हेरेर, उहाँले धन्यवाद दिनुभयो, अनि रोटी भाँच्नुभयो र मानिसहरूमा बाँडिदिनको लागि चेलाहरूलाई दिनुभयो। 17तिनीहरू सबैले ती खाए, र अघाए; अनि चेलाहरूले उब्रेका टुक्राहरू बाह्र डालाभरि उठाए।
ख्रीष्टबारे पत्रुसको स्वीकार
18एकपल्ट येशू एकलै प्रार्थना गर्दैहुनुहुन्थ्यो, अनि उहाँका चेलाहरू उहाँसँगै थिए, तब उहाँले तिनीहरूलाई सोध्नुभयो, “मानिसहरूले मलाई, म को हुँ भन्छन्?”
19तिनीहरूले जवाफ दिए, “कसैले बप्तिस्मा दिने यूहन्ना भन्छन्, कसैले एलिया भन्छन्, अनि अझै अरूले, पहिलेका अगमवक्ताहरू मध्येबाट एकजना फेरि उठेर आएका हुन् भनी भन्छन्।”
20उहाँले सोध्नुभयो, “तर तिमीहरूले नि? तिमीहरू मलाई म को हुँ भन्छौ?”
पत्रुसले जवाफ दिए, “परमेश्वरका ख्रीष्ट!”
आफ्नो मृत्युबारे येशूको भविष्यवाणी
21येशूले तिनीहरूलाई यो कुरा कसैलाई पनि नभन्नू भनी कडा चेतावनी दिनुभयो। 22अनि उहाँले भन्नुभयो, “मानिसका पुत्रले धेरै कष्टहरू सहनुपर्छ, अनि प्रधानहरू, मुख्य पूजाहारीहरू अनि व्यवस्थाका शिक्षकहरूबाट तिरष्कृत हुनुपर्छ, मारिनुपर्छ र तेस्रो दिनमा जीवित भई उठ्नुपर्छ।”
23त्यसपछि उहाँले तिनीहरू सबैलाई भन्नुभयो: “यदि कोही मेरो चेला हुन चाहन्छ भने, उसले आफैलाई इन्कार गरोस्, र दिनहुँ आफ्नो क्रूस उठाएर मेरो पछि लागोस्। 24किनकि जसले आफ्नो जीवन बचाउने इच्छा गर्छ, त्यसले त्यो गुमाउनेछ, तर जसले मेरो निम्ति आफ्नो जीवन गुमाउँछ, त्यसले यो बचाउनेछ। 25यदि कुनै मानिसले सारा संसार नै हात पारेर आफैलाई नाश पार्छ वा गुमाउँछ भने उसलाई के फाइदा हुन्छ र? 26यदि कोही म र मेरो वचनदेखि शर्माउँछ भने, मानिसका पुत्र पनि आफ्नो महिमामा अनि पिताको र पवित्र स्वर्गदूतहरूको महिमामा आउँदा त्यससँग शर्माउनेछन्।
27“म तिमीहरूलाई साँच्चै भन्दछु, यहाँ उपस्थित भएकाहरूमध्ये कतिले परमेश्वरको राज्य आएको नदेखुन्जेल मृत्यु चाख्नेछैनन्।”
प्रभु येशूको रूप परिवर्तन
28येशूले यो कुरा भन्नुभएको करीब आठ दिनपछि पत्रुस, याकोब र यूहन्नालाई आफ्नो साथमा लिएर प्रार्थना गर्नलाई उहाँ एउटा अग्लो पर्वतमा चढ्नुभयो। 29उहाँले प्रार्थना गरिरहनुहुँदा उहाँको अनुहारको रूप बदलियो, र उहाँको लुगा बिजुली चम्केको जस्तो उज्ज्वल भयो। 30दुई व्यक्ति, मोशा र एलिया,#9:30 धेरै वर्ष पहिले मोशाले इस्राएलीहरूलाई इजिप्ट देशदेखि अगुवाइ गरेका थिए भने, एलिया पनि धेरै पहिलेका एक महान् अगमवक्ता हुन्। येशूसँग बातचित गर्दै महिमित अवस्थामा देखा परे। 31तिनीहरूले उहाँको बिदाइको बारेमा बोलिरहेका थिए, जुन कुरा उहाँले अब यरूशलेममा पूरा गर्न लाग्नुभएको थियो। 32पत्रुस र तिनका साथीहरू निन्द्राले लट्ठ भएका थिए, तर जब तिनीहरू पूर्ण रूपले बिउँझे, तब तिनीहरूले उहाँको महिमा र उहाँसँग उभिरहेका दुईजनालाई देखे। 33मानिसहरू येशूबाट बिदा भएर जान लाग्दा पत्रुसले उहाँलाई भने, “गुरुज्यू, हामीलाई यहीं रहनु असल छ। हामी तीनओटा वासस्थान बनाऔं; एउटा तपाईंको लागि, एउटा मोशाको लागि अनि एउटा एलियाको लागि।” आफूले के बोलेका थिए, सो कुराको तिनलाई ख्यालै थिएन।
34तिनी बोलिरहेकै बेलामा, एउटा बादल देखा पर्यो, र तिनीहरूलाई ढाक्यो, र बादलभित्र प्रवेश गर्दा तिनीहरू डराए। 35बादलबाट यसो भन्ने आवाज आयो, “यिनी मेरा पुत्र हुन्, जसलाई मैले छानेको हुँ, यिनको कुरा सुन!” 36यो आवाज बोलिएपछि, त्यहाँ येशू एकलै हुनुभएको तिनीहरूले देखे। चेलाहरूले यो घटनाका कुरा आफैमा मात्र राखे, र आफूले देखेका कुरा त्यस समयमा तिनीहरूले अरू कसैलाई भनेनन्।
दुष्ट आत्मा लागेको केटो निको भएको
37भोलिपल्ट, जब उहाँहरू पहाडबाट तल आउनुभयो, एउटा ठूलो भीड उहाँलाई भेट्न आयो। 38अनि भीडबाट एउटा मानिसले कराएर भन्यो, “गुरुज्यू, मेरो छोरामाथि कृपादृष्टि गरिदिनुहोस् भनी म विन्ती गर्दछु, किनकि ऊ मेरो एउटै मात्र सन्तानहो। 39एउटा आत्माले उसलाई पक्रन्छ, र ऊ अचानक चिच्याउँछ; त्यस आत्माले उसलाई ऐंठन पार्छ, र उसले मुखबाट फिँज काढ्छ। त्यसले उसलाई मुस्किलले कहिलेकाँही मात्र छोड्छ र त्यसले उसलाई नाश गर्दैछ। 40त्यसलाई निकालिदिनका लागि मैले तपाईंका चेलाहरूलाई विन्ती गरें, तर तिनीहरूले सकेनन्।”
41येशूले जवाफ दिनुभयो, “ए अविश्वासी र भ्रष्ट पुस्ता, म कहिलेसम्म तिमीहरूका साथमा रहूँला र तिमीहरूलाई सहूँ? अनि येशूले त्यो केटोको बुबालाई भन्नुभयो, तिम्रो छोरालाई यहाँ ल्याऊ।”
42त्यो केटो आउँदा-आउँदै भूत आत्माले उसलाई ऐंठन पार्दै भुइँमा पछार्यो। तर येशूले त्यस अशुद्ध आत्मालाई हप्काउनुभयो, केटोलाई निको पार्नुभयो, अनि त्यसलाई बुबाको हातमा दिनुभयो। 43अनि तिनीहरू सबै परमेश्वरको महान्तामा आश्चर्य चकित भए।
येशूले दोस्रो पटक आफ्नो मृत्युको भविष्यवाणी गर्नुभएको
सबैजना येशूले गर्नुभएका सबै कुरामा छक्क परिरहेका बेला येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, 44“मैले तिमीहरूलाई जे भन्दैछु, त्यो ध्यानपूर्वक सुन: मानिसका पुत्रलाई मानिसहरूका हातमा सुम्पिइनेछन्।” 45तर यसको अर्थ के हो, त्यो तिनीहरूले बुझ्न सकेनन्। तिनीहरूले नबुझून् भनी यो कुरा तिनीहरूबाट गुप्त राखिएको थियो; अनि यसको बारेमा उहाँलाई सोध्न तिनीहरू डराए।
46चेलाहरूका बीचमा तिनीहरूमध्ये सबैभन्दा ठूलो को हुने भन्ने विषयमा विवाद सुरु भयो। 47येशूले तिनीहरूका विचार थाहा पाएर एउटा सानो बालकलाई लिनुभयो र आफ्नो छेउमा उभ्याउनुभयो। 48त्यसपछि उहाँले तिनीहरूलाई भन्नुभयो, “जसले यस बालकलाई मेरो नाउँमा ग्रहण गर्छ; त्यसले मलाई नै ग्रहण गरेको हुन्छ, अनि जसले मलाई ग्रहण गर्छ; त्यसले मलाई पठाउनुहुनेलाई ग्रहण गर्छ; किनकि जो तिमीहरूमध्ये सबैभन्दा सानो छ, त्यही नै सबैभन्दा महान् हुन्छ।”
49यूहन्नाले भने, “गुरुज्यू, हामीले एकजना मानिसलाई तपाईंको नाउँमा भूतहरू निकालिरहेको देख्यौं, र हामीले त्यसलाई रोक्यौं, किनकि ऊ हाम्रो समूहको होइन।”
50येशूले भन्नुभयो, “त्यसलाई नरोक; किनकि जो तिम्रो विरुद्धमा छैन, त्यो तिम्रो पक्षमा हुन्छ।”
सामरीहरूको विरोध
51जब उहाँको स्वर्ग उठाइलगिने दिन नजिक आउँदैथियो, तब येशूले यरूशलेमतिर जाने निश्चय गर्नुभयो। 52अनि उहाँले समाचार लाने मानिसहरूलाई अघि-अघि पठाउनुभयो; जो उहाँको निम्ति सबै कुरा तयार पार्न सामरीहरूको एउटा गाउँमा गए, 53तर त्यहाँका मानिसहरूले उहाँ यरूशलेम जान लाग्नुभएको हुनाले उहाँलाई स्वागत गरेनन्। 54उहाँका चेलाहरू याकोब र यूहन्नाले यो देखेपछि उहाँलाई सोधे, “प्रभु, के यिनीहरूलाई भस्म गर्न एलियाझैं हामीले स्वर्गबाट आगो बर्सने आज्ञा गरौं भन्ने तपाईं चाहनुहुन्छ?” 55तर येशूले फर्केर तिनीहरूलाई हप्काउनुभयो, 56र उहाँहरू अर्कै गाउँतिर जानुभयो।
येशूलाई पछ्याउँदा चुकाउनुपर्ने मूल्य
57उहाँहरू बाटोमा हिँडिरहनुभएको बेला, एकजना मानिसले उहाँलाई भन्यो, “तपाईं जहाँ जानुभए तापनि म तपाईंलाई पछ्याउनेछु।”
58अनि येशूले भन्नुभयो, “फ्याउराहरूका ओडार छन्, र आकाशका चराहरूका गुँड छन्, तर मानिसका पुत्रको त शिर राख्ने ठाउँ पनि छैन।”
59उहाँले अर्को मानिसलाई भन्नुभयो, “मेरो पछि लाग।”
तर त्यसले भन्यो, “प्रभु, पहिले मलाई मेरा बुबाको अन्त्येष्टि गर्न जान दिनुहोस्।”
60येशूले त्यसलाई भन्नुभयो, “अनि मुर्दाले तिनीहरूका आफ्नै मुर्दा गाडून्, तर तिमी जाऊ, र परमेश्वरको राज्यको घोषणा गर।”
61अझै अर्कोले भन्यो, “प्रभु, म तपाईंलाई पछ्याउनेछु, तर पहिले मलाई गएर मेरो परिवारबाट बिदा लिन दिनुहोस्।”
62येशूले जवाफ दिनुभयो, “आफ्नो हात हलोमा राखेर पछिल्तिर फर्केर हेर्ने कुनै पनि मानिस परमेश्वरको राज्यको सेवामा योग्य हुँदैन।”
अहिले सेलेक्ट गरिएको:
लूका 9: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ। सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Nepali Contemporary Version™, New Testament
Copyright © 1998, 2006, 2021 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.