YouVersion लोगो
खोज आइकन

1 कोरिन्थी 3

3
मण्डलीमा विभाजन
1दाजुभाइ-दिदीबहिनीहरूहो, मैले तिमीहरूसँग आत्मिक मानिसहरूसँगझैं बोल्न सकिनँ, तर सांसारिक मानिसहरूसँग अथवा ख्रीष्‍टमा दूधे बालकहरूसँगझैं बोल्नुपर्‍यो। 2मैले तिमीहरूलाई खँदिलो भोजन होइन, तर दूध खुवाएँ; किनकि तिमीहरू खँदिलो भोजनको लागि तयार थिएनौ। वास्तवमा अहिले पनि तिमीहरू तयार छैनौ। 3तिमीहरू अझै पनि सांसारिक छौ; किनकि तिमीहरूका बीचमा डाह र झैझगडाहरू छन्, त्यसो भए के तिमीहरू सांसारिक होइनौ र? तिमीहरू संसारका मानिसहरूजस्तै चल्दैनौ र? 4किनकि जब एउटाले भन्छ “म पावलको हुँ,” अनि अर्कोले, “म अपोल्‍लोसको हुँ,” भने, के तिमीहरू केवल मानिसहरूजस्तै भएनौ र?
5त्यसो हो भने, अपोल्‍लोस को हुन्? अनि पावल को हुन्? केवल सेवकहरू हुन्, जसद्वारा तिमीहरूले सुसमाचार विश्‍वास गर्‍यौ, प्रभुले हामीलाई काम दिएअनुसार पूरा गर्‍यौं। 6मैले बीउ रोपें, अपोल्‍लोसले पानी लगाए, तर परमेश्‍वरले नै त्यसलाई बढाउनुभएको हो। 7यसकारण न रोप्ने केही हो, न ता पानी हाल्ने केही हो, तर परमेश्‍वर मात्र महान् हुनुहुन्छ, जसले बढाउनुहुन्छ। 8रोप्ने मानिस र पानी लगाउने मानिसको एउटै उद्देश्य हुन्छ, र प्रत्येकले आफ्नो परिश्रमअनुसारको इनाम पाउनेछ। 9किनकि हामी परमेश्‍वरको सेवामा सहकर्मी हौं; तिमीहरू परमेश्‍वरको खेतबारी र उहाँको भवन हौ।
10परमेश्‍वरले मलाई दिनुभएको अनुग्रहद्वारा मैले एकजना सिपालु मिस्त्रीलेझैं एउटा जग बसालेको छु, र अरू कसैले त्यसमाथि भवन बनाउँदै जान्छ। तर बनाउने प्रत्येकले होसियारीसाथ बनाउनुपर्छ। 11तर बसालिएको जगबाहेक अर्को कुनै जग कसैले बसाल्न सक्दैन, स्वयम् येशू ख्रीष्‍ट बसालिएको जग त्यो जग हुनुहुन्छ। 12यदि कसैले त्यस जगमाथि सुन, चाँदी, बहुमूल्य पत्थर, काठ, घाँस वा पराल प्रयोग गरेर केही बनाउँछ भने 13तिनीहरूका काम कस्तो रहेछ भनी देखाइनेछ; किनकि त्यस दिनले तिनीहरूका कामलाई ज्योतिमा ल्याइनेछ। आगोद्वारा काम प्रकट हुनेछ, र हरेक मानिसको कामको गुण आगोद्वारा जाँच गरिनेछ। 14यदि त्यसले बनाएको काम रह्‍यो भने त्यस कामदारले इनाम पाउनेछ। 15यदि त्यो काम जलेर नष्‍ट भयो भने कामदारले नोक्सानी उठाउनुपर्नेछ; तापनि आगोको ज्वालाबाट बाँचेझैं आफूचाहिँ बच्नेछ।
16के तिमीहरू आफै परमेश्‍वरको मन्दिर हौ, र परमेश्‍वरको आत्मा तिमीहरूमा वास गर्नुहुन्छ भन्‍ने कुरा जान्दैनौ? 17यदि कसैले परमेश्‍वरको मन्दिरलाई नष्‍ट गर्दछ भने परमेश्‍वरले त्यसलाई नष्‍ट गर्नुहुनेछ; किनकि परमेश्‍वरको मन्दिर पवित्र हुन्छ र त्यो मन्दिर तिमीहरू नै हौ।
18तिमीहरू आफैलाई धोका नदेओ। यदि तिमीहरूमध्ये कसैले आफूलाई यस युगको नापअनुसार बुद्धिमान् सम्झन्छ भने, तिमीहरू बुद्धिमान् हुनको लागि “मूर्ख” बन्‍नुपर्छ। 19किनकि परमेश्‍वरको दृष्‍टिमा यस संसारको बुद्धि मूर्खता हो। यसरी लेखिएको छ: “प्रभुले बुद्धिमानहरूलाई तिनीहरूकै धूर्ततामा पक्रनुहुनेछ।”#3:19 अय्‍यूब 5:13 20अनि फेरि, “प्रभुले जान्‍नुहुन्छ कि बुद्धिमान्‌हरूका विचारहरू व्यर्थ हुन्।”#3:20 भजन 94:11 21यसकारण कसैले मानवीय अगुवाहरूबारे घमण्ड नगर! सबै कुरा तिमीहरूकै हुन्, 22चाहे पावल वा अपोल्‍लोस वा केफास वा जीवन वा संसार वा मृत्यु वा वर्तमान वा भविष्य—सबै तिमीहरूकै हुन्। 23अनि तिमीहरूचाहिँ ख्रीष्‍टका हौ र ख्रीष्‍टचाहिँ परमेश्‍वरका हुनुहुन्छ।

अहिले सेलेक्ट गरिएको:

1 कोरिन्थी 3: NCV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्