लूका 23
23
1त्यसपछि सभाका सम्पूर्ण सदस्यहरू उठेर उहाँलाई पिलातसकहाँ लगे। 2अनि तिनीहरूले उहाँलाई यसो भनेर दोष लगाउन थाले, “यस मानिसले हाम्रो राष्ट्रलाई नै बहकाउँदै गरेको हामीले भेट्टायौं। यसले सिजरलाई कर तिर्ने कुराको विरोध गर्छ र आफैलाई ‘ख्रीष्ट, राजा हुँ’ भन्छ।”
3तब पिलातसले येशूलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?”
“हो, तपाईंले भन्नुभएझैं हो,” येशूले भन्नुभयो।
4त्यसपछि पिलातसले मुख्य पूजाहारीहरू र भीडलाई घोषणा गरिदिए, “यस मानिसलाई दोष लगाउन म केही आधार भेट्दिनँ।”
5तर तिनीहरूले जिद्दी गरिरहे, “यसले आफ्नो शिक्षाद्वारा सारा यहूदिया प्रदेशका मानिसहरूलाई भड्काउँछ। यो गालील प्रदेशदेखि सुरु गरेर यहाँसम्म आइपुगेको छ।”
6यति सुनेपछि पिलातसले कतै उहाँ गालीलको पो हुनुहुन्छ कि भनी सोधपुछ गरे। 7जब तिनले येशू हेरोदको अधिकार क्षेत्रका हुनुहुन्छ भन्ने थाहा पाए, तब तिनले उहाँलाई हेरोदकहाँ पठाए। हेरोद पनि त्यस बेला यरूशलेममा नै थिए।
8येशूलाई देखेर हेरोद अत्यन्तै खुशी भए; किनकि तिनले धेरै दिनदेखि उहाँलाई हेर्न इच्छा गरिरहेका थिए। तिनले उहाँका विषयमा जे-जे सुनेका थिए, त्यसअनुसार उहाँद्वारा केही अलौकिक चिन्हहरू भएको हेर्न तिनले आशा राखेका थिए। 9तिनले उहाँलाई धेरै प्रश्नहरू सोधे, तर येशूले तिनलाई केही जवाफ दिनुभएन। 10मुख्य पूजाहारीहरू र व्यवस्थाका शिक्षकहरू, उहाँकहाँ बडो जोडतोडका साथ दोष लगाउँदै त्यहाँ उभिरहेका थिए। 11हेरोद र तिनका सिपाहीहरूले उहाँको निन्दा र गिल्ला गरे। तिनीहरूले उहाँलाई रवाफिलो वस्त्र लगाइदिएर पिलातसकहाँ फिर्ता पठाए। 12त्यस दिन हेरोद र पिलातस आपसमा मित्र बने; यसभन्दा अघि तिनीहरूमा शत्रुता थियो।
13पिलातसले मुख्य पूजाहारीहरू, शासकहरू र जनतालाई एकसाथ बोलाए, 14र तिनीहरूलाई भने, “तिमीहरूले यी मानिसलाई जनतालाई विद्रोह गर्न भड्काउने मानिस भन्दै मकहाँ ल्यायौ। मैले तिमीहरूकै अघि यिनको जाँच गरें, र यिनी विरुद्ध तिमीहरूले लगाएका दोषको लागि मैले केही आधार पाएको छैनँ। 15हेरोदले पनि केही दोष भेट्टाएनन्, तिनले पनि यिनलाई हामीकहाँ नै फिर्ता पठाइदिए, तिमीहरूले देखेकै छौ कि मृत्युदण्ड पाउने योग्यको कुनै काम यिनले गरेका छैनन्। 16त्यसकारण म यिनलाई सजाय दिएर छोडिदिनेछु।”
17चाडको उपलक्ष्यमा तिनीहरूका निम्ति पिलातसले एकजनालाई छोडिदिनुपर्थ्यो।#23:17 प्राचीन पा.लि.हरूमा यो पद पाइँदैन
18त्यो भीडले एकै सोरमा चिच्याउँदै भन्यो, “यसलाई हटाउनुहोस्! हाम्रा निम्ति बारब्बालाई छोडिदिनुहोस्!” 19(बारब्बाचाहिँ शहरमा भएको एउटा विद्रोह र हत्याको मुद्दामा झ्यालखानामा थुनिएको थियो।)
20येशूलाई छोडिदिने इच्छा गरेर पिलातसले भीडलाई फेरि अनुरोध गरे। 21तर तिनीहरू भने यसो भन्दै चिच्याइरहे, “त्यसलाई क्रूसमा टाँग्नुहोस्! त्यसलाई क्रूसमा टाँग्नुहोस्!”
22तिनले तेस्रोपल्ट तिनीहरूलाई भने: “किन? यी मानिसले के अपराध गरेका छन् र? मैले यिनमा मृत्युदण्डका निम्ति कुनै कारण भेट्टाइनँ। त्यसकारण म यिनलाई सजाय दिएर छोडिदिनेछु।”
23तर चर्को सोरले चिच्याउँदै उहाँलाई क्रूसमा टाँग्नैपर्छ भनी तिनीहरूले जिद्दीकासाथ माग गरे, र तिनीहरूका आवाजको नै जीत भयो। 24यसरी पिलातसले तिनीहरूकै माग पूरा गरिदिने निर्णय गरे। 25तिनले विद्रोह र हत्याको मुद्दामा झ्यालखानामा परेको मानिस, तिनीहरूले मागेको मानिसलाई नै छोडिदिए र येशूलाई तिनीहरूकै इच्छामा तिनले सुम्पिदिए।
येशू क्रूसमा टाँगिनुभएको
26सिपाहीहरूले उहाँलाई लैजाँदै गर्दा साइरिनीवासी सिमोनलाई समाते, जो गाउँबाट आउँदैथिए, अनि तिनलाई क्रूस बोकाएर येशूको पछि-पछि हिँड्न लगाए। 27धेरै मानिसहरूको एउटा ठूलो भीडले उहाँलाई पछ्यायो, त्यहाँ उहाँका लागि रुँदै र विलाप गर्दै गरेका केही स्त्रीहरू पनि थिए। 28येशूले फर्केर तिनीहरूलाई भन्नुभयो, “ए यरूशलेमका छोरीहरूहो, मेरो निम्ति नरोओ, तर आफ्नै निम्ति र आफ्ना छोराछोरीका निम्ति रोओ। 29किनकि समय आउनेछ, जब तिमीहरूले भन्नेछौ, ‘बाँझी स्त्रीहरू र गर्भधारण नगर्ने कोखहरू, र दूध नखुवाउने स्त्रीहरू धन्यका हुन्!’ 30त्यसपछि,
“ ‘तिनीहरूले पहाडहरूलाई “हामीमाथि खस!”
र डाँडाहरूलाई, “हामीलाई छोप!” भन्नेछन्।’#23:30 होशे 10:8
31किनकि रूख हरियो छँदै त मानिसहरूले यसो भन्छन् भने, त्यो सुकेपछि झन् के होला?”
32अरू दुईजना मानिसहरू जो अपराधी थिए, तिनीहरू पनि उहाँसँगै मृत्युदण्ड दिन लगिए। 33तिनीहरू खप्परे भनिने ठाउँमा आएपछि त्यहाँ तिनीहरूले उहाँलाई क्रूसमा टाँगे, ती अपराधीहरू पनि टाँगिए—एउटालाई उहाँको दाहिनेपट्टि र अर्कोलाई चाहिँ उहाँको देब्रेपट्टि। 34येशूले भन्नुभयो, “हे पिता, यिनीहरूलाई क्षमा गरिदिनुहोस्; किनकि यिनीहरूले के गर्दैछन्, सो जान्दैनन्।” अनि तिनीहरूले उहाँको वस्त्र चिट्ठा हालेर आपसमा बाँडे।
35भीड यो दृश्य हेर्दै त्यहाँ उभियो र शासकहरूले त उहाँको ठट्टा पनि गरे। तिनीहरूले भने, “यसले अरूलाई त बचायो; यदि यो परमेश्वरको ख्रीष्ट, चुनिएको जन हो भने, आफैलाई बचाओस्।”
36सिपाहीहरू पनि आए, र उहाँको गिल्ला गरे। तिनीहरूले उहाँलाई सिर्का दिए, 37र भने, “यदि तँ यहूदीहरूको राजा होस् भने, आफूलाई बचा।”
38उहाँको माथिपट्टि एउटा लिखित दोषपत्र थियो, जसमा यसो लेखिएको थियो:
“यो यहूदीहरूको राजा हो।”
39त्यहाँ झुण्डिएका अपराधीहरूमध्ये एउटाले उहाँको अपमान गर्दै भन्यो: “के तिमी ख्रीष्ट होइनौ? तिमी आफैलाई र हामीलाई पनि बचाऊ!”
40तर अर्को अपराधीले त्यसलाई हप्कायो। त्यसले भन्यो, “तँ पनि त्यही दण्डमा छस्, र पनि परमेश्वरको डर मान्दैनस्? 41हामीले ता न्यायोचित रूपले दण्ड पाइरहेका छौं, किनकि हामीले हाम्रो कामको उचित दण्ड पाइरहेका छौं, तर यी मानिसले ता कुनै अनुचित काम गरेका छैनन्।”
42त्यसपछि त्यसले भन्यो, “हे येशू, तपाईं आफ्नो राज्यमा आउनुहुँदा मलाई सम्झनुहोस्।”
43येशूले त्यसलाई जवाफ दिनुभयो, “म तिमीलाई साँचो भन्दछु, आजै तिमी मसित स्वर्गलोकमा हुनेछौ।”
येशूको मृत्यु
44लगभग दिउँसोको बाह्र बजेको थियो, तीन बजेसम्म सम्पूर्ण देशभरि अन्धकार छायो, 45किनकि सूर्यले तेज दिन छोड्यो। अनि मन्दिरको पर्दा दुई भाग भएर च्यात्तियो। 46अनि येशूले चर्को सोरमा कराएर भन्नुभयो, “हे पिता, म मेरो आत्मा तपाईंको हातमा सुम्पन्छु।”#23:46 भजन 31:5 यति भनेर उहाँले आफ्नो प्राण त्याग्नुभयो।
47कप्तानले#23:47 100 जना सिपाहीका अधिपति भएको सबै घटना देखेर परमेश्वरको प्रशंसा गर्दै भने, “निश्चय नै यिनी धार्मिक मानिस थिए।” 48जब यो दृश्य हेर्न त्यहाँ जम्मा भएका सबै मानिसहरूले त्यहाँ भएको घटना देखे, तब विलाप गर्दै तिनीहरू आ-आफ्ना छाती पिट्दै फर्के। 49तर उहाँलाई चिन्नेहरू, स्त्रीहरू, जो गालील प्रदेशबाट उहाँलाई पछ्याउँदै आएका थिए, टाढै उभिएर सबैजना यी घटनाहरू हेरिरहेका थिए।
येशूको दफन
50त्यहाँ योसेफ नाउँ भएका सभाका एक सदस्य, एक असल र धार्मिक मानिस थिए, 51जसले तिनीहरूका निर्णय र कार्यमा सहमति जनाएका थिएनन्। तिनी यहूदिया प्रदेशको अरिमथिया शहरका मानिस थिए, र तिनले परमेश्वरको राज्यको प्रतीक्षा गरिरहेका थिए। 52पिलातसकहाँ गएर तिनले येशूको शव मागे। 53त्यसपछि तिनले शव तल झारे, त्यसलाई मलमलको लुगाले बेह्रे, र चट्टानमा खोपेर बनाइएको एउटा चिहानमा राखे, जसमा कसैलाई पनि राखिएको थिएन। 54यो तयारीको दिन थियो, र विश्रामदिन सुरु हुनै लागेको थियो।
55गालील प्रदेशबाट येशूसँगसँगै आएका स्त्रीहरू योसेफका पछि-पछि गएर त्यो चिहान अनि येशूको शव त्यसमा कसरी राखियो भनी देखे। 56त्यसपछि तिनीहरू घर फर्केर सुगन्धित मसलाहरू र अत्तरहरू तयार पारे, तर विश्रामदिनमा व्यवस्थाको आज्ञाबमोजिम तिनीहरूले विश्राम गरे।
اکنون انتخاب شده:
लूका 23: NCV
هایلایت
به اشتراک گذاشتن
کپی
می خواهید نکات برجسته خود را در همه دستگاه های خود ذخیره کنید؟ برای ورودثبت نام کنید یا اگر ثبت نام کرده اید وارد شوید
पवित्र बाइबल, नेपाली समकालीन संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ। सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Nepali Contemporary Version™, New Testament
Copyright © 1998, 2006, 2021 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.