भजनसंग्रह 103
103
भजन 103
दावीदको गीत।
1ए मेरो प्राण, याहवेहको प्रशंसा गर्;
ए मेरो सारा अन्तस्करण, उहाँको पवित्र नामको प्रशंसा गर्!
2ए मेरो प्राण, याहवेहको प्रशंसा गर्,
र उहाँका सबै उपकारहरू नबिर्सी—
3जसले तेरा सबै पापहरू क्षमा गर्नुहुन्छ;
र जसले तेरा सबै रोगहरू निको पार्नुहुन्छ;
4जसले तेरो जीवनलाई चिहानबाट छुटाउनुहुन्छ;
र तँलाई प्रेम र करुणासहितको मुकुट लगाइदिनुहुन्छ;
5जसले तेरो जीवनलाई उत्तम कुराहरूले तृप्त गरिदिनुहुन्छ;
ताकि तेरो जवानी चीलको जस्तै नयाँ होस्।
6थिचोमिचोमा परेकाहरू सबैका निम्ति
याहवेहले धार्मिकता र न्यायको काम गर्नुहुन्छ।
7उहाँले आफ्नो मार्ग मोशालाई,
आफ्नो काम इस्राएलीहरूलाई प्रकट गर्नुभयो:
8याहवेह कृपालु र अनुग्रही हुनुहुन्छ,
रिसाउनमा ढिलो र प्रेमले भरिपूर्ण।
9उहाँले सधैँ दोष लगाइरहनुहुन्न,
न त आफ्नो क्रोध सदासर्वदा लिइरहनुहुन्छ;
10उहाँले हामीसित हाम्रा पापअनुसारको व्यवहार गर्नुहुन्न,
न त हाम्रा अधर्मअनुसार हामीलाई बदला लिनुहुन्छ।
11किनकि पृथ्वीबाट स्वर्ग जति उच्च छ,
उहाँका डर मान्नेहरूमाथि उहाँको अचुक प्रेम त्यत्ति नै महान् छ।
12पश्चिमबाट पूर्व जति टाढा छ,
उहाँले हाम्रा अपराधहरू हामीबाट त्यति नै टाढा हटाइदिनुभएको छ।
13जसरी बुबाले आफ्ना छोराछोरीहरूलाई टिठ्याउँछन्,
त्यसरी नै याहवेहले उहाँको भय मान्नेहरूलाई टिठ्याउनुभएको छ;
14किनकि उहाँले हाम्रो बनावट जान्नुहुन्छ,
हामी धुलो मात्र हौँ भनी उहाँ सम्झनुहुन्छ।
15मानिसको आयु घाँसजस्तो छ,
मैदानका फूलझैँ त्यो ढकमक्क फुल्दछ;
16अनि बतास त्यस फूलमाथि भएर जाँदा
त्यो विलाएर जान्छ; र त्यसको ठाउँले पनि त्यसको याद गर्दैन।
17तर याहवेहको अचुक प्रेम,
उहाँको भय मान्नेहरूमाथि अनन्तदेखि अनन्तसम्म रहिरहन्छ
र उहाँको धार्मिकता तिनीहरूका सन्तानहरूका सन्तानहरूमाथि रहन्छ—
18तिनीहरूमाथि जस-जसले उहाँको करार पालन गर्दछन्,
र उहाँका विधिहरू स्मरण गरेर त्यसअनुसार चल्दछन्।
19याहवेहले आफ्नो सिंहासन स्वर्गमा स्थापित गर्नुभएको छ;
र उहाँको प्रभुत्वले सबैमाथि शासन गर्दछ।
20हे उहाँका शक्तिशाली स्वर्गदूतहरू हो,
उहाँका आदेश सुनेर उहाँका योजना पूरा गर्नेहरू हो,
याहवेहको प्रशंसा गर!
21हे उहाँका सारा स्वर्गीय सेनाहरू हो,
उहाँको इच्छाअनुसार काम गर्ने सेवकहरू हो,
याहवेहको प्रशंसा गर।
22हे याहवेहका सारा सृष्टि हो,
उहाँका सबै राज्यमा रहेकाहरू हो, उहाँको प्रशंसा गर!
हे मेरो प्राण, याहवेहको प्रशंसा गर्!
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 103: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.