मत्ती 4:23-25
मत्ती 4:23-25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि येशू तिनीहरूका सभाघरहरूमा सिकाउँदै, राज्यको सुसमाचार प्रचार गर्दै, र मानिसहरूमा भएका हरेक किसिमका रोग र शारीरिक दुर्बलता निको पार्दै सारा गालीलभरि घुम्नुभयो। उहाँको कीर्ति सिरियाभरि फिँजियो, र बिरामीहरू, अर्थात् विभिन्न प्रकारका रोग र पीडाले सताइएका, भूत लागेका, र छारेरोग लागेका, र पक्षाघात भएकाहरू सबैलाई मानिसहरूले उहाँकहाँ ल्याए। उहाँले तिनीहरूलाई निको पार्नुभयो। अनि गालील, डेकापोलिस, यरूशलेम, यहूदिया र यर्दन पारिदेखिका ठूला भीड़हरू उहाँको पछि लागे।
मत्ती 4:23-25 नेपाली समकालीन संस्करण (NCV)
येशूले गालील प्रदेशभरि तिनीहरूका सभाघरहरूमा सिकाउँदै, राज्यको सुसमाचार प्रचार गर्दै अनि मानिसहरूका रोग र बिरामीहरू निको पार्दै जानुभयो। उहाँको बारेमा कुरा सारा सिरियाभरि फिँजियो, अनि मानिसहरूले विभिन्न किसिमका रोग लागेकाहरू, धेरै कष्ट भोगेकाहरू, भूत लागेकाहरू, छारेरोग लागेकाहरू अनि पक्षघात भएकाहरूलाई उहाँकहाँ ल्याए, अनि उहाँले तिनीहरूलाई निको पार्नुभयो। गालील प्रदेश, डेकापोलिस, यरूशलेम, यहूदिया प्रदेश अनि यर्दन पारिका मानिसहरूको ठूलो भीड उहाँको पछि लाग्यो।
मत्ती 4:23-25 पवित्र बाइबल (NERV)
येशूले गालीलका सबै ठाउँहरूमा यात्रा गर्नुभयो। उहाँले तिनीहरूको सभाघरहरूमा सिकाउन लाग्नुभयो अनि स्वर्गको राज्यको बारेमा सुसमाचार प्रचार गर्नुभयो। उहाँले मानिसहरूमा भएका हरेक किसिमका रोग र शारीरिक कमजोरीहरूलाई निको पार्नुभयो। उहाँको कीर्ति सिरियाभरि फिँजियो, अनि मानिसहरूले शारीरिक रूपले रोगी भएका सबै रोगीहरूलाई उहाँकहाँ ल्याउन थाले। ती रोगी मानिसहरू अनेक प्रकारका रोग र कष्टले पीडित थिए। कतिजना मानिसहरू एकदमै नराम्रा रोगले पीडित थिए भने कतिजना भूत-प्रेत र पिशाच लागेकाहरू थिए। कतिजना छारेरोग लागेकाहरू र कतिजना पक्षघात भएकाहरू थिए। येशूले तिनीहरू सबैलाई निको पार्नुभयो। धेरै-धेरै मानिसहरूले उहाँलाई पछ्याउन लागे। ती मानिसहरू गालील, डेकापोलिस यरूशलेम, यहूदिया तथा यर्दन नदी पारिका अन्य इलाकाबाट आएकाहरू थिए।
मत्ती 4:23-25 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
येशू गालील क्षेत्रभरि घुम्नुभयो। उहाँ ठाउँ-ठाउँमा भएका सभाघरहरूमा जानुभयो र मानिसहरूलाई शिक्षा दिएर परमेश्वरको राज्य आइसक्न लाग्यो भन्ने सुसमाचार सुनाउनुभयो। उहाँले भेटे जति किसिम-किसिमका रोग लागेका बिरामीहरूलाई निको पार्नुभयो। त्यसो हुँदा गालीलको छेउमा पर्ने सिरिया देशभरि नै उहाँको बारेमा चर्चा चल्यो। मानिसहरूले सबै किसिमका रोग र व्यथाले सताएका बिरामीहरूलाई उहाँकहाँ ल्याए। तिनीहरूमध्ये कसैलाई दुष्टात्मा लागेको थियो, कसैलाई छारे रोग लागेको थियो अनि कोही-कोहीचाहिँ कुँजो थिए। येशूले सबैलाई नै निको पार्नुभयो। धेरै मानिसहरूले उहाँलाई पछ्याए। ती मानिसहरू गालील क्षेत्र, दश सहर भन्ने क्षेत्र, यरूशलेम सहर, यहूदिया क्षेत्र र यर्दन नदीको पारिबाट आएका थिए।