YouVersion लोगो
खोज आइकन

1 थेसलोनिकी 5

5
प्रभुको दिन
1अब दाजुभाइ-दिदीबहिनीहरूहो, दिन र समयको विषयमा हामीले तिमीहरूलाई लेख्नुपर्ने आवश्यकता छैन। 2किनकि प्रभुको दिन रातमा चोर आएझैं आउनेछ भन्‍ने कुरा तिमीहरूलाई राम्रोसँग थाहा छ। 3जब मानिसहरूले “शान्ति र सुरक्षा” भनिरहेका हुनेछन्, तब गर्भवती स्त्रीलाई व्यथा लागेझैं, अचानक तिनीहरूमाथि विनाश आइपर्नेछ, र तिनीहरू उम्कन सक्नेछैनन्।
4तर हे दाजुभाइ-दिदीबहिनीहरूहो, तिमीहरू अन्धकारमा छैनौ, कि यस दिनले तिमीहरूलाई चोरले जस्तै चकित पारोस्। 5तिमीहरू त ज्योतिका सन्तान र दिनका सन्तानहरू हौ। हामी रातका अथवा अन्धकारका होइनौं। 6यसकारण हामी अरूजस्ता नहौं, जो सुतेका छन्, तर सचेत र आत्मा संयम बनौं। 7किनकि सुत्नेहरू राती सुत्छन्, र मद्य पिउनेहरू पनि राती नै पिउँछन्। 8तर हामीचाहिँ दिनका भएकाले आत्मा संयम बनौं, विश्‍वास र प्रेमलाई छाती-पाताझैं, अनि मुक्‍तिको आशाको टोपझैं पहिरौं। 9किनकि परमेश्‍वरले हामीलाई उहाँको क्रोध सहनलाई होइन, तर हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा मुक्‍ति प्राप्‍त गर्नलाई नियुक्‍त गर्नुभएको हो। 10उहाँ हाम्रो निम्ति मर्नुभयो, ताकि हामी जागौं वा सुतौं, हामी उहाँसितै जिउन सकौं। 11यसकारण एक-अर्कालाई उत्साह देओ र एकले अर्कोलाई निर्माण गर्दै जाओ, जसरी तिमीहरूले गरिरहेका पनि छौ।
अन्तिम निर्देशनहरू,
12अब दाजुभाइ-दिदीबहिनीहरूहो, तिमीहरूमध्ये कठोर परिश्रम गर्नेहरू, प्रभुमा तिमीहरूलाई अगुवाइ गर्नेहरू र तिमीहरूलाई उत्साह दिनेहरूलाई आदर गर। 13अनि तिनीहरूका कामको निम्ति तिनीहरूलाई प्रेमसाथ अति उच्‍च आदर देओ। तिमीहरू एक-आपससँग मेलमिलापमा बस। 14दाजुभाइ-दिदीबहिनीहरूहो, हामी तिमीहरूलाई आग्रह गर्दछौं, कि अल्छेहरूलाई चेतावनी देओ, डराएकाहरूलाई उत्साह देओ, कमजोरहरूलाई सहायता गर, र सबैसँग सहनशील होओ। 15यस विषयमा ध्यान देओ, कि कसैले पनि खराबीको बदला खराबी नगरोस्, तर एक-आपसमा साथै अरू सबैसँग सधैं भलाइ गर्ने प्रयास गर।
16सधैं आनन्दित रहो। 17निरन्तर प्रार्थना गरिरहो। 18हरेक परिस्थितिमा धन्यवाद देओ; किनकि ख्रीष्‍ट येशूमा तिमीहरूको लागि परमेश्‍वरको इच्छा यही हो।
19पवित्र आत्मालाई ननिभाओ। 20अगमवाणीलाई तुच्छ नठान। 21हरेक कुरालाई जाँच गर; जे कुरा असल छ त्यसलाई पक्रिराख। 22हरेक किसिमका दुष्‍टतालाई इन्कार गर।
23तिमीहरूलाई शान्तिका परमेश्‍वर आफैले, सम्पूर्ण रूपले शुद्ध बनाऊन्। हाम्रा प्रभु येशू ख्रीष्‍टको दोस्रो आगमनसम्म तिमीहरूका सम्पूर्ण आत्मा, प्राण र शरीर निष्कलङ्क राखून्। 24तिमीहरूलाई बोलाउनुहुने परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ र उहाँले नै यो गर्नुहुनेछ।
25दाजुभाइ-दिदीबहिनीहरूहो, हाम्रा निम्ति प्रार्थना गरिदेओ।
26परमेश्‍वरका सबै जनहरूलाई ख्रीष्‍टिय प्रेमसाथ#5:26 मूल भाषामा पवित्र चुम्बनसाथ अभिवादन गर।
27यो पत्र सबै दाजुभाइ-दिदीबहिनीहरूलाई पढेर सुनाइदेओ भनी प्रभुको नाउँमा म तिमीहरूलाई आग्रह गर्दछु।
28हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरूसँग रहोस्।

अहिले सेलेक्ट गरिएको:

1 थेसलोनिकी 5: NCV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्