Logoja YouVersion
Ikona e kërkimit

लूका 12

12
चेतावनी र प्रोत्साहन
1यसैक्रममा जब त्यहाँ हजारौंको भीड जम्मा हुन लाग्यो, यहाँसम्म कि एउटाले अर्कालाई कुल्चन लागे, तब येशूले पहिले आफ्ना चेलाहरूसँग यसो भन्दै बोल्न लाग्नुभयो: “फरिसीहरूको खमीरदेखि होसियार रहो, जुन तिनीहरूका कपटीपन हो। 2अब लुकेको कुनै कुरो छैन, जो प्रकट हुनेछैन; र गुप्‍तमा कुनै कुरो छैन, जो थाहा लाग्नेछैन। 3तिमीहरूले अँध्यारोमा जे भनेका छौ, त्यो दिनको उज्यालोमा सुनिनेछ; र भित्री कोठामा तिमीहरूले जे कानेखुशी गरेका छौ, त्यो घरको धुरीबाट प्रचार हुनेछ।
4“मेरा मित्रहरूहो, म तिमीहरूलाई भन्दछु, शरीरलाई मार्ने, तर त्यसपछि अरू केही गर्न नसक्नेहरूसँग नडराओ। 5तर तिमीहरू कोसँग डराउनुपर्छ, म तिमीहरूलाई चेतावनी दिनेछु: उहाँसँग डराओ, जससँग शरीरलाई मारेपछि नरकमा फालिदिने शक्‍ति छ। हो, म तिमीहरूलाई भन्दछु, उहाँसँग नै डराओ। 6के दुई पैसामा पाँचओटा भँगेरा बिक्दैनन् र? तापनि तीमध्ये एउटै पनि परमेश्‍वरद्वारा बिर्सिइएका हुँदैनन्। 7वास्तवमा तिमीहरूका शिरका कपालसमेत गन्ती भइसकेका छन्। नडराओ, तिमीहरू धेरै भँगेराहरूभन्दा बढी मूल्यवान् छौ।
8“म तिमीहरूलाई भन्दछु, जसले मलाई मानिसहरूका सामुन्‍ने स्वीकार गर्दछ, ती हरेकलाई मानिसका पुत्रले पनि परमेश्‍वरका दूतहरूका सामुन्‍ने स्वीकार गर्नेछन्। 9तर जसले मलाई मानिसहरूका सामुन्‍ने अस्वीकार गर्नेछ, परमेश्‍वरका दूतहरूको सामुन्‍ने त्यसलाई पनि अस्वीकार गरिनेछ। 10अनि मानिसका पुत्रको विरुद्धमा बोल्ने हरेकलाई क्षमा हुनेछ, तर जसले पवित्र आत्माको विरुद्धमा निन्दा गर्दछ, त्यो त्यसलाई क्षमा हुनेछैन।
11“जब तिमीहरू सभाघरहरू, शासकहरू र अधिकारीहरूका अघि ल्याइन्छौ, तब कसरी आफ्नो बचाउ गर्ने अथवा तिमीहरूले के बोल्ने भन्‍ने विषयमा फिक्री नगर; 12किनकि तिमीहरूले के बोल्नुपर्ने हो, सो पवित्र आत्माले तिमीहरूलाई त्यसै बेला सिकाउनुहुनेछ।”
मूर्ख धनी मानिसको दृष्‍टान्त
13भीडबाट एक जनाले उहाँलाई भन्यो, “गुरुज्यू, मेरा दाजुलाई भनिदिनुहोस् र तिनले मसँग अंशबण्डा गरिदिऊन्।”
14येशूले जवाफ दिनुभयो, “ए मानिस, कसले मलाई तिमीहरूको न्यायाधीश अथवा सम्पत्ति बाँडिदिने तुल्यायो?” 15त्यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “होसियार रहो! सबै प्रकारका लालचबाट आफूलाई जोगाओ; किनकि मानिसको जीवन उसको धनसम्पत्तिको प्रशस्ततामा रहँदैन।”
16त्यसपछि उहाँले तिनीहरूलाई यो दृष्‍टान्त भन्‍नुभयो: “एउटा धनी मानिसको जमिनले प्रशस्त उब्जनी दियो। 17त्यसले आफ्नो मनमा गुन्‍न थाल्यो, ‘अब म के गरूँ? मेरो अन्‍न राख्ने मसँग ठाउँ छैन।’
18“त्यसपछि त्यसले भन्यो, ‘म यसो गर्नेछु, मैले आफ्ना ढुकुटीहरू भत्काएर झन् ठूला-ठूला बनाउनेछु; र म मेरा सबै अन्‍न र मालसामान त्यहाँ राख्नेछु; 19अनि म आफैलाई भन्‍नेछु, “तेरो निम्ति धेरै वर्षसम्म पुग्ने प्रशस्त सम्पत्ति थुप्रिएका छन्; सुख-चैनको जीवन बिता, खा, पी र मोज गर्।” ’
20“तर परमेश्‍वरले त्यसलाई भन्‍नुभयो, ‘ए मूर्ख! आज राती नै तेरो प्राण तँबाट लिइनेछ; अनि तैंले आफ्नो निम्ति तयार गरेका कुराहरू कसले प्राप्‍त गर्लान्?’
21“आफ्नो निम्ति धनसम्पत्ति थुपार्ने, तर परमेश्‍वरका कुराहरूमा धनी नहुने हरेक मानिसको अवस्था यस्तै हुनेछ।”
चिन्तित नहुनु
22त्यसपछि येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो: “त्यसकारण म तिमीहरूलाई भन्दछु, के खाऔंला भनी आफ्नो जीवनको निम्ति, र के पहिरौंला भनी आफ्नो शरीरको निम्ति चिन्ता नगर। 23भोजनभन्दा जीवन बढी महत्त्वपूर्ण अनि लुगाभन्दा शरीर बढी महत्त्वपूर्ण हुन्छ। 24कागहरूलाई विचार गर: तिनीहरूले न ता छर्दछन्, न कटनी गर्दछन्, तिनीहरूका न ता भण्डार छ, न ढुकुटी नै; तर पनि परमेश्‍वरले तिनीहरूलाई खुवाउनुहुन्छ। तिमीहरू ता चराचुरुङ्गीभन्दा कति धेरै मूल्यवान् छौ! 25तिमीहरूमध्ये कसले चिन्ता गरेर आफ्नो आयुमा एक क्षण थप्न सक्छ? 26त्यसकारण यति सानो काम पनि गर्न सक्दैनौ भने, अन्य कुराहरूको निम्ति तिमीहरू किन चिन्ता गर्दछौ?
27“लिली फूल कसरी हुर्कन्छन्, सो विचार गर। तिनीहरू परिश्रम गर्दैनन्, न धागो कात्छन्; तापनि म तिमीहरूलाई भन्दछु, राजा सोलोमन पनि आफ्नो सारा वैभवमा यी फूलहरूमध्ये एउटा जत्ति पनि सिँगारिएका थिएनन्। 28यदि आज हुने र भोलि आगोमा फालिने मैदानको घाँसलाई त परमेश्‍वरले यसरी आभूषित गर्नुहुन्छ भने, हे अल्पविश्‍वासीहरूहो, उहाँले तिमीहरूलाई झन् कति बढी आभूषित गर्नुहोला! 29अनि के खाऔंला अथवा के पिऔंला भनी त्यसैको खोजीमा मन नलगाओ, त्यस बारेमा चिन्ता नगर। 30किनकि संसारका मानिसहरू पो यस्ता कुराहरूको पछि लाग्दछन्, तर तिमीहरूका पिताले तिमीहरूलाई यस्ता कुराहरू चाहिन्छ भनी जान्‍नुहुन्छ। 31तर उहाँको राज्यको खोजी गर, अनि यी सबै कुराहरू पनि तिमीहरूलाई दिइनेछन्।
32“ए सानो बगाल, नडराओ! किनकि तिमीहरूलाई राज्य दिन तिमीहरूका पिता प्रसन्‍न हुनुभएको छ। 33तिमीहरूका सम्पत्ति बेचेर गरिबहरूलाई देओ। आफ्नो निम्ति कहिल्यै नरित्तिने थैलीहरू अर्थात् स्वर्गमा कहिल्यै नसकिने धन तयार पार, जहाँ चोर आउँदैन र कीराले पनि नाश गर्दैन। 34किनकि जहाँ तिमीहरूको धन हुन्छ, त्यहीं तिमीहरूको मन पनि हुनेछ।
जागा रहनु
35“सेवाको निम्ति सुसज्जित भई तयार बस र तिमीहरूका बत्ती बालिराख, 36अनि ती मानिसहरूजस्ता होओ, जसले तिनीहरूका मालिक विवाह भोजबाट फर्कि आएर ढक्ढक्याउँदा तिनका निम्ति तुरुन्तै ढोका खोलिदिन सकियोस् भनेर आफ्ना मालिकलाई पर्खेर बस्छन्। 37यदि मालिक आउँदा तिनले ती सेवकहरूलाई जागा रहेका भेट्टाए भने तिनीहरूका निम्ति असल हुनेछ। म तिमीहरूलाई साँचो भन्दछु, तिनले सेवा गर्नलाई कम्मर कस्‍नेछन्, तिनीहरूलाई खानको निम्ति टेबुलमा ढल्कन लगाउनेछन्, र आएर तिनीहरूका सेवा गर्नेछन्। 38यदि मालिक मध्यरात अथवा बिहानै आउँदा जसलाई जागा रहेका भेट्टाउँछन्, ती सेवकहरूका निम्ति असल हुनेछ। 39तर यो बुझिराख: घरका मालिकलाई चोर कति बेला आउँछ भन्‍ने थाहा भएको भए तिनले आफ्नो घर फोरिन दिने थिएनन्। 40तिमीहरू पनि तयार बस, किनकि मानिसका पुत्र तिमीहरूले नचिताएको बेलामा आउनेछन्।”
41अनि पत्रुसले सोधे, “प्रभु, तपाईंले यो दृष्‍टान्त हाम्रा लागि भन्‍नुभएको हो कि सबैका निम्ति?”
42तब प्रभुले जवाफ दिनुभयो, “त्यो विश्‍वासयोग्य र बुद्धिमान् प्रबन्धक को हो, जसलाई त्यसका मालिकले तिनका सेवकहरूलाई ठीक समयमा तिनीहरूले पाउनुपर्ने खानेकुरा दिने कामको जिम्मा दिनेछन्? 43उसका मालिक फर्केर आउँदा उसले त्यसै गरिरहेको भेट्टाए भने त्यस सेवकको लागि असल हुनेछ। 44म तिमीहरूलाई साँचो भन्दछु, तिनले त्यसलाई आफ्ना सारा सम्पत्तिमाथि अधिकार दिनेछन्। 45तर मानौं, त्यस सेवकले आफ्नो मनमा ‘मेरो मालिक आउन ढिलो गर्नेछन्,’ भन्यो र त्यसले सेवक सेविकाहरूलाई पिट्न लाग्यो र खाएर, पिएर मात्न लाग्यो भने, 46त्यस सेवकका मालिक त्यसले नचिताएको दिनमा र त्यसलाई थाहै नभएको समयमा आइपुग्नेछन्। तब तिनले त्यसलाई टुक्रा-टुक्रा पारेर काट्नेछन् र त्यसलाई अविश्‍वासीहरूको स्थान दिनेछन्।
47“त्यो सेवक जसले आफ्ना मालिकको इच्छा जान्दछ, र पनि तयार रहँदैन अथवा त्यसका मालिकको इच्छाअनुसार गर्दैन भने त्यसले धेरै पिटाइ खानेछ। 48तर जसले मालिकको इच्छा नजानेर नै दण्डनीय काम गर्छ, त्यसले थोरै पिटाइ खानेछ। हरेक जसलाई धेरै दिइएको छ, त्यसबाट धेरै नै मागिनेछ; अनि जसलाई धेरै कुराहरू सुम्पिएका छन्, त्यसबाट अझ बढी लिइनेछ।
शान्ति होइन, तर विभाजन
49“म यस पृथ्वीमा आगो खन्याउन आएको हुँ, बरु त्यो अघिबाटै सल्किसकेको भए हुनेथियो! 50तर मैले लिनुपर्ने एउटा बप्‍तिस्मा#12:50 येशूले पछि भोग्नुपर्ने दुःखको बारेमा भनिएको हो छ, अनि त्यो पूरा नभएसम्म म अति व्याकुल छु! 51के तिमीहरूले म पृथ्वीमा शान्ति ल्याउन आएँ भन्‍ने विचार गर्दछौ? म तिमीहरूलाई भन्दछु, होइन; म त बरु विभाजन ल्याउन आएँ। 52अबदेखि एउटा पाँचजनाको परिवारमा एकको विरुद्ध अर्को गरी विभाजन हुनेछ, तीनजनाका विरुद्ध दुई, र दुईजनाका विरुद्ध तीन। 53तिनीहरूमा विभाजन हुनेछ; बुबा छोराको विरुद्धमा र छोरा बुबाको विरुद्धमा, आमा छोरीको विरुद्धमा र छोरी आमाको विरुद्धमा, सासू बुहारीको विरुद्धमा र बुहारी सासूको विरुद्धमा।”
समयको लक्षण
54उहाँले भीडलाई भन्‍नुभयो: “तिमीहरूले पश्‍चिमतिर बादल उठ्ने गरेको देखेर तुरुन्तै भन्दछौ, ‘पानी पर्छ,’ र त्यस्तै हुन्छ। 55अनि दक्षिणी बतास चल्दा तिमीहरू भन्छौ, ‘अब गर्मी हुन्छ,’ र त्यस्तै हुन्छ। 56ए कपटीहरूहो! पृथ्वी र आकाशको अवस्था हेरेर दिन कस्तो हुनेछ भनी अर्थ लाउनसक्छौ, तर यो वर्तमान समयको अर्थ लगाउन तिमीहरू किन जान्दैनौ?
57“कुन कुरा ठीक हो भनी तिमीहरूले आफ्नै निम्ति किन निर्णय गर्दैनौ? 58तिमीहरूका विरोधीसित हाकिमकहाँ जाँदै गर्दा ऊसँग बाटोमा हुँदै मिलाप गर्न भरमग्दूर प्रयास गर, नत्र ता त्यसले तिमीलाई तानेर न्यायाधीशकहाँ लैजानेछ र न्यायाधीशले तिमीलाई अधिकारीको जिम्मामा लगाउनेछ, र अधिकारीले तिमीलाई झ्यालखानामा हालिदिनेछ। 59म तिमीहरूलाई भन्दछु, एक-एक पैसा नतिरून्जेल तिमी त्यहाँबाट बाहिर निस्कन पाउनेछैनौ।”

Aktualisht i përzgjedhur:

लूका 12: NCV

Thekso

Ndaje

Copy

None

A doni që theksimet tuaja të jenë të ruajtura në të gjitha pajisjet që keni? Regjistrohu ose hyr