मत्ती 27:57-66

मत्ती 27:57-66 NCV

साँझ परेपछि अरिमथियाका योसेफ नाम भएका धनी मानिस आए, जो स्वयम् येशूका चेला भएका थिए। तिनले पिलातसकहाँ गएर येशूको लास मागे, र पिलातसले तिनलाई त्यो दिइयोस् भन्‍ने हुकुम गरे। अनि योसेफले लास लगे, र मलमलको सफा लुगाले बेह्रे, अनि आफ्नै नयाँ चिहानमा राखे, जुन चट्टान खोपेर बनाइएको थियो। तिनले चिहानको मुखमा एउटा ठूलो ढुङ्गा गुड्याइदिएर तिनी गए। त्यहाँ चिहानको सामु मरियम मग्दलिनी र अर्की मरियम बसिरहेका थिए। अर्को दिन, अर्थात् तयारीको दिनको भोलिपल्ट, मुख्य पुजारीहरू र फरिसीहरू पिलातसकहाँ गए। तिनीहरूले भने, “हजुर, त्यस ठगले जिउँदो हुँदा ‘म तीन दिनपछि फेरि जीवित भई उठ्नेछु’ भनेको कुरा हामीलाई याद छ। यसकारण तेस्रो दिनसम्म चिहानलाई सुरक्षित राख्ने हुकुम दिनुहोस्। नत्रता त्यसका चेलाहरूले आएर उसको शरीर चोरेर लैजालान्, र मानिसहरूलाई ‘उहाँ जीवित भई उठ्नुभएको छ’ भन्लान्। यो अन्तिम धोकाचाहिँ पहिलोभन्दा अझ खराब हुनेछ।” पिलातसले जवाफ दिए, “केही पहरेदारहरू लैजाओ, र चिहानलाई तिमीहरूले जानेअनुसार सुरक्षित राख।” यसकारण तिनीहरू गए, र ढुङ्गामा छाप लगाएर पहरेदारहरूलाई राखेर चिहानलाई सुरक्षित बनाए।

मत्ती 27 पढ्नुहोस्