YouVersion लोगो
खोज आइकन

मत्ती 28

28
येशू पुनर्जीवित हुनुभएको
1विश्रामदिनपछि, अर्थात् हप्‍ताको पहिलो दिन एकाबिहानै मरियम मग्दलिनी र अर्की मरियम चिहान हेर्न गए।
2अचानक ठूलो भुइँचालो गयो; किनकि प्रभुका एकजना दूतले स्वर्गबाट ओर्लिआएर चिहानमा गई त्यस ढुङ्गालाई हटाए, अनि तिनी त्यसमाथि बसे। 3तिनको मुहार बिजुली चम्केजस्तो र लुगा हिँउजस्तो सेतो थियो। 4ती पहरादारहरू यति साह्रो डराए कि तिनीहरू काँपेर मरेतुल्य भए।
5ती स्वर्गदूतले ती स्त्रीहरूलाई भने, “नडराओ, किनकि तिमीहरू क्रूसमा टाँगिएका येशूलाई खोज्दैछौ भनी म जान्दछु। 6उहाँ यहाँ हुनुहुन्‍न: उहाँले भन्‍नुभएझैं उहाँ जीवित हुनुभएको छ। आओ र उहाँलाई राखिएको ठाउँ हेर। 7तब झट्टै गई उहाँका चेलाहरूलाई यसो भनिदेओ: ‘उहाँ मरेकोबाट जीवित भई उठ्नुभएको छ अनि तिमीहरूभन्दा अगाडि नै गालीलमा जाँदैहुनुहुन्छ। त्यहाँ तिमीहरूले उहाँलाई देख्नेछौ।’ हेर मैले तिमीहरूलाई भनिदिएको छु।”
8त्यसकारण ती स्त्रीहरू डराएका भए तापनि आनन्दसाथ चिहानबाट हतार-हतार उहाँका चेलाहरूलाई भन्‍नलाई दगुरे। 9अचानक येशूले तिनीहरूलाई भेट्नुभयो, अनि भन्‍नुभयो, “अभिवादन।” तिनीहरू उहाँकहाँ गए, अनि उहाँको पाउ पक्रेर उहाँलाई दण्डवत् गरे। 10तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “नडराओ, गएर मेरा भाइहरूलाई गालीलमा जानू भनिदेओ, त्यहाँ तिनीहरूले मलाई देख्नेछन्।”
पहरादारहरूको खबर
11ती स्त्रीहरू बाटोमा छँदै, पहरादारहरूमध्ये कतिले शहरमा गएर जे भएको थियो, प्रत्येक कुरा मुख्य पूजाहारीहरूलाई भनिदिए। 12जब मुख्य पूजाहारीहरूले प्रधानहरूलाई भेटे, तब एउटा योजना बनाए। तिनीहरूले सिपाहीहरूलाई धेरै घूस दिए, 13अनि भने, “तिमीहरूले ‘उहाँका चेलाहरूले राती हामी सुतेको बेला आएर उहाँलाई चोरेर लगे’ भन्‍नू। 14यदि यो खबर हाकिमकहाँ पुग्यो भने हामी तिनलाई सन्तुष्‍ट पार्नेछौं, र तिमीहरूलाई विपत्तिमा पर्न दिनेछैनौं।” 15यसकारण ती सिपाहीहरूले घूस लगे, अनि तिनीहरूलाई अह्राएबमोजिम गरे। अनि यो कथा यहूदीहरूबीच आजसम्म पनि फैलिएको छ।
महान् आदेश
16तब ती एघारजना चेलाहरू गालीलको त्यो पहाडमा गए, जहाँ येशूले तिनीहरूलाई जानू भन्‍नुभएको थियो। 17अनि तिनीहरूले उहाँलाई देखे, अनि दण्डवत् गरे: तर कतिले त शङ्का गरे। 18तब येशू तिनीहरूकहाँ आउनुभयो अनि भन्‍नुभयो, “स्वर्ग र पृथ्वीमा सारा अधिकार मलाई दिइएको छ। 19यसकारण जाओ र सबै संसारमा गएर चेला बनाओ, अनि तिनीहरूलाई पिता, पुत्र र पवित्र आत्माको नाउँमा बप्‍तिस्मा देओ, 20मैले तिमीहरूलाई आज्ञा दिएका सबै कुराहरू पालन गर्न तिनीहरूलाई सिकाओ। अनि निश्‍चय म सधैं, यस युगको अन्त्यसम्मै तिमीहरूसित छु।”

अहिले सेलेक्ट गरिएको:

मत्ती 28: NCV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्