1 कोरिन्थी 2
2
1दाजुभाइ-दिदीबहिनीहरूहो, जब म तिमीहरूकहाँ आएँ, म मानिसको बुद्धि र चलाखीपूर्ण वचनमा आइनँ, तर मैले तिमीहरूलाई परमेश्वरको रहस्यको बारेमा गवाही दिँदै आएँ। 2किनकि म तिमीहरूका बीचमा हुँदा येशू ख्रीष्ट र उहाँ क्रूसमा टाँगिनुभएको कुराबाहेक अरू केही कुरा नजान्ने निर्णय गरें। 3म तिमीहरूकहाँ दुर्बलतामा डर र कम्पसाथ आएँ। 4मेरा शिक्षा बुद्धि र लोभ्याउने शब्दहरूमा थिएन, तर आत्मिक शक्तिको प्रदर्शनमा थियो, 5ताकि तिमीहरूका विश्वास मानिसहरूका बुद्धिमा आधारित नहोस्, तर परमेश्वरको शक्तिमा आधारित होस्।
परमेश्वरको ज्ञान पवित्र आत्माद्वारा प्रकट
6तापनि हामी परिपक्व भएकाहरूका बीचमा बुद्धिको सन्देश प्रचार गर्छौं, तर यस युगको बुद्धि अथवा यस युगका शासकहरूका बुद्धि होइन, जो नाश भएर जानेछन्। 7तर हामी ता परमेश्वरको लुकाएर राखिएको रहस्यमय बुद्धिबारे घोषणा गर्छौं, जसलाई परमेश्वरले हाम्रो महिमाको लागि युगौं भन्दा अघि नै निर्धारण गर्नुभएको थियो। 8यस युगका कुनै शासकहरूले यसलाई बुझेनन्; किनकि यदि तिनीहरूले बुझेका भए महिमाको प्रभुलाई क्रूसमा टाँग्ने नै थिएनन्। 9तापनि यसरी लेखिएको छ:
“आँखाले नदेखेका,
कानले नसुनेका,
कुनै मानवीय मनमा नसोचिएका,
यी कुराहरू परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूका निम्ति तयार पार्नुभएको छ।”#2:9 यशै 64:4
10यी कुराहरू परमेश्वरले हामीलाई उहाँका आत्माद्वारा प्रकट गर्नुभएको छ।
आत्माले सबै कुराहरू, परमेश्वरका गहिराइमा भएका कुराहरूलाई पनि खोजी गर्नुहुन्छ। 11किनकि मानिसको आफूभित्रको आत्माले बाहेक अरू कसले तिनीहरूको विचारहरू जान्दछ र? त्यसरी नै परमेश्वरका विचारहरू परमेश्वरको आत्माले बाहेक कसैले जान्दैन। 12हामीले पाएको आत्मा संसारको आत्मा होइन, तर परमेश्वरबाट पाएको आत्मा हो, ताकि परमेश्वरले हामीलाई सित्तैंमा दिनुभएका थोकहरू हामी बुझ्न सकौं। 13हामी जुन कुरा बोल्दछौं, ती मानवीय बुद्धिद्वारा सिकाएका शब्दहरूमा होइन, तर आत्माद्वारा सिकाइएका शब्दहरूमा बोल्दछौं, हामी आत्माले सिकाउनुभएका शब्दहरूमा आत्मिक सत्यताहरू व्याख्या गर्दछौं। 14जुन व्यक्तिसँग परमेश्वरको आत्मा हुँदैन, त्यसले परमेश्वरको आत्माबाट आएका कुराहरू स्वीकार गर्दैन, तर ती कुराहरू त्यसको निम्ति मूर्खता हुन्छन्; र त्यसले ती कुराहरू बुझ्नै सक्दैन, किनकि ती कुराहरूको मूल्याङ्कन आत्मिक रीतिले मात्र हुँदछ। 15आत्मिक व्यक्तिले सबै कुराहरूको मूल्याङ्कन गर्दछ, तर ऊ आफैचाहिँ कोहीद्वारा पनि मूल्याङ्कन गरिँदैन। 16किनकि,
“प्रभुको मनलाई कसले जानेको छ,
र उहाँलाई कसले सिकाउन सक्छ?”#2:16 यशै 40:13
तर हामीसँग त ख्रीष्टको मन छ।
अहिले सेलेक्ट गरिएको:
1 कोरिन्थी 2: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ। सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Nepali Contemporary Version™, New Testament
Copyright © 1998, 2006, 2021 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.