YouVersion Logo
Search Icon

2 कोरिन्थी 10

10
पावलको सेवाकाइ
1म पावल ख्रीष्‍टको नम्रता र भद्रताद्वारा तिमीहरूलाई यो विन्ती गर्दछु, कि तिमीहरूका सामुन्‍ने हुँदा म “भद्र” हुन्छु, तर टाढा हुँदाचाहिँ तिमीहरूप्रति “साहसिलो” हुन्छु। 2म तिमीहरूलाई विन्ती गर्छु, कि म त्यहाँ आउँदा हामी यस संसारको नापले जिउँछौं भन्‍ने कति मानिसहरूप्रति म जति साहसिलो छु, त्यस्तै हुन नपरोस्। 3किनकि हामी यस शरीरमा रहे तापनि हामी सांसारिक मानिसले गरेजस्तो युद्ध गर्दैनौं। 4हामीले चलाउने हतियार यस संसारका हतियार होइनन्। यसको विपरीत गढहरू भत्काउनलाई हाम्रा हतियारहरू चाहिँ ईश्‍वरीय शक्‍तिमा हुन्छन्। 5हामी परमेश्‍वरको ज्ञानको विरुद्धमा उठ्ने तर्कहरू र प्रत्येक आडम्बरहरू भत्काउँछौं, अनि ख्रीष्‍टप्रति आज्ञाकारी बनाउन प्रत्येक विचारलाई कैदी बनाउँछौं। 6अनि तिमीहरूको आज्ञाकारीता पूर्ण हुन्छ, हामी अनाज्ञाकारीताको प्रत्येक कामलाई दण्ड दिनेछौं।
7तिमीहरूले बाहिरी कुराहरूलाई मात्र हेरिरहेका छौ। यदि कसैलाई “म ख्रीष्‍टको हुँ” भन्‍ने आत्मविश्‍वास छ भने, त्यसले यो पनि ठानोस् कि, हामी पनि ऊ जत्तिकै ख्रीष्‍टका हौं। 8प्रभुले हामीलाई दिनुभएको अधिकारबारे मैले धेरै नै घमण्ड गरे तापनि म यसको लागि शर्म मान्‍नेछैनँ, किनकि यो तिमीहरूलाई नाश गर्न होइन, तर आत्मिक बनाउनलाई दिनुभएको हो। 9म तिमीहरूलाई मेरा पत्रहरूद्वारा डर देखाउन खोजेको जस्तो देखिन चाहन्‍नँ। 10किनकि कतिले भन्छन्, “उसका पत्रहरू त गहकिला र प्रभावशाली हुन्छन्, तर व्यक्‍तिगत रूपमा ऊ प्रभावहीन र बोली पनि व्यर्थको छ।” 11यस्ता मानिसहरूले यो थाहा गरून्, कि हामी अनुपस्थित हुँदा हाम्रा पत्रहरूमा जस्ता छौं, हामी उपस्थित हुँदा पनि हाम्रा कामहरूमा त्यस्तै हुनेछौं।
12आफ्नै तारीफ गर्ने कति जनासित हामी आफूलाई एकै दर्जामा राखेर तुलना गर्ने आँट गर्दैनौं। यदि तिनीहरूले आफैले आफूसित नाप्छन् र आफ्नो तुलना आफैसित गर्छन्, भने तिनीहरू बुद्धिमान् होइनन्। 13हामी सीमा नाघेर घमण्ड गर्दैनौं, तर परमेश्‍वरले तोकिदिनुभएको क्षेत्रभित्र आफ्नो घमण्डलाई सीमित राख्दछौं, अर्थात् त्यो क्षेत्र, जहाँ तिमीहरू पनि समावेश छौ। 14यदि हामी तिमीहरूका बीचमा नआएको भए हाम्रो घमण्ड ज्यादा हुनेथियो, तर हामी तिमीहरूको बीचमा ख्रीष्‍टको सुसमाचार लिएर आयौं। 15न ता हामी अरूले गरेका कामहरूको लागि घमण्ड गरेर सीमा नाघ्न चाहन्छौं। हाम्रो आशाचाहिँ यही हो, कि जब तिमीहरूको विश्‍वास बढ्दै जान्छ, त्यस्तै तिमीहरूका बीचमा हाम्रो कर्मक्षेत्र पनि ज्यादा बढ्नेछ, 16जसमा हामी तिमीहरूभन्दा टाढासम्म सुसमाचार प्रचार गर्न सकौं। किनकि अरू मानिसको क्षेत्रमा भइसकेको कामको लागि हामी घमण्ड गर्न चाहँदैनौं। 17तर, “घमण्ड गर्नेले प्रभुमा नै घमण्ड गरोस्।”#10:17 यर्मिया 9:24 18किनकि आफूलाई प्रशंसा गर्ने मानिस स्वीकार गरिँदैन, तर त्यही मात्र, जसको प्रशंसा प्रभुले गर्नुहुन्छ।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in