YouVersion लोगो
खोज आइकन

मत्ती 6:25-34

मत्ती 6:25-34 NCV

“त्यसकारण म तिमीहरूलाई भन्दछु, आफ्नो जीवनको निम्ति तिमीहरू के खाऔंला वा पिऔंला अथवा आफ्नो शरीरको निम्ति के पहिरौंला भनी चिन्ता नगर। के भोजनभन्दा जीवन बढी महत्त्वपूर्ण अनि लुगाभन्दा शरीर बढी महत्त्वपूर्ण होइन र? आकाशका चराहरूलाई हेर: तिनीहरू न ता छर्दछन्, न कटनी गर्दछन्, न ता भकारीमा बटुल्दछन्, तरै पनि तिनीहरूलाई तिमीहरूका स्वर्गीय पिताले खुवाउनुहुन्छ। तिमीहरू तिनीहरूभन्दा धेरै मूल्यवान् छैनौ र? के तिमीहरूमध्ये कसैले चिन्ता गरेर आफ्नो आयुमा एक क्षण थप्न सक्छ र? “अनि लुगाहरूको विषयमा किन फिक्री गर्दछौ? मैदानका लिली फूलहरूलाई हेर, तिनीहरू कसरी बढ्दछन्। तिनीहरूले परिश्रम गर्दैनन् अनि धागो पनि कात्दैनन्, र पनि म तिमीहरूलाई भन्दछु, कि राजा सोलोमन पनि आफ्नो सारा वैभवमा यी फूलहरूमध्ये एउटा जत्ति पनि सिँगारिएका थिएनन्। यदि आज हुने र भोलि आगोमा फालिने मैदानको घाँसलाई त परमेश्‍वरले यसरी आभूषित गर्नुहुन्छ भने, हे अल्पविश्‍वासीहरूहो, उहाँले के तिमीहरूलाई अझ बढी आभूषित गर्नुहुनेछैन र? यसकारण ‘हामी के खाऔंला?’ अथवा ‘हामी के पिऔंला?’ अथवा ‘हामी के लगाऔंला?’ भनी फिक्री नगर। किनकि गैरयहूदीहरू पो यस्ता कुराहरूको पछि लाग्दछन्। तिमीहरूका स्वर्गीय पिताले तिमीहरूलाई यी सबै कुराहरू चाहिन्छ भनी जान्‍नुहुन्छ। तर पहिले परमेश्‍वरको राज्य र उहाँको धार्मिकताको खोजी गर, अनि यी सबै कुराहरू तिमीहरूलाई दिइनेछन्। यसकारण भोलिको फिक्री नगर, किनकि भोलिको फिक्री त्यसैले गर्छ। प्रत्येक दिनको आफ्नै कष्‍ट प्रशस्त छ।

मत्ती 6 पढ्नुहोस्