मर्कूस 8
8
येशूले चार हजारलाई खुवाउनुभएको
1ती दिनहरूमा फेरि अर्को एउटा ठूलो भीड जम्मा भयो। तिनीहरूसित खानेकुरा केही नभएकोले, येशूले आफ्ना चेलाहरूलाई आफूकहाँ बोलाएर भन्नुभयो, 2“म यी मानिसहरूलाई टिठ्याउँछु; तिनीहरू हामीसित तीन दिनदेखि छन्, अनि तिनीहरूसित खानेकुरा केही छैन। 3यदि मैले तिनीहरूलाई भोकै घर पठाएँ भने तिनीहरू बाटैमा मूर्छा पर्नेछन्; किनकि तीमध्ये कोही धेरै टाढाबाट आएका छन्।”
4उहाँका चेलाहरूले जवाफ दिए, “तर यस अनकन्टार ठाउँमा तिनीहरूलाई खुवाउन प्रशस्त रोटी कहाँ पाउन सकिएला र?”
5येशूले सोध्नुभयो, “तिमीहरूसित कतिओटा रोटी छन्?”
तिनीहरूले जवाफ दिए, “सातओटा।”
6उहाँले भीडलाई भुइँमा बस्न लाउनुभयो। जब उहाँले ती सातओटा रोटी लिएर परमेश्वरलाई धन्यवाद दिनुभयो, उहाँले ती भाँचेर मानिसहरूमा बाँडिदिनको लागि चेलाहरूलाई दिनुभयो, अनि तिनीहरूले त्यसै गरे। 7तिनीहरूसित केही साना माछाहरू पनि थिए; उहाँले तिनको लागि पनि धन्यवाद दिनुभयो अनि चेलाहरूलाई ती बाँडिदिन अह्राउनुभयो। 8मानिसहरूले खाए, अनि अघाए। त्यसपछि चेलाहरूले उब्रेका टुक्राहरू सात डालाभरि बटुले। 9त्यहाँ प्रायः चार हजार मानिसहरू उपस्थित थिए। अनि तिनीहरूलाई बिदा गरिसकेपछि, 10उहाँ आफ्ना चेलाहरूसित डुङ्गामा चढेर दलमनुथाका क्षेत्रमा जानुभयो।
11अनि फरिसीहरू आएर येशूलाई प्रश्नहरू सोध्न थाले। उहाँलाई जाँच गर्नको लागि तिनीहरूले उहाँसित स्वर्गबाट एउटा चिन्ह मागे। 12उहाँले लामो सास लिएर भन्नुभयो, “किन यस पुस्ताले चमत्कारी चिन्ह माग्छ? म तिमीहरूलाई साँच्चै भन्दछु, यस पुस्तालाई कुनै चिन्ह दिइनेछैन।” 13तब उहाँ तिनीहरूलाई छोडेर डुङ्गामा चढी पारिपट्टि जानुभयो।
फरिसीहरू र हेरोदको खमीर
14आफूसित भएको एउटा मात्र रोटीबाहेक चेलाहरूले अरू रोटी डुङ्गामा ल्याउन बिर्सेका थिए। 15“सावधान!” येशूले तिनीहरूलाई चेतावनी दिनुभयो, “फरिसीहरू अनि हेरोदको खमीरदेखि होसियार रहो।”
16तिनीहरूले यसबारे आपसमा छलफल गरे अनि भने, “यो त हामीसित रोटी छैन भनेर भन्नुभएको हो।”
17तिनीहरूका छलफल थाहा पाएर, येशूले तिनीहरूलाई सोध्नुभयो: “तिमीहरू किन रोटी छैन भनेर कुरा गर्छौ? तिमीहरू अझै देख्तैनौ वा बुझ्दैनौ? के तिमीहरूको हृदय कठोर भएको छ? 18के तिमीहरूका आँखा भएर पनि देख्दैनौ र कान भएर पनि सुन्दैनौ? अनि के तिमीहरू सम्झदैनौ? 19जब मैले पाँच रोटीहरू पाँच हजारका निम्ति भाँचेको थिएँ, तिमीहरूले कति डालाभरि टुक्राटाक्रीहरू उठायौ?”
“बाह्र,” तिनीहरूले भने।
20“अनि जब मैले चार हजारको निम्ति सातओटा रोटीहरू भाँचेको थिएँ, तिमीहरूले कति डालाभरि टुक्राटाक्रीहरू उठायौ?”
“सात,” तिनीहरूले भने।
21उहाँले तिनीहरूलाई भन्नुभयो, “के तिमीहरू अझै बुझ्दैनौ?”
येशूले बेथसेदामा दृष्टिविहीन मानिसलाई निको पार्नुभएको
22उहाँहरू बेथसेदामा आउनुभयो; अनि केही मानिसहरूले एकजना दृष्टिविहीनलाई येशूकहाँ ल्याएर त्यसलाई छोइदिन विन्ती गरे। 23उहाँले त्यस दृष्टिविहीन मानिसलाई आफ्नो हातले समातेर गाउँदेखि बाहिर लानुभयो। जब उहाँले त्यसको आँखामा थुकेर आफ्ना हात त्यसमाथि राख्नुभयो, येशूले सोध्नुभयो, “के तिमी केही देख्छौ?”
24त्यसले मास्तिर हेरेर भन्यो, “म मानिसहरूलाई रूखहरूजस्तो हिँडिरहेको देख्छु।”
25येशूले आफ्ना हात फेरि एकपल्ट त्यस मानिसको आँखामा राख्नुभयो। तब त्यसका आँखाहरू खोलिए, त्यसको दृष्टि फर्केर आयो, अनि त्यसले सबै थोक स्पष्ट गरी देख्यो। 26येशूले त्यसलाई यसो भनेर घर पठाउनुभयो, “गाउँमाचाहिँ जाँदै नजाऊ।”
येशू नै ख्रीष्ट हुनुहुन्छ भनी पत्रुसको स्वीकार
27येशू र उहाँका चेलाहरू कैसरिया फिलिप्पीका गाउँहरूतिर जानुभयो। बाटोमा उहाँले तिनीहरूलाई सोध्नुभयो, “मानिसहरूले म को हुँ भनी भन्छन्?”
28तिनीहरूले जवाफ दिए, “कसैले बप्तिस्मा दिने यूहन्ना भन्छन्, कसैले एलिया भन्छन्; अनि अझै अरूले अगमवक्ताहरूमध्ये एक भनी भन्छन्।”
29उहाँले सोध्नुभयो, “तिमीहरूले नि? तिमीहरू मलाई म को हुँ भन्छौ?”
पत्रुसले जवाफ दिए, “तपाईं ख्रीष्ट#8:29 हिब्रू भाषामा यसको अर्थ अभिषिक्त जन हुन्छ। हुनुहुन्छ।”
30येशूले तिनीहरूलाई आफ्नो विषयमा कसैलाई केही नभनून् भनी चेतावनी दिनुभयो।
येशूले आफ्नो मृत्युको भविष्यवाणी गर्नुभएको
31तब उहाँले तिनीहरूलाई मानिसका पुत्रले धेरै कष्टहरू सहनुपर्छ, अनि प्रधानहरू, मुख्य पूजाहारीहरू अनि व्यवस्थाका शिक्षकहरूबाट तिरष्कृत हुनुपर्छ, मारिनुपर्छ र तेस्रो दिनमा जीवित भई उठ्नुपर्छ भनी सिकाउन थाल्नुभयो। 32उहाँले यस विषयमा स्पष्ट रूपले भन्नुभयो, अनि पत्रुसले उहाँलाई एकातिर लगेर हकार्न लागे।
33तर येशूले फर्केर आफ्ना चेलाहरूतिर हेरेर पत्रुसलाई हकार्नुभयो, “ए शैतान! मबाट टाढा जा,” उहाँले भन्नुभयो, “तेरो मनमा परमेश्वर सम्बन्धी विचारहरू होइनन्, तर मानिसहरू सम्बन्धी विचारहरू छन्।”
येशूलाई पछ्याउँदाको शर्त
34तब उहाँले आफ्ना चेलाहरूसित भीडलाई पनि आफूकहाँ बोलाएर भन्नुभयो: “यदि कोही मेरो चेला हुन चाहन्छ भने, उसले आफैलाई इन्कार गरोस्, र आफ्नो क्रूस उठाएर मेरो पछि लागोस्। 35किनकि जसले आफ्नो प्राण बचाउने इच्छा गर्दछ, उसले त्यो गुमाउनेछ, तर जसले मेरो र सुसमाचारको निम्ति आफ्नो प्राण गुमाउँछ, त्यसले त्यो बचाउनेछ। 36कुनै मानिसले सारा संसार हात पारेर पनि आफ्नो प्राणचाहिँ गुमाउँछ भने उसलाई के फाइदा हुन्छ? 37अथवा कुनै मानिसले आफ्नो प्राणको बदलामा के दिन सक्छ र? 38यस व्यभिचारी र पापी पुस्तामा यदि कोही म र मेरो वचनदेखि शर्माउँछ भने, मानिसका पुत्र पनि आफ्ना पिताको महिमामा पवित्र स्वर्गदूतहरूसित आउँदा त्यससँग शर्माउनेछन्।”
अहिले सेलेक्ट गरिएको:
मर्कूस 8: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ। सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Nepali Contemporary Version™, New Testament
Copyright © 1998, 2006, 2021 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.