मर्कूस 15
15
येशू पिलातसको सामुन्ने
1एकाबिहानै, मुख्य पूजाहारीहरू, प्रधानहरू, व्यवस्थाका शिक्षकहरू अनि सम्पूर्ण महासभा मिलीकन एउटा निष्कर्षमा आइपुगे। अनि तिनीहरूले येशूलाई बाँधेर लगे, र पिलातसको हातमा सुम्पिदिए।
2पिलातसले सोधे, “के तिमी यहूदीहरूका राजा हौ?”
येशूले जवाफ दिनुभयो, “हो, तपाईंले भन्नुभएझैं हो।”
3ती मुख्य पूजाहारीहरूले उहाँमाथि धेरै कुराहरूको दोष लगाए। 4यसकारण फेरि पिलातसले उहाँलाई सोधे, “के तिमी केही जवाफ दिँदैनौ? हेर, तिनीहरूले तिम्रो विरुद्धमा कति धेरै कुराहरूमा दोष लगाउँदैछन्।”
5तर येशूले कुनै जवाफ दिनुभएन, अनि पिलातस छक्क परे।
6अब चाडको समयमा मानिसहरूले विन्ती गरेर मागेको एकजना कैदीलाई छोडिदिने चलन थियो। 7झ्यालखानामा अरू विद्रोहीहरूसित एकजना बारब्बा नाउँ भएको मानिस पनि थियो, जसले विद्रोहको समयमा हत्या गरेको थियो। 8अनि भीड आयो, र पिलातसलाई तिनले गर्दैआएको काम गर्ने विन्ती गरे।
9पिलातसले सोधे, “के मैले यहूदीहरूको राजालाई तिमीहरूको निम्ति छोडिदिऊँ भन्ने तिमीहरू चाहन्छौ?” 10किनकि मुख्य पूजाहारीहरूले येशूलाई ईर्ष्याको कारणले नै तिनको हातमा सुम्पेका हुन् भन्ने पिलातसलाई थाहा थियो। 11तर मुख्य पूजाहारीहरूले भीडलाई उक्साएर तिनीहरूले पिलातसलाई बारब्बालाई छोडिदिऊन् भन्न लगाए।
12पिलातसले तिनीहरूलाई सोधे, “त्यसो भए तिमीहरूले यहूदीहरूको राजा भनेकोलाई चाहिँ म के गरूँ?”
13तिनीहरू चिच्याए, “त्यसलाई क्रूसमा टाँग्नुहोस्!”
14पिलातसले सोधे, “किन? यिनले के अपराध गरेका छन्?”
तर तिनीहरू अझ जोडले चिच्याए, “त्यसलाई क्रूसमा टाँग्नुहोस्!”
15भीडलाई सन्तुष्ट पार्ने इच्छाले पिलातसले तिनीहरूका निम्ति बारब्बालाई छोडिदिए, र तिनले येशूलाई कोर्रा लाउन लगाए, अनि उहाँलाई क्रूसमा टाँग्नलाई सुम्पिदिए।
सिपाहीहरूद्वारा येशूको गिल्ला
16सिपाहीहरूले येशूलाई महल (अर्थात्, प्रेटोरियम) भित्र लगे, अनि सिपाहीहरूका जम्मै पल्टनलाई बोलाए। 17तिनीहरूले उहाँलाई एउटा बैजनी रङ्गको वस्त्र लगाइदिए, अनि काँडाहरू बटारेर एउटा मुकुट बनाएर उहाँलाई लगाइदिए। 18अनि तिनीहरूले उहाँलाई “यहूदीहरूको राजाको जय!” भन्दै कराए। 19तिनीहरूले घरी-घरी उहाँको शिरमा निगालोले हिर्काए अनि उहाँलाई थुके। तिनीहरूले उहाँको उपहास गर्दै उहाँको सामुन्ने घुँडा टेकेर झुके। 20अनि उहाँको अपमान गरिसकेपछि, तिनीहरूले त्यो बैजनी वस्त्र फुकालिदिए, र उहाँकै वस्त्र उहाँलाई लगाइदिए। त्यसपछि तिनीहरूले उहाँलाई क्रूसमा टाँग्न लगे।
येशूलाई क्रूसमा टाँगिएको
21अलेक्जेन्डर र रूफसका बुबा, साइरिनीवासी सिमोनलाई, जो गाउँबाट आइरहेका बेला तिनीहरूले उसलाई क्रूस बोक्न कर लगाए। 22तिनीहरूले येशूलाई गलगथा अर्थात् खप्परे भनिने ठाउँमा ल्याए। 23तब तिनीहरूले उहाँलाई नशालु पदार्थ मूर्र मिसाइएको दाखमद्य दिए, तर उहाँले त्यो पिउनुभएन। 24अनि तिनीहरूले उहाँलाई क्रूसमा टाँगे। तिनीहरूले उहाँको वस्त्रहरूका लागि कसले के पाउँदोरहेछ भनेर चिट्ठा हालेर ती भाग गरे।
25तिनीहरूले उहाँलाई क्रूसमा टाँग्दा बिहानको नौ बजेको थियो। 26उहाँको विरुद्धको दोषपत्रमा यसरी लेखिएको थियो:
यहूदीहरूको राजा।
27तिनीहरूले उहाँसित दुई डाँकूहरूलाई पनि क्रूसमा टाँगे, एउटा उहाँको दाहिनेपट्टि र अर्कोचाहिँ उहाँको देब्रेपट्टि। 28अनि धर्मशास्त्रको वचन यसरी पूरा भयो, “उहाँ अपराधीहरूसँग गनिनुभयो।#15:28 प्राचीन पा.लि.हरूमा यो पद पाइँदैन।” 29त्यस ठाउँबाट भएर हिँड्नेहरूले आफ्ना शिर हल्लाउँदै उहाँलाई अपमान गरेर यसो भने, “वाह! तँ मन्दिर भत्काउने र त्यसलाई तीन दिनमा बनाउने! 30क्रूसबाट तल ओर्लेर आइज, अनि आफूलाई बचा!” 31यस्तै किसिमले मुख्य पूजाहारीहरू अनि व्यवस्थाका शिक्षकहरूले आपसमा उहाँको अपमान गरे। तिनीहरूले भने, “यसले अरूलाई त बचायो, तर आफूलाई बचाउन सक्दैन। 32यो ख्रीष्ट, इस्राएलको राजा, अब क्रूसबाट तल ओर्लिआओस् र हामी देखेर विश्वास गरौं।” उहाँसित क्रूसमा टाँगिएकाहरूले पनि उहाँलाई घोर अपमान गरे।
येशूको मृत्यु
33अनि बाह्र बजेदेखि, दिउँसो तीन बजेसम्म सम्पूर्ण देशभरि अन्धकार छायो। 34अनि तीन बजेतिर येशू चर्को सोरले कराउनुभयो, “एलोई, एलोई, लामा सबखथनी?” जसको अर्थ हो, “हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईंले मलाई किन त्याग्नुभयो?”#15:34 भजन 22:1
35छेउमा उभिरहनेहरूमध्ये कतिले जब यो सुने, तिनीहरूले भने, “सुन, यसले एलियालाई बोलाउँदैछ।”
36एकजना मानिस दौडेर गयो, अनि स्पन्जमा सिर्का चोपेर त्यसलाई एउटा निगालोमा लगाएर पिउन भनी येशूलाई दिँदै त्यसले भन्यो, “अब यिनलाई एकलै छोडिदेओ। हेरौं, कतै एलिया आएर यिनलाई उतार्छन् कि।”
37तब येशूले चर्को सोरले कराएर आफ्नो प्राण त्याग्नुभयो।
38अनि मन्दिरको पर्दा टुप्पोदेखि फेदसम्मै दुई भाग भएर च्यात्तियो। 39अनि जब येशूको अघिल्तिर उभिरहेका कप्तानले उहाँको स्वर सुने, अनि उहाँ कसरी मर्नुभयो, त्यो देखेर तिनले भने, “निश्चय यी मानिस परमेश्वरका पुत्र रहेछन्!”
40केही स्त्रीहरू टाढैबाट हेरिरहेका थिए। तीमध्ये मरियम मग्दलिनी, कान्छो याकोब र योसेफकी आमा मरियम अनि सलोमी थिए। 41यी स्त्रीहरूले गालीलमा उहाँको पछि लाग्दै उहाँको खाँचोमा सेवा गरेका थिए। उहाँसित यरूशलेममा आउने अरू धेरै स्त्रीहरू पनि त्यहाँ थिए।
येशूको दफन
42त्यो तयारीको दिन (अर्थात्, विश्रामदिनको अघिल्लो दिन) थियो। यसकारण जब साँझ हुनथाल्यो, 43अरिमथिया निवासी योसेफ, सभाका एकजना प्रमुख सदस्य, जो आफूले परमेश्वरको राज्य पर्खिरहेका थिए, साहससित पिलातसकहाँ गएर येशूको शव मागे। 44उहाँ मरिसक्नुभएको सुनेर पिलातस छक्क परे। कप्तानलाई बोलाएर तिनले उसलाई येशू मर्नुभएको हो कि होइन भनेर सोधे। 45जब कप्तानबाट तिनलाई यो कुरा पक्का भयो, तिनले उहाँको शरीर योसेफलाई लाने अनुमति दिए। 46योसेफले केही मलमलको कपडा किने, उहाँको शवलाई तल झारेर मलमलको लुगामा बेह्रे, अनि त्यसलाई चट्टान खोपेर बनाएको चिहानमा राखे। तब तिनले चिहानको मुखमा एउटा ढुङ्गा गुडाउँदै ल्याएर राखिदिए। 47मरियम मग्दलिनी र योसेफकी आमा मरियमले उहाँ राखिएको ठाउँ देखे।
अहिले सेलेक्ट गरिएको:
मर्कूस 15: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ। सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Nepali Contemporary Version™, New Testament
Copyright © 1998, 2006, 2021 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.