मत्ती 26
26
येशूको विरुद्धमा षड्यन्त्र
1जब येशूले यी सबै कुराहरू बोलिसक्नुभयो, उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, 2“तिमीहरूलाई थाहा भएझैं, निस्तार चाड आउन अब दुई दिन मात्र छ, अनि मानिसका पुत्रलाई क्रूसमा चढाइनको लागि सुम्पिइनेछन्।”
3तब मुख्य पूजाहारीहरू र जनताका प्रधानहरू, कैयाफा नाउँ भएको प्रधान पूजाहारीको महलमा भेला भए। 4अनि तिनीहरूले येशूलाई छल गरेर पक्रने अनि मार्ने षड्यन्त्र गरे। 5तिनीहरूले भने, “तर चाडको समयमा त होइन, नत्र ता कतै मानिसहरूमा दङ्गा होला।”
बेथानीमा येशूको अभिषेक
6येशू बेथानीमा सिमोन नाउँ भएको कुष्ठरोगीको घर हुनुहुँदा, 7एउटी स्त्री संगमरमरको एउटा भाँडोमा अति मूल्यवान् जटामसीको अत्तर लिएर आइन्, अनि उहाँ खान बस्नुभएको बेला उहाँको शिरमा खन्याइन्।
8जब चेलाहरूले यो देखे, तिनीहरू रिसाए। तिनीहरूले भने, “यो किन खेर फालेको? 9यो अत्तर धेरै दाममा बेचेर त्यो पैसा गरिबहरूलाई दिन सकिन्थ्यो।”
10त्यो थाहा पाएर येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू यस स्त्रीलाई किन सताउँछौ? यसले मेरो लागि एउटा असल काम गरेकी छ। 11गरिबहरू त सधैं तिमीहरूसित हुनेछन्, तर तिमीहरूले मलाई त सधैं पाउनेछैनौ। 12जब यो अत्तर यसले मेरो शरीरमा खन्याएर, यसले मलाई गाड्ने तयारीको निम्ति गरेकी छ। 13म तिमीहरूलाई साँच्चै भन्दछु, संसारभरि जहाँ-जहाँ यो सुसमाचार प्रचार गरिनेछ, यस स्त्रीले गरेको कुरा पनि उसको सम्झनाको निम्ति भनिनेछ।”
यहूदा येशूलाई विश्वासघात गर्न राजी भएको
14त्यसपछि बाह्रजनामध्येको एकजना जसलाई यहूदा इस्करियोत पनि भनिन्छ, मुख्य पूजाहारीहरूकहाँ गयो, 15अनि सोध्यो, “यदि मैले येशूलाई तिमीहरूको हातमा सुम्पिदिएँ भने तिमीहरू मलाई के दिन राजी छौ?” तब तिनीहरूले उसको लागि तीसओटा चाँदीका सिक्काहरू गनिदिए। 16त्यस बेलादेखि यहूदाले उहाँलाई पक्राइदिनलाई मौका खोज्न लाग्यो।
प्रभुभोजको स्थापना
17अखमीरी रोटीको चाडको पहिलो दिन चेलाहरू येशूकहाँ आएर सोधे, “हामी कहाँ गएर तपाईंको निम्ति निस्तार चाडको भोज तयार पारौं भन्ने तपाईं चाहनुहुन्छ?”
18उहाँले जवाफ दिनुभयो, “शहरमा कुनै मानिसकहाँ जाओ अनि उसलाई भन, ‘गुरु भन्नुहुन्छ: मेरो तोकिएको समय नजिकै छ। म मेरा चेलाहरूसित तिम्रो घरमा निस्तार चाड मान्नेछु।’ ” 19अनि चेलाहरूले येशूले तिनीहरूलाई आज्ञा गर्नुभएबमोजिम गरे र निस्तार चाडको भोज तयार गरे।
20जब साँझ पर्यो, येशू बाह्रै जनासित टेबुलमा ढल्किरहनुभएको थियो। 21अनि उहाँहरूले खाइरहनुहुँदा उहाँले भन्नुभयो, “म तिमीहरूलाई साँच्चै भन्दछु, तिमीहरूमध्येकै एक जनाले मलाई धोका दिनेछ।”
22तिनीहरू अति दुःखी भए अनि एकपछि अर्को गर्दै तिनीहरूले उहाँलाई भने, “प्रभु, त्यो निश्चय म ता होइन?”
23अनि येशूले जवाफ दिनुभयो, “जसले आफ्नो हात मसित कचौरामा चोपेको छ, त्यसैले मलाई धोका दिनेछ। 24मानिसको पुत्र त मेरो विषयमा लेखिएअनुसार नै जानेछु। तर धिक्कार त्यस मानिसलाई जसले, मानिसका पुत्रलाई धोका दिनेछ! त्यो ता नजन्मिएकै भए त्यसको लागि असल हुनेथियो।”
25तब उहाँलाई धोका दिने यहूदाले भन्यो, “हे गुरु, त्यो निश्चय म ता होइन?”
येशूले जवाफ दिनुभयो, “तिमी नै हौ।”
26जब उहाँहरू खाइरहनुभएको थियो, येशूले रोटी लिएर धन्यवाद दिनुभयो, अनि भाँच्नुभयो र यसो भन्दै चेलाहरूलाई दिनुभयो, “लेओ र खाओ; यो मेरो शरीर हो।”
27त्यसपछि उहाँले कचौरा लिएर धन्यवाद दिनुभयो, अनि यसो भन्दै तिनीहरूलाई दिनुभयो, “तिमीहरू सबैले यसबाट पिओ। 28यो करारको मेरो रगत हो, जो धेरैको पाप क्षमाको लागि बहाइन्छ। 29म तिमीहरूलाई भन्दछु, जुन दिन म तिमीहरूसित मेरा पिताको राज्यमा यसलाई नयाँ गरी पिउँदिनँ, तबसम्म म दाखको फलबाट पिउनेछैनँ।”
30एउटा भजन गाइसक्नुभएपछि, उहाँहरू त्यहाँबाट निस्केर जैतुन डाँडातिर जानुभयो।
येशूद्वारा पत्रुसको इन्कारबारे पूर्वसूचना
31तब येशूले तिनीहरूलाई भन्नुभयो, “यसै रात मेरो कारणले तिमीहरू पछि हटिजानेछौ, किनकि यसरी लेखिएको छ:
“ ‘म गोठालोलाई प्रहार गर्नेछु,
अनि बगालका भेडाहरू तितरबितर हुनेछन्।’#26:31 जक 13:7
32तर म जीवित भई उठेपछि, म तिमीहरूभन्दा अघि गालीलमा जानेछु।”
33पत्रुसले जवाफ दिए, “यदि तपाईंको कारण सबैले त्यागे तापनि मैले कहिले पनि त्याग्नेछैनँ।”
34येशूले जवाफ दिनुभयो, “म तिमीलाई साँच्चै भन्दछु, आज राती नै भाले बास्नुअघि तिमीले मलाई तीनपल्ट इन्कार गर्नेछौ।”
35तर पत्रुसले भने, “म तपाईंसित मर्नुपरे तापनि म तपाईंलाई कहिल्यै इन्कार गर्नेछैनँ।” अनि अरू सबै चेलाहरूले पनि त्यसै भने।
गेतसमनीमा येशूको प्रार्थना
36तब येशू आफ्ना चेलाहरूसित गेतसमनी भनिने एउटा ठाउँमा जानुभयो र उहाँले तिनीहरूलाई भन्नुभयो, “म अलि पर गएर प्रार्थना गर्नेछु। तिमीहरू यहीं बसिरहो।” 37उहाँले पत्रुस अनि जब्दीका दुई छोराहरूलाई आफूसित लानुभयो, अनि उहाँ दुःखित र विचलित हुन थाल्नुभयो। 38तब उहाँले तिनीहरूलाई भन्नुभयो, “मेरो प्राण दुःखले मरेतुल्य भएको छ। यहीं बस र मसित जागा रहो।”
39अलि पर गएर उहाँले भुइँमा घोप्टो परेर प्रार्थना गर्नुभयो, “हे मेरा पिता, यदि सम्भव भए यो कचौरा मदेखि हटाइयोस्, तरै पनि मेरो इच्छा होइन, तर तपाईंकै इच्छाअनुसार होस्।”
40तब उहाँ आफ्ना चेलाहरूकहाँ फर्कनुभयो अनि तिनीहरूलाई निदाइरहेका भेट्टाउनुभयो। उहाँले पत्रुसलाई सोध्नुभयो, “के तिमीहरू मसित एक घण्टा पनि जागा रहन सकेनौ? 41जागा रहो अनि प्रार्थना गर, ताकि तिमीहरू परीक्षामा नपर। आत्मा त तयार छ, तर शरीर कमजोर छ।”
42उहाँ दोस्रोपल्ट पर जानुभयो अनि प्रार्थना गर्नुभयो, “हे मेरा पिता, यदि मैले नपिइकन यो कचौरा हटाइनु सम्भव छैन भने, तपाईंको इच्छा पूरा होस्।”
43जब उहाँ फर्केर आउनुभयो, उहाँले फेरि तिनीहरू निदाइरहेका भेट्टाउनुभयो, किनकि तिनीहरूका आँखा लोलाएका थिए। 44यसकारण उहाँले तिनीहरूलाई छोडेर एकपल्ट फेरि गएर उही शब्दहरू दोहोर्याई प्रार्थना गर्नुभयो।
45तब उहाँ चेलाहरूकहाँ फर्कि आएर तिनीहरूलाई भन्नुभयो, “के तिमीहरू अझै सुतिरहेका अनि विश्राम गरिरहेका छौ? हेर, समय आइपुगेको छ, अब मानिसका पुत्रलाई पापीहरूको हातमा सुम्पिइँदैछन्। 46उठ! हामी जाऔं! हेर मलाई पक्राइदिने आउँदैछ!”
येशू पक्राइनुभएको
47उहाँ बोलिरहनुभएकै बेला, बाह्रजनामध्येको एकजना यहूदा आइपुग्यो। ऊसित मुख्य पूजाहारीहरू र समाजका प्रधानहरूद्वारा पठाइएको ठूलो भीड हातमा तरवार र लाठीहरू लिएर आएको थियो। 48अब त्यस धोकेबाजले तिनीहरूसित एउटा सङ्केत मिलाएको थियो: “म जसलाई म्वाइँ खान्छु, तिनी नै ती मानिस हुन्; तिनैलाई पक्राउ गर।” 49यहूदा तुरुन्तै येशूकहाँ गयो, अनि “गुरुज्यू, अभिवादन!” भनेर उहाँलाई म्वाइँ खायो।
50येशूले त्यसलाई भन्नुभयो, “मित्र, तिमी जे गर्न आयौ त्यो गरिहाल।”
तब ती मानिसहरू अघि बढेर, येशूलाई पक्रे र गिरफ्तार गरे। 51त्यसो हुँदा येशूसित हुनेहरूमध्ये एक जनाले आफ्नो तरवार निकाले अनि प्रधान पूजाहारीको सेवकलाई प्रहार गर्यो र उसको कान च्वाट्टै काटिदियो।
52येशूले तिनलाई भन्नुभयो, “तिम्रो तरवार त्यसकै ठाउँमा राख; किनकि जसले तरवार लिन्छ, त्यो तरवारद्वारा नै नष्ट हुनेछ। 53तिमीहरू के सम्झन्छौ, के म आफ्ना पितासित मेरो अधीनतामा बाह्र पल्टनभन्दा बढी दूतहरू झट्टै राखिदिनको लागि विन्ती गर्न सक्दिनँ र? 54तर त्यसो भयो भने धर्मशास्त्रमा यस्तै हुनुपर्छ भन्ने कुरा कसरी पूरा हुने त?”
55त्यस बेला येशूले त्यस भीडलाई भन्नुभयो, “के म एउटा राजद्रोहको अगुवाइ गरिरहेको छु, र तपाईंहरू मलाई पक्रन तरवार र लाठीहरू लिएर आउनुभयो? म ता दिनहुँ मन्दिरको चोकमा सिकाउँदै बस्थें, अनि तपाईंहरूले मलाई पक्रनुभएन। 56तर यी सबै अगमवक्ताहरूले लेखेका कुराहरू पूरा हुनालाई नै भएका हुन्।” तब सबै चेलाहरू उहाँलाई त्यागेर भागिहाले।
महासभाको सामुन्ने येशू
57येशूलाई पक्रनेहरूले उहाँलाई प्रधान पूजाहारी कैयाफाकहाँ लगे, जहाँ व्यवस्थाका शिक्षकहरू र प्रधानहरू भेला भएका थिए। 58तर पत्रुसचाहिँ उहाँलाई टाढैबाट पछ्याउँदै प्रधान पूजाहारीको चोकसम्मै गए। तिनी भित्र पसेर के हुँदोरहेछ भनी हेर्नलाई सिपाहीहरूसित बसे।
59मुख्य पूजाहारीहरू र सम्पूर्ण महासभाले येशूलाई मार्नको लागि उहाँको विरुद्धमा झूटा प्रमाणहरू खोजिरहेका थिए। 60तर धेरै झूटा साक्षीहरू अघि सरेर आए तापनि तिनीहरूले एउटै पनि पाएनन्।
आखिरमा दुईजनाले अघि सरेर 61घोषणा गरे, “यस मानिसले भन्यो, ‘म परमेश्वरको मन्दिरलाई भत्काएर यसलाई तीन दिनमा फेरि बनाउन सक्छु।’ ”
62तब प्रधान पूजाहारी उठे र येशूलाई भने, “के तँ जवाफ दिँदैनस्? यी मानिसहरूले तेरो विरुद्धमा दिएको साक्षी के हो?” 63तर येशू चूप रहनुभयो।
प्रधान पूजाहारीले उहाँलाई भने, “म जीवित परमेश्वरको नाउँमा भन्छु: तँ परमेश्वरको पुत्र ख्रीष्ट होस् भने हामीलाई भन्।”
64येशूले जवाफ दिनुभयो, “हो, जस्तो तपाईंहरूले भन्नुभयो, तर म तपाईंहरू सबैलाई भन्दछु: भविष्यमा तपाईंहरूले मानिसका पुत्रलाई सर्वशक्तिमानको दाहिने हातपट्टि बसिरहेका, र आकाशका बादलहरूमा आइरहेका देख्नुहुनेछ।”
65तब प्रधान पूजाहारीले आफ्नो वस्त्रहरू च्याते अनि भने, “यसले ईश्वरनिन्दा गरेको छ! अब हामीलाई अरू बढ्ता साक्षी किन चाहियो? हेर्नुहोस्, अहिले तपाईंहरूले ईश्वरनिन्दा सुनिहाल्नुभयो। 66तपाईंहरू के विचार गर्नुहुन्छ?”
तब तिनीहरूले जवाफ दिए, “यो मृत्युदण्डको योग्य छ।”
67तब तिनीहरूले उहाँको अनुहारमा थुके अनि मुक्का लगाए। अरूले थप्पड लगाएर 68भने, “हे ख्रीष्ट, हामीलाई अगमवाणी गरेर भन्, तँलाई हिर्काउने को हो?”
पत्रुसले येशूलाई इन्कार गरेको
69अब पत्रुस बाहिरको चोकमा बसिरहेका थिए। अनि एउटी सेविका केटी तिनी भएको ठाउँमा आई, र भनी, “गालीलका येशूसित तिमी पनि थियौ।”
70तर तिनले सबैको सामु यो कुरा इन्कार गरे। तिनले भने, “तिमी के कुरा गरिरहेकी छौ, म केही जान्दिनँ।”
71तब तिनी ढोकाबाहिर गए, जहाँ तिनलाई अर्की सेविका केटीले देखी अनि त्यसले त्यहाँ भएका मानिसहरूलाई भनी, “यो मानिस पनि नासरतको येशूसित थियो।”
72तिनले शपथ खाएर फेरि इन्कार गरे, “म यस मानिसलाई चिन्दिनँ।”
73केही बेरपछि त्यहाँ उभिनेहरूले पत्रुसकहाँ गएर भने, “निश्चय नै तिमी तिनीहरूमध्येका एक हौ, किनकि तिम्रो भाषा-शैलीले त्यही भन्छ।”
74तब तिनले आफूलाई धिक्कार्दै शपथ खाएर तिनीहरूलाई भने, “म यस मानिसलाई चिन्दिनँ।”
तत्कालै भाले बास्यो। 75तब पत्रुसले तिनलाई येशूले यसो भन्नुभएको यो वचन सम्झे, “भाले बास्नुअघि तिमीले मलाई तीनपल्ट इन्कार गर्नेछौ।” अनि तिनी बाहिर गएर धुरुधुरु रोए।
अहिले सेलेक्ट गरिएको:
मत्ती 26: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ। सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Nepali Contemporary Version™, New Testament
Copyright © 1998, 2006, 2021 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.