मत्ती 14
14
बप्तिस्मा-दिने यूहन्नाको मृत्यु
मर्कूस ६:१४-२९; लूका ९:७-९
1त्यस बेला गालील प्रदेशका शासक हेरोदले येशूको कीर्ति सुने। 2तिनले आफ्ना भारदारहरूलाई भने, “उनी बप्तिस्मा-दिने यूहन्ना हुन्। उनी मृतकबाट जीवित भएका छन्। यसैकारण शक्तिमा यी कामहरू उनीद्वारा भइरहेछन्।”
3किनभने हेरोदले आफ्नो भाइ, फिलिपकी पत्नी हेरोदियासको खातिर यूहन्नालाई पक्री बाँधेर कारागारमा हालिदिएका थिए।#मत्ती ४:१२; लूक ३:१९-२० 4यूहन्नाले हेरोदलाई यसो भनेका थिए, “तपाईंले तिनलाई पत्नीको रूपमा राख्नु उचित हुँदैन।”#लेवी १८:१६; २०:२१ 5यसैकारण हेरोदले उनलाई मार्ने इच्छा गरेका थिए, तर जनतादेखि तिनी डराउँथे, किनभने तिनीहरूले उनलाई अगमवक्ता ठान्थे।
6तर जब हेरोदको जन्मदिन आयो, तब हेरोदियासकी छोरीले तिनीहरूका बीचमा नाचेर हेरोदलाई प्रसन्न तुल्याई। 7त्यसो हुँदा तिनले त्यसलाई जे मागे पनि दिने शपथ खाएर प्रतिज्ञा गरे। 8तर त्यसकी आमाले सिकाएकी हुनाले त्यसले भनी, “बप्तिस्मा-दिने यूहन्नाको शिर मलाई यहीँ थालमा दिनुहोस्।” 9तब राजा शोकित भए तापनि आफ्ना शपथ र अतिथिहरूको कारण तिनले त्यसै गर्ने हुकुम दिए, 10र तिनले कारागारमा यूहन्नाको शिर काट्न लगाए। 11अनि उनको शिर थालमा ल्याएर त्यस ठिटीलाई दिइयो। त्यसले त्यो आफ्नी आमाकहाँ ल्याई। 12त्यसपछि यूहन्नाका चेलाहरू आएर उनको मृत शरीर लगेर गाड़े। अनि तिनीहरूले गएर येशूलाई खबर दिए।
येशूले पाँच हजारलाई खुवाउनुभएको
मर्कूस ६:३०-४४; लूका ९:१०-१७; यूहन्ना ६:१-१४
13जब येशूले यो सुन्नुभयो उहाँ डुङ्गामा चढ़ी त्यहाँबाट अलग्गै एउटा एकान्त ठाउँमा जानुभयो। यो सुनेपछि भीड़ले सहरहरूबाट पैदलै उहाँलाई पछ्यायो। 14किनार पुगेर त्यस ठूलो भीड़लाई देखी उहाँले तिनीहरूलाई टिठ्याउनुभयो, र तिनीहरूका बिरामीहरूलाई निको पारिदिनुभयो।
15साँझ परेपछि चेलाहरू यसो भन्दै उहाँकहाँ आए, “यो निर्जन ठाउँ छ, र दिन ढलिसक्यो। भीड़लाई बिदा दिनुहोस्, र यिनीहरूले गाउँ-गाउँमा गएर आफ्ना लागि खानेकुरा किनून्।”
16तर येशूले तिनीहरूलाई भन्नुभयो, “तिनीहरूलाई जानु आवश्यक छैन। तिमीहरूले नै यिनीहरूलाई खान देओ।”
17तिनीहरूले उहाँलाई भने, “यहाँ हामीहरूसित पाँच रोटी र दुई माछा मात्र छन्।”
18तब उहाँले भन्नुभयो, “ती मकहाँ ल्याओ।” 19उहाँले भीड़लाई घाँसमा बस्ने आज्ञा दिनुभयो, र ती पाँच रोटी र दुई माछा लिएर स्वर्गतिर हेरी परमेश्वरलाई धन्यवाद दिनुभयो, र रोटीहरू भाँचेर चेलाहरूलाई दिनुभयो, र चेलाहरूले मानिसहरूलाई दिए। 20ती सबैले खाएर तृप्त भए, र उब्रेका टुक्राहरू तिनीहरूले बाह्र डालाभरि उठाए। 21स्त्रीहरू र केटाकेटीहरूबाहेक खानेहरू प्राय: पाँच हजार पुरुषहरू थिए।
येशू पानीमाथि हिँड्नुभएको
मर्कूस ६:४५-५६; यूहन्ना ६:१५-२१
22उहाँले भीड़लाई बिदा गर्नुहुँदा चेलाहरूलाई डुङ्गामा चढ़ी उहाँभन्दा पहिले पारिपट्टि जान लाउनुभयो। 23भीड़लाई बिदा गरिसक्नुभएपछि उहाँ एकलै प्रार्थना गर्न डाँड़ामा उक्लनुभयो। साँझ पर्दा उहाँ एकलै त्यहाँ हुनुहुन्थ्यो। 24तर डुङ्गा त्यति बेलासम्म किनारदेखि समुद्रमा धेरै टाढ़ा पुगिसकेको थियो। अनि हावा उल्टो बहेको हुनाले डुङ्गा छालको चपेटमा परेको थियो।
25बिहान तीन बजेतिर उहाँ समुद्रमाथि हिँड्दै तिनीहरूकहाँ आउनुभयो। 26जब चेलाहरूले उहाँलाई समुद्रमाथि हिँड़िरहनुभएको देखे, तब डराएर तिनीहरूले भने, “यो त भूत हो!” र तिनीहरू डरले चिच्च्याए।
27तर येशूले झट्टै तिनीहरूलाई यसो भन्नुभयो, “साहस गर, म नै हुँ, नडराओ।”
28पत्रुसले उहाँलाई भने, “हे प्रभु, तपाईं नै हुनुहुन्छ भने, मलाई तपाईंकहाँ पानीमाथि आउने आज्ञा दिनुहोस्।”
29उहाँले भन्नुभयो, “आऊ।”
पत्रुस डुङ्गाबाट ओर्लेर येशूकहाँ जानलाई पानीमाथि हिँड्न लागे। 30तर बतास जोड़ले चलेको देखेर तिनी डराए, र जब डुब्नै लागे तब तिनले चिच्च्याएर भने, “हे प्रभु, मलाई बचाउनुहोस्।”
31तब येशूले झट्टै हात पसारेर तिनलाई समातिहाल्नुभयो, र तिनलाई भन्नुभयो, “ए अल्पविश्वासी, किन शङ्का गर्यौ?”
32जब उहाँहरू डुङ्गामा पस्नुभयो तब बतास थामियो। 33डुङ्गामा हुनेहरूले उहाँलाई दण्डवत् गरे, र भने, “साँच्चै तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ।”
34पारि पुगेपछि उहाँहरू गनेसरेतको इलाकामा आइपुग्नुभयो। 35जब त्यस ठाउँका मानिसहरूले उहाँलाई चिने तब तिनीहरूले वरिपरिका इलाकाहरूमा खबर पठाए, र मानिसहरूले रोगीहरू सबैलाई उहाँकहाँ ल्याए। 36तिनीहरूले उहाँका वस्त्रको छेउ मात्र भए पनि छुन पाऊँ भनी उहाँलाई बिन्ती गरे, र जतिले छोए तिनीहरू निको भए।
Currently Selected:
मत्ती 14: NNRV
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012