यूहन्ना 19
19
येशूलाई मृत्युदण्डको सजाय सुनाइएको
1त्यसपछि पिलातसले येशूलाई कोर्राले हान्न लगाए। 2अनि सिपाहीहरूले काँडाहरू बटारेर एउटा मुकुट बनाएर उहाँको शिरमा लगाइदिए। तिनीहरूले उहाँलाई बैजनी लुगा पहिर्याइदिए, 3र घरी-घरी येशूकहाँ आएर “यहूदीहरूका राजाको जय!” भने। अनि तिनीहरूले येशूलाई मुखमा हिर्काए।
4फेरि एकपल्ट बाहिर निस्केर पिलातसले यहूदीहरूलाई भने, “हेर! म यसलाई अब तिमीहरूका सामु बाहिर ल्याउँदैछु, ताकि तिमीहरूलाई यो स्पष्ट थाहा होस्, यस मानिसमा मैले कुनै दोष पाइनँ।” 5जब येशू काँडाको मुकुट र बैजनी लुगा लगाएर बाहिर आउनुभयो, तब पिलातसले भने, “हेर! मान्छे त्यहीं छ!”
6उहाँलाई देख्नेबित्तिकै मुख्य पूजाहारीहरू र हाकिमहरू यसरी चिच्याउन थाले, “त्यसलाई क्रूसमा टाँग्नुहोस्! क्रूसमा टाँग्नुहोस्!”
तर पिलातसले भने, “तिमीहरूले नै यिनलाई क्रूसमा टाँग, किनकि म ता यिनलाई दोष लगाउने कुनै आधार पाउँदिनँ।”
7यहूदीहरूले तिनलाई जिद्दी गर्दै भने, “हाम्रो आफ्नै व्यवस्था छ, र त्यस व्यवस्थाअनुसार यो मानिस मर्नैपर्छ; किनकि यसले आफूलाई परमेश्वरको पुत्र भनेर दाबी गरेको छ।”
8जब पिलातसले यो सुने, तिनी झन् धेरै डराए। 9तिनले फेरि येशूलाई महलभित्र लगे, र उहाँलाई सोधे, “तिमी कहाँबाट आएका हौ?” तर येशूले केही जवाफ दिनुभएन। 10पिलातसले सोधे, “के तिमी मलाई उत्तर दिँदैनौ? तिमीलाई छोडिदिने अथवा क्रूसमा टाँग्ने अधिकार मसित छ भनी के तिमी जान्दैनौ?”
11तब येशूले भन्नुभयो, “यदि माथिबाट नदिइएको भए ममाथि तपाईंको केही अधिकार हुनेथिएन; त्यसकारण मलाई तपाईंकहाँ ल्याउने व्यक्ति अझ बढ्ता पापको दोषी छ।”
12यो सुनेर पिलातसले येशूलाई छोडिदिने कोसिस गरे, तर यहूदीहरूले चिच्याउँदै भने, “तपाईंले यस मान्छेलाई छोडिदिनुभयो भने तपाईं सिजरको मित्र हुनुहुन्न। आफूलाई राजा घोषणा गर्ने जो पनि सिजरको विरोधी हुन्छ।”
13यो कुरा सुनेर, पिलातसले फेरि येशूलाई बाहिर तिनीहरूका अघि ल्याए र आफूचाहिँ ढुङ्गाको पाटी हिब्रू भाषामा “गब्बथा” भनिने न्याय आसनमाथि बसे। 14यतिबेला निस्तार चाडको तयारी गर्ने दिनको मध्यान्ह भएको थियो।
अनि पिलातसले यहूदीहरूलाई भने, “लौ हेर! तिमीहरूको राजा।”
15तर तिनीहरूले चिच्याउँदै भने, “त्यसलाई लैजानुहोस्! त्यसलाई लैजानुहोस्! क्रूसमा टाँग्नुहोस्!”
पिलातसले सोधे, “के तिमीहरूका राजालाई मैले क्रूसमा टाँगूँ?”
मुख्य पूजाहारीहरूले चिच्याएर जवाफ दिए, “सिजरबाहेक हाम्रो अरू कुनै राजा छैन।”
16आखिरमा पिलातसले येशूलाई क्रूसमा टाँग्नलाई तिनीहरूका हातमा सुम्पिदिए।
येशू क्रूसमा चढाइनुभएको
त्यसपछि सिपाहीहरूले येशूको जिम्मा लिए। 17येशू आफ्नो क्रूस आफैले बोकेर खप्परे भनिने ठाउँमा (आरामाईक भाषामा गलगथा भनिन्छ) पुग्नुभयो। 18त्यहाँ तिनीहरूले उहाँलाई क्रूसमा टाँगे, अनि अरू दुईजनालाई पनि उहाँसँगै, एकजनालाई दायाँ र अर्कोलाई बायाँ अनि येशूलाई बीचमा टाँगे।
19अनि यसो भनेर लेखिएको दोषपत्र पिलातसले उहाँको शिरमाथि क्रूसमा टाँसिदिए:
“नासरतका येशू, यहूदीहरूका राजा।”
20धेरै यहूदीहरूले त्यो पढे, किनकि येशूलाई क्रूसमा टँगाइएको ठाउँ शहरको नजिक थियो; अनि सो दोषपत्र आरामाईक, ल्याटिन र ग्रीक भाषामा लेखिएको थियो। 21यहूदीहरूका मुख्य पूजाहारीहरूले आपत्ति जनाउँदै पिलातसलाई भने, “ ‘यहूदीहरूको राजा’ होइन, तर यसले आफूलाई ‘म यहूदीहरूको राजा हुँ’ भन्थ्यो भनी लेखिदिनुहोस्।”
22तर पिलातसले जवाफ दिए, “मैले जे लेखें, सो लेखें।”
23येशूलाई क्रूसमा टाँगेपछि सिपाहीहरूले उहाँको लुगालाई चार भाग लगाए; र तिनीहरूले आफू आफूमा त्यो भाग लगाए, अनि तिनीहरूले उहाँको ओढ्ने पनि लिए। त्यो नसिलाएको, तर सिङ्गै बुनिएको थियो।
24तिनीहरूले आपसमा सल्लाह गरे, “यो ओढ्नेचाहिँ नच्यातौं, तर यो कसको भागमा पर्ने हो, चिट्ठा हालेर हेरौं।”
धर्मशास्त्रमा लेखिएको कुरा यसरी पूरा भयो।
“तिनीहरूले मेरो वस्त्रहरू आपसमा बाँडे
र मेरो ओढ्नेमा चाहिँ चिट्ठा हाले।”#19:24 भजन 22:18
यसकारण सिपाहीहरूले त्यसै गरे।
25येशूको क्रूसको नजिकै उहाँकी आमा मरियम, उहाँकी आमाकी बहिनी, क्लोपासकी पत्नी मरियम र मरियम मग्दलिनी उभिरहेका थिए। 26जब येशूले त्यहाँ आफ्नो आमालाई र उहाँले धेरै प्रेम गर्नुहुने चेलालाई नजिकैमा उभिरहेको देख्नुभयो, तब उहाँले आफ्नी आमालाई भन्नुभयो, “हे नारी! हेर, तिम्रो छोरो!” 27अनि चेलालाई उहाँले भन्नुभयो, “हेर, तिम्री आमा।” त्यस दिनदेखि त्यस चेलाले येशूकी आमालाई आफ्नै घरमा लगे।
येशूले प्राण त्याग्नुभएको
28अब सबै कुरा सिद्धियो भनी जानेर धर्मशास्त्रमा लेखिएको कुरा पूरा होस् भनेर येशूले भन्नुभयो, “मलाई तिर्खा लाग्यो।” 29छेवैमा एउटा सिर्काको घैंटो थियो, एउटा स्पन्ज त्यसमा डुबाई हिसपको डाँठमा अड्काएर तिनीहरूले उहाँको ओठमा पुर्याइदिए। 30सिर्का लिनुभएपछि येशूले यसो भन्नुभयो, “अब पूरा भयो।” त्यसपछि उहाँले शिर निहुर्याउनुभयो र प्राण त्याग्नुभयो।
31त्यो दिन तयारीको दिन थियो, अनि भोलिपल्ट विशेष विश्रामदिन थियो। यहूदीहरूले विश्रामदिनमा शवहरू क्रूसमा रहेको चाहँदैनथिए, त्यसकारण तिनीहरूले पिलातसलाई तिनीहरूका खुट्टा भाँचेर लास झार्न लगाउन विन्ती गरे। 32सिपाहीहरू आएर येशूसँगै क्रूसमा टाँगिएका अरू दुई मान्छेहरूको खुट्टा भाँचिदिए। 33तर सिपाहीहरू येशूकहाँ आउँदा तिनीहरूले उहाँलाई अघि नै मरिसक्नुभएको भेट्टाए। यसकारण उहाँको खुट्टा तिनीहरूले भाँचेनन्। 34तैपनि एकजना सिपाहीले चाहिँ भालाले उहाँको कोखामा घोच्यो, र त्यहाँबाट रगत र पानी निस्क्यो। 35यो देख्ने मान्छेले आफ्नो साक्षी दिएको छ, अनि उसको साक्षी सत्य छ। साँच्चै बोल्दछु भनी उसले जानेकोले तिमीहरूले पनि विश्वास गर्न सक भनेर आफ्नो साक्षी उसले यसरी दिएको हो। 36“उहाँको एउटै हड्डी पनि भाँचिनेछैन”#19:36 प्रस 12:46; गन्ती 9:12; भजन 34:20 भन्ने धर्मशास्त्रको वचन पूरा होस् भनेर यो कुरा हुन आएको हो। 37अनि फेरि अर्को ठाउँमा धर्मशास्त्रले भन्दछ, “जसले उहाँलाई घोचेका थिए, तिनीहरूले उहाँलाई हेर्नेछन्।”#19:37 जक 12:10
येशू गाडिनुभएको
38त्यसपछि अरिमथियाका योसेफले पिलातसकहाँ गएर उहाँको मृत शरीरलाई लैजाने अनुमति मागे। योसेफ येशूका चेला थिए, तर यो कुरा गोप्य थियो, किनकि उनी यहूदी अगुवाहरूदेखि डराउँथे। पिलातसको अनुमति लिएर तिनी आएर उहाँको मृत शरीर लगे। 39येशूकहाँ राती आउने मानिस, निकोदेमस पनि उनीसित साथमा थिए। निकोदेमसले चौंतीस किलो जति मूर्र र एलवाले बनिएको सुगन्धित मिश्रण ल्याए। 40ती दुईले येशूको शवलाई त्यो सुगन्धित मिश्रणमा राखेर लामो मलमलको कपडाले बेह्रे। यहूदीहरूको शव गाड्ने संस्कार यस्तै थियो। 41येशूलाई क्रूसमा टँगाइनुभएको ठाउँ नजिकै एउटा बगैँचा थियो, अनि त्यो बगैँचामा एउटा नयाँ चिहान थियो, जसमा कहिल्यै कसैलाई राखिएको थिएन। 42यहूदीहरूको तयारीको दिन भएकोले र त्यो चिहान नजिकै भएकोले तिनीहरूले येशूको मृत शरीरलाई त्यही चिहानमा राखे।
Currently Selected:
यूहन्ना 19: NCV
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
पवित्र बाइबल, नेपाली समकालीन संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ। सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Nepali Contemporary Version™, New Testament
Copyright © 1998, 2006, 2021 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.