यर्मिया 42
42
यर्मियासँग प्रार्थनाको माग
1-2तब सबै फौजका कप्तानहरू, कारेहका छोरा योहानान र होशयाहका छोरा अजर्याहसमेत सबै दर्जाका मानिसहरूका साथमा मकहाँ आएर भने, “कृपा गरी हाम्रो बिन्तीअनुसार गर्नुहोस्। हाम्रा निम्ति परमप्रभु हाम्रा परमेश्वरसँग प्रार्थना गरिदिनुहोस्। हामी बाँचेकाहरूका निम्ति प्रार्थना गरिदिनुहोस्। एक समयमा हामी धेरै थियौं तर अब थोरै मात्र बाँकी रहेका छौं, त्यो तपाईंले देख्दै हुनुहुन्छ। 3हामी कुन बाटो जानुपर्छ र के गर्नुपर्छ, सो हामीलाई परमप्रभु हाम्रा परमेश्वरले देखाइदिऊन् भनी प्रार्थना गरिदिनुहोस्।”
4मैले उत्तर दिएँ, “हुन्छ, तपाईंहरूले भनेअनुसार म परमप्रभु हाम्रा परमेश्वरसित प्रार्थना गर्नेछु र उहाँले जे उत्तर दिनुहुन्छ, त्यो तपाईंहरूलाई बताउनेछु। म तपाईंहरूबाट केही लुकाउनेछैनँ।”
5तब तिनीहरूले मलाई भने, “परमप्रभु हाम्रा परमेश्वरले हाम्रा निम्ति जुन आज्ञाहरू तपाईंद्वारा दिनुहुनेछ, ती हामीले पालन गरेनौं भने उहाँ नै हाम्रा विरुद्धमा साँचो र विश्वासयोग्य साक्षी होऊन्। 6हामीहरूलाई खुसी लागोस् वा नलागोस्, हामी परमप्रभु आफ्ना परमेश्वरको आज्ञा मान्नेछौं। उहाँसित प्रार्थना गरिदिनुहोस् भनी हामी तपाईंलाई बिन्ती गर्दै छौं। उहाँको आज्ञापालन गर्नमा नै हाम्रो भलाइ छ।”
यर्मियाको प्रार्थनाको उत्तर
7दश दिनपछि परमप्रभु मसित बोल्नुभयो 8र मैले योहानान, उनीसित रहेका फौजका कप्तानहरू र अरू मानिसहरूलाई बोलाएर एकसाथ जम्मा गरें। 9मैले तिनीहरूलाई भनें, “तपाईंहरूले मलाई परमप्रभु इस्राएलका परमेश्वरकहाँ बिन्ती चढाइदिन भन्नुभएको थियो। अब उहाँले यसो भन्नुभएको छ, 10‘तिमीहरू यसै देशमा बसोबास गर्न राजी छौ भने म तिमीहरूलाई बनाउनेछु तर भत्काउनेछैनँ। म तिमीहरूलाई रोपिराख्नेछु तर उखेल्नेछैनँ। तिमीहरूमाथि मैले ल्याएको विनाशले मलाई ठूलो कष्ट दिएको छ। 11बेबिलोनका राजाको डर मान्न छोड। म तिमीहरूका साथमा छु र तिमीहरूलाई त्यसका शक्तिबाट उद्धार गर्नेछु। 12म कृपालु छु, यसकारण म त्यसलाई तिमीहरूमाथि कृपा गर्न लाउनेछु। तिमीहरूलाई स्वदेश फर्की जान दिन लाउनेछु। म परमप्रभु बोलेको छु।’
13-15“तर तपाईं यहूदामा बाँकी रहनुहुनेहरूले परमप्रभु आफ्ना परमेश्वरको आज्ञा नमानेर ‘यस देशमा बास गर्दैनौं,’ भन्नुहुँदैन। तपाईंहरूले यसो भन्नुहुँदैन, ‘अँहँ हामी मिश्रमा गएर बस्नेछौं, जहाँ हामीले फेरि लडाइँ देख्नुपर्नेछैन, लडाइँको सोर सुन्नुपर्नेछैन वा भोक खप्नुपर्नेछैन।’ त्यसो भन्नुभयो भने जवाफमा सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, ‘तिमीहरूले मिश्रमा गई बास गर्ने पक्का गरेका छौ भने 16तिमीहरूले डर मानेका लडाइँले तिमीहरूलाई भेट्टाउनेछ र तिमीहरूले डर मानेका अनिकालले पछ्याउनेछ र तिमीहरू मिश्रमा मर्नेछौ। 17मिश्रदेश गई बस्ने निश्चय गर्ने मानिसहरू सबै लडाइँ, अनिकाल र रुढीले मर्नेछन्। कोही बाँच्नेछैन, जुन विनाश म तिमीहरूमाथि ल्याउनेछु, त्यसबाट एक जना पनि उम्कनेछैन।’
18“परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, ‘जसरी मेरो रिस र प्रचण्ड क्रोध यरूशलेमका मानिसहरूमाथि खनिएको थियो, त्यसरी नै तिमीहरू मिश्रदेशमा गई बस्यौ भने मेरो प्रचण्ड क्रोध तिमीहरूमाथि खनिनेछ। तिमीहरूको दशा हेर्दा डरलाग्दो हुनेछ, मानिसहरूले तिमीहरूलाई गिल्ला र घृणा गर्नेछन् र सराप दिंदा तिमीहरूको नाम लिएर सराप दिनेछन्। यो देश तिमीहरूले फेरि देख्नेछैनौ’।”
19त्यसपछि मैले भनें, “तपाईं यहूदामा बाँकी छोडिएकाहरूलाई परमप्रभुले ‘मिश्रमा नजानू’ भन्नुभएको छ। यसर्थ म तपाईंहरूलाई चेतावनी दिंदछु 20कि तपाईंहरूले घातक भुल गर्दै हुनुहुन्छ। तपाईंहरूले मलाई परमप्रभु हाम्रा परमेश्वरसित प्रार्थना गरिदिन भन्नुभयो र उहाँले दिनुभएको हरेक आज्ञा पालन गर्ने प्रतिज्ञा पनि गर्नुभयो। 21अनि अहिले उहाँको वचन मैले सुनाएँ। जुन आज्ञा सुनाउन परमप्रभु हाम्रा परमेश्वरले मलाई यहाँ पठाउनुभयो, ती आज्ञाहरू एउटै पनि पालन गर्नुहुन्न। 22अब त्यसो भए, यो कुरा याद राख्नुहोस्, जुन देशमा गएर बसोबास गर्न तपाईंहरू चाहनुहुन्छ, त्यहाँ तपाईंहरू लडाइँ, अनिकाल र रुढीले मर्नुहुनेछ।”
अहिले सेलेक्ट गरिएको:
यर्मिया 42: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
![None](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapistaging.com%2F58%2Fhttps%3A%2F%2Fweb-assets.youversion.com%2Fapp-icons%2Fne.png&w=128&q=75)
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.