यूहन्ना 19:31-37
यूहन्ना 19:31-37 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यो दिन तयारीको दिन थियो। यसकारण यहूदीहरूले शबाथमा (विशेष गरी यस शबाथमा, जुनचाहिँ महत्त्वपूर्ण थियो) मृत शरीरहरू क्रूसमा नरहून् भनी पिलातसलाई बिन्ती गरे, र तिनीहरूका खुट्टा भाँचेर तिनीहरूका शरीर लगिऊन् भनी माग गरे। तब सिपाहीहरू आएर उहाँसँग क्रूसमा टाँगिएकाहरूका खुट्टा भाँचे, पहिले एक जनाको, त्यसपछि अर्कोको। जब तिनीहरू येशूकहाँ आए तिनीहरूले देखे, कि उहाँको मृत्यु अघि नै भइसकेको रहेछ, र उहाँका खुट्टा भाँचेनन्। तर सिपाहीहरूमध्ये एक जनाले उहाँको कोखामा भालाले घोच्यो, र तुरुन्तै रगत र पानी निस्क्यो। तिमीहरू पनि विश्वास गर्न सक भनी यो देख्नेले गवाही दिएको हो र उसको गवाही साँचो छ, र साँचो बोल्दछु भनी ऊ जान्दछ। “उहाँको कुनै पनि हड्डी भाँचिनेछैन” भन्ने धर्मशास्त्रको वचन पूरा होस् भनेर यी कुरा हुन आए। अनि फेरि अर्को ठाउँमा धर्मशास्त्र भन्छ, “जसलाई तिनीहरूले घोचेका छन्, तिनीहरूले उहाँलाई हेर्नेछन्।”
यूहन्ना 19:31-37 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यो दिनचाहिँ तयारीको दिन थियो। अनि भोलिपल्ट विशेष शब्बाथ थियो। यहूदीहरूले शब्बाथमा लासहरू क्रूसमा रहेको चाहँदैनथिए। त्यसकारण तिनीहरूले पिलातसलाई तिनीहरूका खुट्टा भाँचेर लास झार्न लगाउन बिन्ती गरे। सिपाहीहरू आएर येशूसँगै क्रूसमा टाँगिएका अरू दुई मान्छेहरूका खुट्टा भाँचिदिए। तर सिपाहीहरू येशूकहाँ आउँदा तिनीहरूले उहाँलाई अगि नै मरिसक्नुभएको भेट्टाए। यसकारण तिनीहरूले उहाँका खुट्टा भाँचेनन्। तैपनि एक जना सिपाहीले चाहिँ भालाले उहाँको कोखामा घोच्यो, र त्यहाँबाट तुरुन्तै रगत र पानी निस्क्यो। यो देख्ने मान्छेले आफ्नो साक्षी दिएको छ, र उसको साक्षी सत्य छ। साँच्चै बोल्दछु भनी उसले जानेकोले तिमीहरूले पनि विश्वास गर्न सक भनेर आफ्नो साक्षी उसले यसरी दिएको हो। “उहाँको एउटै हड्डी पनि भाँचिनेछैन” भन्ने धर्मशास्त्रको वचन पूरा होस् भनेर यी कुराहरू हुन आएको हो। अनि फेरि अर्को ठाउँमा धर्मशास्त्रले भन्दछ, “जसले उहाँलाई घोचेका थिए, तिनीहरूले उहाँलाई हेर्नेछन्।”
यूहन्ना 19:31-37 पवित्र बाइबल (NERV)
यो दिन तयारीको दिन थियो अर्को दिन विशेष विश्रामको दिन थियो। यहूदीहरूले विश्रामको दिन त्यो मृत शरीर क्रूसमा झुण्ड्याई राख्न चाहेनन्। तब तिनीहरूले पिलातसलाई ती मानिसहरूको खुट्टा भाँच्नुका निम्ति आदेश मागे ताकि तिनीहरू छिटो मर्न सकुन्। अनि तिनीहरूको मृत शरीर क्रूसबाट तल झार्न सकियोस्। सिपाहीहरू आए र पहिला येशूको छेऊको क्रूसको मान्छेको खुट्टा भाँचे। त्यसपछि तिनीहरूले क्रूसमा भएको येशूकै छेऊको अर्को मान्छेको खुट्टा भाँचे। तर जब ती सिपाहीहरू येशूको छेऊमा गए, तिनीहरूले देखे उहाँ अघि नै मरिसक्नु भएको थियो। यसैले तिनीहरूले उहाँको खुट्टा भाँचेनन्। तर एकजना सिपाहीले उहाँको कोखामा भालाले घोंचे। रगत र पानी बाहिर निस्कयो। ऊ जसले त्यो देख्यो ऊ गवाही भयो अनि उसको गवाही सत्य छ। उसले जान्दछ कि उसले साँच्चो बोलिरहकोछ। उसले गवाही दिन्छ ताकि तिमीहरूले पनि विश्वास गर्न सक्छौ। यी सबै कुराहरू घटे ताकि धर्मशास्त्र साँच्चो हुन्छः “उहाँको एउटै हड्डी पनि भाँचिनछैन।” अर्को ठाउँमा धर्मशास्त्र भन्छः “मानिसहरूले उनलाई हेर्नछन् जसलाई भालाले रोप्नेछन्।”
यूहन्ना 19:31-37 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्योचाहिँ तयारीको दिन अर्थात् विश्राम दिनको अघिल्लो दिन थियो र निस्तार चाड परेकोले भोलिपल्टको विश्राम दिनचाहिँ विशेष पवित्र दिन थियो। त्यसैले यहूदी अगुवाहरूले ‘त्यो ठूलो दिनमा लाश क्रूसमा राखिछोड्नुहुँदैन’ भन्ने सल्लाह गरे अनि तिनीहरूले पिलातसकहाँ गएर यसरी बिन्ती चढाए, “मृत्युदण्ड पाएकाहरू चाँडै मरून् भनेर तिनीहरूका खुट्टा भाँचेर क्रूसबाट झारियोस्।” तब सिपाहीहरूले पहिले येशूसँग क्रूसमा झुण्ड्याइएका दुई जना मानिसहरूका खुट्टा भाँचिदिए। तर येशूको पनि खुट्टा भाँच्न आँट्दा त उहाँ मरिसक्नुभएको रहेछ। त्यसैले तिनीहरूले उहाँको खुट्टा भाँचेनन्। तैपनि एक जना सिपाहीले उहाँको कोखामा भालाले रोप्यो अनि कोखाबाट रगत र पानी निस्कियो। (तिमीहरूलाई विश्वास लागोस् भनेर यी घटनाहरू आफ्नो आँखाले देख्नेले जस्ताको त्यस्तै भनेका छन् अनि उसको साक्षी सत्य छ)। “उहाँको एउटै पनि हड्डी भाँचिनेछैन” भन्ने धर्मशास्त्रमा लेखिएको त्यो कुरा पूरा हुन आओस् भनेर नै यसो भएको हो। फेरि अर्को ठाउँमा पनि धर्मशास्त्रले यसरी बताउँछ, “आफैंले घोचेकोलाई तिनीहरूले हेर्नेछन्।”