YouVersion Logo
Search Icon

१ कोरिन्थी 15

15
ख्रीष्‍टको पुनरुत्थान
1भाइ हो, मैले तिमीहरूलाई प्रचार गरेको सुसमाचार म तिमीहरूलाई याद दिलाउन चाहन्‍छु, जुन सुसमाचार तिमीहरूले ग्रहण गर्‍यौ, र जसमा तिमीहरू स्‍थिर रहन्‍छौ। 2यस सुसमाचारद्वारा तिमीहरूको उद्धार भएको छ, यदि त्‍यसमा तिमीहरू अटल रह्यौ भने, नत्रता तिमीहरूले व्‍यर्थैमा विश्‍वास गर्‍यौ।
3किनभने मैले जे पाएँ त्‍यसैलाई सबैभन्‍दा मुख्‍य विषयको रूपमा तिमीहरूलाई सुम्‍पिदिएँ, अर्थात्‌ पवित्र धर्मशास्‍त्रअनुसार ख्रीष्‍ट हाम्रा पापका निम्‍ति मर्नुभयो। #यशै ५३:५-१२ 4उहाँ गाडिनुभयो, र पवित्र धर्मशास्‍त्रअनुसार तेस्रो दिनमा उहाँ पुनर्जीवित पारिनुभयो।#भज १६:८-१०; मत्ती १२:४०; प्रे २:२४-३२ 5उहाँ केफासकहाँ, अनि बाह्रै जनाकहाँ देखा पर्नुभयो।#मत्ती २८:१६-१७; मर्क १६:१४; लूक २४:३४,३६; यूह २०:१९ 6त्‍यसपछि उहाँ एकै समयमा पाँच सयभन्‍दा बढ़ी भाइहरूकहाँ एकसाथ देखा पर्नुभयो, जसमध्‍ये धेरैजसो अहिलेसम्‍म छँदैछन्‌ तर कोही-कोही सुतिसकेका छन्‌। 7त्‍यसपछि याकूब र सबै प्रेरितहरूकहाँ उहाँ देखा पर्नुभयो। 8सबैभन्‍दा अन्‍त्‍यमा असमयमा जन्‍मेको मानिसकहाँ जस्‍तो मकहाँ पनि उहाँ देखा पर्नुभयो।#प्रे ९:३-६
9किनकि प्रेरितहरूमध्‍ये म सबैभन्‍दा तुच्‍छ हुँ। म प्रेरित भनिन योग्‍य छैनँ। किनभने मैले परमेश्‍वरको मण्‍डलीलाई खेदो गरें।#प्रे ८:३ 10तर म जो छु, त्‍यो परमेश्‍वरको अनुग्रहले छु, र ममाथि भएको उहाँको अनुग्रह व्‍यर्थ भएन। बरु मैले त तिनीहरू सबैले भन्‍दा बढ़ी परिश्रम गरें। तैपनि मैले होइनँ, मसँग भएका परमेश्‍वरको अनुग्रहले हो। 11यसकारण मैले भए पनि अथवा तिनीहरूले भए पनि, हामी जो प्रचार गर्दछौं, सो तिमीहरूले विश्‍वास गरेका छौ।
मृतकहरूको पुनरुत्‍थान
12मृतकहरूबाट ख्रीष्‍ट पुनरुत्‍थान हुनुभयो भनी प्रचार गरिन्‍छ भने कसरी तिमीहरूमध्‍ये कसै-कसैले मृतकको पुनरुत्‍थान हुँदैन भनी भन्‍न सक्‍छौ? 13तर यदि मृतकहरूको पुनरुत्‍थान हुँदैन भनेता ख्रीष्‍ट पनि मृतकबाट पुनर्जीवित पारिनुभएको होइन। 14यदि ख्रीष्‍ट मृतकबाट पुनर्जीवित पारिनुभएको होइन भनेता हाम्रो प्रचार व्‍यर्थ हुन्‍छ, र तिमीहरूको विश्‍वास पनि व्‍यर्थ हुन्‍छ। 15त्‍यसभन्‍दा बढ़ी हामी परमेश्‍वरको बारे झूटा साक्षीहरू ठहरिन्‍छौं, किनकि उहाँले ख्रीष्‍टलाई मृतकबाट पुनर्जीवित पार्नुभयो भनी हामीले परमेश्‍वरको बारे गवाही दिएका छौं। तर साँच्‍चै मृतकहरूको पुनरुत्‍थान हुँदैन भने उहाँले ख्रीष्‍टलाई पुनर्जीवित पार्नुभएन। 16किनकि यदि मृतकहरूको पुनरुत्‍थान नहुने भए ता ख्रीष्‍ट पनि मृतकबाट जीवित पारिनुभएन। 17ख्रीष्‍ट पुनर्जीवित पारिनुभएन भने तिमीहरूको विश्‍वास व्‍यर्थ छ, र तिमीहरू अझसम्‍म आफ्‍ना पापमा नै छौ। 18तब त ख्रीष्‍टमा सुतिगएकाहरू पनि नष्‍ट भएका छन्‌। 19यदि यस जीवनको लागि मात्र ख्रीष्‍टमा हामीले आशा राखेका हौं भने हामी सबै मानिसहरूभन्‍दा बढ़ी दयनीय हुन्‍छौं।
20वास्‍तवमा ख्रीष्‍ट मृतकहरूबाट जीवित हुनुभएको छ। सुतिजानेहरूमध्‍येमा उहाँचाहिँ प्रथम फल हुनुहुन्‍छ। 21किनकि जसरी मानिसबाट मृत्‍यु आयो, त्‍यसरी नै मृतकहरूको पुनरुत्‍थान पनि मानिसबाट नै आयो। 22किनकि जसरी आदममा सबै मर्दछन्, त्‍यसै गरी ख्रीष्‍टमा सबै जीवित पारिनेछन्‌। 23तर हरेक आ-आफ्‍नै क्रमअनुसार— ख्रीष्‍टचाहिँ अगौटे फल, त्‍यसपछि उहाँको पुनरागमनमा ख्रीष्‍टका आफ्‍नैहरू। 24तब अन्‍त्‍य आउनेछ, जब उहाँले हरेक शासन, हरेक अख्‍तियार र शक्ति नष्‍ट पारेर परमेश्‍वर, अर्थात्‌ पितालाई राज्‍य सुम्‍पिदिनुहुनेछ। 25किनकि उहाँले आफ्‍ना सारा शत्रुलाई आफ्‍ना पाउमुनि नपारुञ्‍जेल उहाँले राज्‍य गर्नैपर्छ।#भज ११०:१ 26सबैभन्‍दा पछि नष्‍ट पारिने शत्रु मृत्‍यु हो। 27“किनभने परमेश्‍वरले सबै कुरा उहाँका पाउमुनि अधीनमा राख्‍नुभएको छ।” तर यो स्‍पष्‍ट छ, कि “सबै कुरा उहाँको अधीनमा राखिएको छ” भन्‍नाले परमेश्‍वर आफै त्‍यस अधीनतामुनि हुनुहुन्‍न, जसले सबै कुरा ख्रीष्‍टको अधीनमा राखिदिनुभएको हो।#भज ८:६ 28जब सबै कुरा उहाँको अधीनमा ल्‍याइन्‍छन्, तब स्‍वयम्‌ पुत्र उहाँको अधीनमा हुनुहुनेछ, जसले सब थोक उहाँको अधीनतामा राख्‍नुहुन्‍छ, ताकि परमेश्‍वर नै सबै थोकका सर्वेसर्वा होऊन्‌।
29नत्रता मृतकहरूका निम्‍ति बप्‍तिस्‍मा लिएको अर्थ के भयो? मृतकहरू जीवित नपारिने भए ता तिनीहरूका निम्‍ति मानिसहरूले किन बप्‍तिस्‍मा लिन्‍छन्? 30मचाहिँ किन हरघड़ी जोखिममा परिरहेको छु। 31भाइ हो, हाम्रा प्रभु येशूमा तिमीहरूको कारण म गर्व गर्दछु, र म भन्‍न सक्‍तछु, कि प्रतिदिन म मर्दछु। 32मान्‍छेकै कुरा गर्नु हो भने, एफिससमा जङ्गली जनावरसँग मेरो लड़ाइँले मलाई के फाइदा भयो र? मृतकहरू जीवित नहुने भए ता, “हामी खाऔं र पिऔं, किनभने भोलि त हामी मरिहाल्‍छौं!” #यशै २२:१३ 33भ्रममा नपर। खराब सङ्गतले राम्रो चरित्रलाई नष्‍ट पार्छ। 34होशमा होओ, अब उप्रान्‍त पाप नगर। किनकि कतिलाई त परमेश्‍वरको ज्ञानै छैन। तिमीहरूलाई लज्‍जित तुल्‍याउनलाई मैले यो भनेको हुँ।
पुनरुत्‍थान भएको शरीर
35तर कसैले सोध्‍ला “मृतकहरू कसरी पुनर्जीवित हुन्‍छन्, र तिनीहरू कस्‍ता किसिमको शरीर लिएर आउनेछन्‌?” 36हे मूर्ख! जे तिमी रोप्‍तछौ त्‍यो नमरिकन सजीव हुँदैन। 37जे तिमी रोप्‍तछौ त्‍योचाहिँ पछि हुने शरीर होइन, तर बीउ मात्र रोप्‍तछौ, चाहे त्‍यो गहूँ, अथवा अरू कुनै किसिमको अन्‍न होस्‌। 38तर आफूलाई खुशी लागेबमोजिम परमेश्‍वरले त्‍यसलाई एउटा शरीर दिनुहुन्‍छ, र हरेक किसिमको बीउलाई त्‍यसैको शरीर दिनुहुन्‍छ। 39सबै शरीर एकै किसिमका हुँदैनन्‌। मानिसको शरीर एक किसिमको, र जीवजन्‍तुहरूको अर्कै किसिमको, चराहरूको अर्कै किसिमको र माछाहरूको अर्कै किसिमको शरीर हुन्‍छ। 40अनि शरीर पनि स्‍वर्गीय र पार्थिव हुन्‍छन्‌। स्‍वर्गीय शरीरको तेज एक किसिमको छ, र पार्थिव शरीरको तेज अर्कै किसिमको। 41सूर्यको तेज एक किसिमको, चन्‍द्रमाको तेज अर्कै किसिमको, र ताराहरूको तेज अर्कै किसिमका हुन्‍छन्‌। किनभने एउटा तारा अर्को ताराभन्‍दा तेजमा भिन्‍दै हुन्‍छ।
42मृतकहरूको पुनरुत्‍थान पनि त्‍यस्‍तै हो। जुन शरीर विनाशमा गाडिन्‍छ, त्‍यो अविनाशमा जीवित हुन्‍छ। 43अनादरमा त्‍यो गाडिन्‍छ, महिमामा त्‍यो जीवित हुन्‍छ। दुर्बलतामा त्‍यो गाडिन्‍छ, शक्तिमा त्‍यो जीवित हुन्‍छ। 44प्राकृतिक शरीरमा त्‍यो गाडिन्‍छ, आत्‍मिक शरीरमा त्‍यो जीवित हुन्‍छ।
प्राकृतिक शरीर छ भने आत्‍मिक शरीर पनि अवश्‍य हुन्‍छ। 45यसकारण यस्‍तो लेखिएको छ, “पहिलो मानिस आदम जीवित प्राणी भयो।” अन्‍तिम आदम जीवन दिने आत्‍मा भयो।#उत २:७ 46पहिलोचाहिँ आत्‍मिक होइन, तर प्राकृतिक हो, र त्‍यसपछि चाहिँ आत्‍मिक हो। 47पहिलो मानिस माटोले बनिएको, पृथ्‍वीबाट हो। दोस्रो मानिस स्‍वर्गको हो। 48माटोले बनिएको मानिसजस्‍तो थियो, माटोले बनिएकाहरू पनि त्‍यस्‍तै हुन्‍छन्, र स्‍वर्गीय मानिस जस्‍तो छ, स्‍वर्गकाहरू पनि त्‍यस्‍तै हुन्‍छन्‌। 49जसरी हामीले माटोका मानिसको रूप धारण गरेका छौं, त्‍यसरी नै स्‍वर्गका मानिसको रूप धारण गर्नेछौं।
50अब भाइ हो, म तिमीहरूलाई यो भन्‍दछु, मासु र रगत स्‍वर्गका राज्‍यको हकदार हुन सक्‍दैन, न त विनाश अविनाशको हकदार हुन सक्‍छ। 51हेर, म तिमीहरूलाई एउटा रहस्‍य भन्‍दछु, हामी सबै सुत्‍दैनौं, तर हामी सबैको परिवर्तन हुनेछ,#१ थेस ४:१५-१७ 52एकै क्षणमा, आँखाको एक निमेषमा, तुरहीको आखिरी आवाजमा। किनभने, तुरही बज्‍नेछ, र मृतकहरू अविनाशी भएर जीवित हुनेछन्‌। अनि हाम्रोचाहिँ परिवर्तन हुनेछ। 53किनकि यस विनाशी स्‍वभावले अविनाशी, र यस मरणशील शरीरले अमरत्‍व धारण गर्नुपर्छ। 54जब विनाशीले अविनाशी र मरणशीलले अमरत्‍व धारण गर्छ, तब लेखिएको त्‍यो वचन पूरा हुनेछ, “मृत्‍यु विजयमा निलिएको छ।”#यशै २५:८
55“ए मृत्‍यु, तेरो विजय कहाँ?#होशे १३:१४
ए मृत्‍यु, तेरो खील कहाँ?”
56मृत्‍युको खील पाप हो, र पापको शक्ति व्‍यवस्‍था हो। 57तर परमेश्‍वरलाई धन्‍यवाद होस्, जसले हामीलाई हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा विजय दिनुहुन्‍छ।
58यसकारण मेरा प्रिय भाइ हो, स्‍थिर र अटल रहो। प्रभुको काममा सधैँ बढ्‌दैजाओ। किनकि तिमीहरू जान्‍दछौ, कि प्रभुमा तिमीहरूको परिश्रम व्‍यर्थ हुँदैन।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in