हितोपदेश 20
20
1दाखमद्य उपहास गर्ने हो, र मदिराचाहिँ कचिङ्गल मच्चाउने हो, यी कुराहरूको लतमा रुमलिनेहरू बुद्धिमान् हुँदैनन्।
2राजाको क्रोध सिंहको गर्जनजस्तै हुन्छ, तिनलाई रीस उठाउनेले आफ्नो जीवन गुमाउँछ।
3कलह नचाहनु मानिसको निम्ति आदरणीय कुरो हो, तर हरेक मूर्खचाहिँ कलह मच्चाउनमा छिटो हुन्छ।
4अल्छेले बेलामा जोत्दैन, त्यसकारण फसलको बेला त्यसले खोज्छ तर केही फेला पार्दैन।
5मानिसको हृदयमा भएका उद्देश्यहरू गहिरा पानीजस्तै हुन्, तर समझदार मानिसले त्यो तानेर निकाल्छ।
6धेरै मानिसहरू आफूमा अचूक प्रेम भएको दाबी गर्छन्, तर विश्वास योग्य मानिस कहाँ पाउन सकिएला?
7धर्मी मानिस दोषरहित जीवन यापन गर्छ, त्यसको पछि आउने छोरा-छोरीहरू धन्यका हुन्।
8जब राजा आफ्नो सिंहासनमा न्याय गर्न बस्छन्, तिनले आफ्नो आँखाले सबै खराबी केलाउँछन्।
9कसले भन्न सक्छ, “मैले आफ्नो हृदय शुद्ध राखेको छु, म सफा र पापरहित छु”?
10भिन्नै नमिल्ने ढकहरू र नापहरू परमप्रभु घृणा गर्नुहुन्छ।
11एउटा बालकलाई पनि उसको गतिविधिबाटै उसको चालचलन ठीक भए नभएको थाहा गर्न सकिन्छ।
12सुन्ने कान र देख्ने आँखा, ती दुवै परमप्रभुले नै बनाउनुभएको हो।
13निद्रालाई प्रेम नगर्, जसले तँलाई झन्-झन् दरिद्र तुल्याउँछ। जागा रहेस् र तँसँग जगेरा अन्न रहनेछ।
14ग्राहकले भन्छ, “यो राम्रो छैन, यो राम्रो छैन!” तब अलिक पर पुगेपछि आफ्नो खरीद गराइमा त्यसले धाक लाउँछ।
15सुन छ, मानिकहरू प्रशस्त छन्, तर ज्ञानको वचन बोल्ने ओठहरू दुर्लभ रत्न हुन्।
16अपरिचितको जमानी बस्नेको लुगा पनि खोस्नू। यदि त्यसले स्वेच्छाचारी स्त्रीको खातिर त्यसो गरेको भए, त्यो धरौटी राख्नू।
17छलद्वारा पाएको भोजन मानिसलाई मीठो लाग्छ, तर त्यसको अन्त्यचाहिँ मुखभरि रोडा हालेसरह हुन्छ।
18सल्लाह लिएर योजनाहरू बना, लड़ाइँ लड्नु छ भने सल्लाह प्राप्त गर्।
19कुरौटेले गोप्य भरोसामा आघात पुर्याउँछ, त्यसैले धेरै कुरा गर्ने मानिसदेखि परै बस।
20यदि कसैले आफ्नो बुबा वा आमालाई सराप्छ भने, त्यसको बत्ती घोर अन्धकारको बेला निभाइनेछ।
21सुरुमा झटपट गरेर हात पारेको सम्पत्ति अन्त्यमा आशिष्पूर्ण हुनेछैन।
22यसो नभन्, “तेरो खराबीको साटो लिनेछु।” परमप्रभुको प्रतीक्षा गर्, र उहाँले तँलाई छुटाउनुहुनेछ।
23परमप्रभु घट्बढ् नाप-तौल घृणा गर्नुहुन्छ,
र छली तराजूले उहाँलाई प्रसन्न तुल्याउँदैन।
24मानिसका कदमहरू परमप्रभुबाट नै निर्देशन गरिएका हुन्छन्। मानिसले आफ्नो बाटो कसरी बुझ्न सक्ला?
25असावधानीसँग केही कुरो अर्पण गरिसकेर पछिबाट मात्रै आफ्नो भाकलबारे विचार गर्नु मानिसको लागि पासो हुनेछ।
26बुद्धिमान् राजाले दुष्टहरूलाई पन्साउँछन्, तिनले उनीहरूमाथि अन्न चुट्ने चक्का दल्छन्।
27परमप्रभुको दियो मानिसको आत्मालाई खोजी गर्छ, त्यसले उसको भित्री मनुष्यत्वलाई खोजी निकाल्छ।
28प्रेम र विश्वासयोग्यताले राजालाई सुरक्षा प्रदान गर्छ, प्रेमद्वारा नै तिनको सिंहासन सुरक्षित रहन्छ।
29जवान मानिसहरूको महिमा तिनीहरूको बल हो, फुलेको केश वृद्धहरूको गौरव हो।
30मुक्का र चोटहरूले खराबी हटाउँछन्,
र पिटाइले भित्री मनुष्यत्व खारिन्छ।
अहिले सेलेक्ट गरिएको:
हितोपदेश 20: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012