हिब्रू पुस्तक परिचय
पुस्तक परिचय
यस पत्रका लेखक को हुन् भनेर निश्चित थाहा छैन। पावलले आफ्ना पत्रहरूमा नाउँ लेखे जस्तै यस पत्रका लेखकले आफ्नो नाउँ दिएका छैनन्। हिब्रू २:३ अनुसार यसका लेखकले प्रभुले आफ्नै मुखबाट बोल्नुभएका कुरा “सुन्नेहरूद्वारा,” अर्थात् प्रेरितहरूद्वारा मुक्तिको सुसमाचार पाए। पावलले यसरी लेख्ने थिएनन्, किनभने तिनले सीधै प्रभु येशूको मुखबाट कुरा सुनेका थिए (प्रेरित ९:४-६)। यसकारण पावलले यो पत्र लेखेका होइनन् भनी हामी बुझ्न सक्छौं।
यो पत्र ईस्वी सम्बत् ६० र ७० को बीचमा लेखिएको थियो। यी हिब्रूहरू को थिए भन्ने कुरा पनि थाहा छैन। बाइबलका धेरैजसो विद्वानहरूले विचार गर्छन् कि यिनीहरू यहूदी, अर्थात् हिब्रू भाषा बोल्ने ख्रीष्टियानहरू थिए। तर कुन सहरका थिए भन्ने कुरा कसैले पनि जानेका छैनन्।
तर यो पत्र कसले लेखेको, कसलाई पठाएको भन्ने थाहा नभए पनि हामीहरूलाई केही हानि छैन। किनभने हामीलाई यो कुराचाहिँ पक्का थाहा छ कि यो पत्र परमेश्वरको आत्माबाट लेखिएको हो र हामीहरूलाई नै पठाइएको हो।
लेखकले यो पत्र किन लेखेका थिए? परीक्षामा पर्न लागेका कुनै ख्रीष्टियानहरू परीक्षामा नपरुन् भनेर तिनले यो पत्र लेखेका थिए। ती हिब्रू ख्रीष्टियानहरूका कान “मन्द” भएका थिए (५:११), र तिनीहरू “सुस्त” हुन लागेका थिए (६:१२)। मन “शिथिल” भई तिनीहरू “हरेस” खाँदै थिए (१२:३)। तिनीहरूको पहिलेको जागृति र जोश सेलाएको थियो (३:१४; १०:२३,३५)। तिनीहरू विश्वासमा राम्रोसँग बढेका थिएनन् (५:१२-१४)। तिनीहरूले सँगसँगै भेला हुन छाडेका थिए (१०:२५)। तिनीहरूले आफ्ना ख्रीष्टियान अगुवाहरूको विरोध गरे (१३:१७)। तिनीहरूमध्ये कोही-कोही विश्वासबाट पछि हट्न लागेका थिए (३:१२; १०:२६)। अब ती हिब्रूहरूको अवस्था हेरेर, हामीहरू पनि कतिसम्म तिनीहरू जस्तै हुन गएका छौं? हामी आ-आफैलाई जाँचौं। किनभने हामीहरू कुनै कुरामा उही अवस्थामा पुग्न लागेका छौं भने, यो पत्र अवश्य हाम्रा लागि पनि लेखिएको हो।
ती ख्रीष्टियान हिब्रूहरू ठूलो परीक्षामा पर्न आँटेका थिए। तिनीहरू पहिले यहूदी हिब्रूहरू भएका थिए भन्ने विचार सत्य हो भने तिनीहरू ख्रीष्टमा विश्वास छोडेर यहूदी धर्मतर्फ फर्कन लागेका थिए भनेर हामी बुझ्न सक्छौं।
यसकारण लेखकले चार वटा उद्देश्यले यो पत्र लेखेका छन्। पहिलो, तिनले हिब्रूहरूलाई ख्रीष्टबाट आएको अनन्त उद्धारको बारेमा सम्झना दिनलाई लेखेका छन्। दोस्रो, तिनले तिनीहरूलाई ख्रीष्टमा विश्वासद्वारा पाइएका अनगिन्ती र असीम आशिष्हरूका बारेमा याद गराउन लेखेका छन्। तेस्रो, लेखकले तिनीहरूलाई जसरी ख्रीष्टले दुःख भोग्नुभयो त्यसरी तिनीहरूले पनि स्वर्गमा पुग्नुको अघि दुःख भोग्नुपर्छ भनेर सिकाउनलाई यो पत्र लेखेका छन्। अनि चौथो, यस पत्रका लेखकले हिब्रूहरूलाई यही चेताउनी दिनलाई लेखेका छन्, कि तिनीहरू ख्रीष्टबाट पछि हट्छन् भने परमेश्वरको भयङ्कर इन्साफ तिनीहरूमाथि निश्चय नै आइपर्नेछ।
Currently Selected:
हिब्रू पुस्तक परिचय: NNRV
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012