लूका 2:1-5 - सबै संस्करणहरू तुलना गर्नुहोस्
लूका 2:1-5 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
ती दिनमा कैसर अगस्टसले तिनको सारा साम्राज्यमा जनगणना लिनू भन्ने हुकुम जारी गरे। कुरेनियस सिरियाका हाकिम हुँदा यो पहिलो पल्टको जनगणना थियो। सबै जना नाउँ दर्ता गराउन आफ्नो-आफ्नो सहर गए। योसेफ पनि गालीलको नासरतबाट यहूदियाको बेथलेहेम भन्ने दाऊदको सहरमा गए, किनभने तिनी दाऊदका कुटुम्ब र वंशका थिए। नाउँ दर्ता गराउन तिनी आफूसँग मगनी भएकी मरियमलाई साथमा लिएर गए। मरियम गर्भवती थिइन्।
लूका 2:1-5 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
त्यस बेला रोमी महाराजा अगस्टसले ‘राज्यभरिका सबै मानिसहरूको नाउँ लेखेर दर्ता गर्नुपर्छ’ भन्ने हुकुम दिए। यसरी दर्ता गर्नुपर्छ भनेर हुकुम आएको योचाहिँ पहिलोपल्ट थियो। त्यति बेला कुरेनियस् सिरिया इलाकाका बडा-हाकिम थिए। महाराजाको हुकुमअनुसार सबै आ-आफ्ना गाउँ वा सहरमा नाउँ दर्ता गराउन गएँ। त्यति बेला योसेफचाहिँ गालील क्षेत्रको नासरत भन्ने सहरमा बस्थे। तर उनको सहर भने आफ्ना पुर्खा राजा दाऊदको सहर बेथलेहेम थियो किनभने उनी दाऊद कुलका सन्तान थिए। यसैकारण उनी आफ्नो नाउँ लेखाउन बेथलेहेम गए। योसेफसँग मरियमको विवाह गर्ने कुरा पक्का भइसकेकोले उनले तिनलाई पनि सँगै लगे। त्यतिखेर मरियम गर्भवती थिइन्।
लूका 2:1-5 NERV (पवित्र बाइबल)
त्यसैबेला अगस्टस सिजरले रोमको अधिनमा रहेका सबै देशहरूलाई एउटा आदेश पठाए। त्यो आदेश अनुसार जम्मै मानिसले आफ्नो नाउँ पञ्जीकरण गराउनु पर्थ्यो। यो नै पहिलो पल्टको यस्तो जनगणना थियो। कुरेनियस सिरयाको राज्यपाल हुँदा यो भएको हो। जम्मै मानिसहरू आफ्नो शहरहरूमा नाउँ पञ्जीकरण गराउन गए। यूसुफ पनि गालीलको नासरत शहरबाट यहूदियाको बेतलेहेम नामक शहरमा गए। बेतलेहेम शहरलाई दाऊदको शहर भनिन्थ्यो। यूसुफ पञ्जीकरणको लागि मरियमसँगै गए किनभने मरियमसँग उसको विवाह निश्चित भइसकेको थियो। मरियम त्यसबेला गर्भवती थिईन्।
लूका 2:1-5 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती दिनहरूमा रोमी सम्राट सिजर अगस्टसले उनको साम्राज्यमा सबैको जनगणना गरियोस् भन्ने हुकुम जारी गरे। (कुरेनियस सिरिया राज्यका राज्यपाल हुँदा यो पहिलो जनगणना भएको थियो।) नाम दर्ता गर्न सबै आ-आफ्ना सहरमा गए। यसरी योसेफ पनि गालील प्रदेशको नासरत सहरबाट यहूदिया प्रदेशमा, दावीदको सहर बेथलेहेम गए; किनकि उनी दावीदकै घराना र वंशका थिए। उनी आफ्नो नाम दर्ता गर्न मरियमसँगै गए, जसको मगनी उनीसँग भएको थियो, र तिनी गर्भवती थिइन्।