परमप्रभु परमेश्वरका आत्मा ममाथि छ,
किनभने गरीबहरूलाई सुसमाचार सुनाउनका निम्ति परमप्रभुले मलाई अभिषेक गर्नुभएको छ। मन भाँचिएकाहरूको हृदयलाई बाँध्न, कैदमा परेकाहरूलाई स्वतन्त्रता दिन र बन्धनमा परेकाहरूलाई छुटकाराको घोषणा गर्न उहाँले मलाई पठाउनुभएको छ।
परमप्रभुको प्रसन्नताको वर्ष,
र हाम्रा परमेश्वरको बदला दिने दिनको घोषणा गर्न, सबै विलाप गर्नेहरूलाई सान्त्वना दिन,
र सियोनमा विलाप गर्नेहरूलाई— खरानीको सट्टा सुन्दरताको मुकुट,
र शोकको सट्टा आनन्दको तेल लगाइदिन, निराश मनको सट्टा प्रशंसाको पोशाक पहिराइदिन। उहाँका गौरवको प्रदर्शन होस् भनेर परमप्रभुले नै रोप्नुभएको धार्मिकताका फलाँटहरू तिनीहरू कहलाइनेछन्।