2 थेसलोनिकी 3
3
प्रार्थनाको लागि बिन्ती
1अन्त्यमा दाजुभाइ-दिदीबहिनीहरू हो, हाम्रो लागि प्रार्थना गरिदेओ; यसकारणले कि प्रभुको सन्देश तीव्रतासाथ फैलिओस् र तिमीहरूका माझमा पुगेझैँ सबैतिर महिमित भएको होस्। 2सबै जनासँग विश्वास हुँदैन; त्यसकारण हामी दुष्ट र खराब मानिसहरूको हातबाट छुटकारा पाउन सकौँ भनेर प्रार्थना गरिदेओ। 3तर प्रभु विश्वासयोग्य हुनुहुन्छ, र उहाँले तिमीहरूलाई सामर्थ्य दिनुहुनेछ र शैतानबाट रक्षा गर्नुहुनेछ। 4हाम्रा आज्ञाहरू तिमीहरूले पालन गरिरहेका छौ र गरी नै रहनेछौ भनी हामी प्रभुमा निश्चित छौँ। 5प्रभुले तिमीहरूका हृदयलाई परमेश्वरको प्रेम र ख्रीष्टको धैर्यतामा डोर्याऊन्।
अल्छेपनको विरुद्धमा चेतावनी
6हे दाजुभाइ-दिदीबहिनीहरू हो, प्रभु येशू ख्रीष्टको नाममा हामी तिमीहरूलाई आज्ञा गर्दर्छौँ, जो विश्वासी अल्छे छ र बाधा पुर्याउने गर्छ; अनि हामीबाट पाएका शिक्षाअनुसार चल्दैन, त्यस्ता हरेक विश्वासीबाट अलग बस। 7किनकि तिमीहरूले हाम्रो नमुना कसरी लिनुपर्छ, सो तिमीहरू आफैँलाई थाहा छ। हामी तिमीहरूसँग हुँदा अल्छे भएर बसेनौँ, 8न त हामीले सित्तैँमा कसैको खाना नै खायौँ। बरु तिमीहरू कसैको हामी भार नबनौँ भनेर दिनरात कडा परिश्रमका साथ काम गर्यौँ। 9हामीलाई सहायता पाउने हक नभएर होइन, तर तिमीहरूले हाम्रो अनुकरण गर्न सक भनेर तिमीहरूका निम्ति हामीले आफूलाई नमुना बनाउन यसो गरेका थियौँ। 10किनकि जब हामी तिमीहरूसँग थियौँ, हामीले तिमीहरूलाई यो आज्ञा दिएका थियौँ, “यदि कुनै मानिसले काम गर्दैन भने त्यसले खाँदै नखाओस्।”
11तिमीहरूमध्ये कोही-कोही अल्छे छन्, र बाधा पुर्याउने गर्छन् भनी हामी सुन्छौँ। तिनीहरू आफैँ त काम गर्दैनन्, तर अर्काको काममा व्यर्थै हात हाल्छन्। 12यस्ता मानिसहरूलाई हामी प्रभु येशू ख्रीष्टमा आज्ञा दिन्छौँ र बिन्ती गर्छौँ: तिनीहरू व्यवस्थित भएर बसून् र आफ्ना भोजन आफैँ जुटाऊन्। 13अनि दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूचाहिँ भलाइ गर्नमा कहिल्यै नथाक।
14यदि कसैले यस पत्रमा हामीले लेखेका निर्देशन पालन गर्दैन भने त्यसलाई चिनिराख र त्यससँग सम्बन्ध नराख, ताकि त्यो आफैँ शर्ममा परोस्। 15तापनि तिनीहरूलाई शत्रुजस्तो व्यवहार नगर, तर सङ्गी विश्वासीलाई जस्तै तिनीहरूलाई चेतावनी देओ।
अन्तिम अभिवादन
16अब शान्तिका प्रभु आफैँले हर समय र हरेक किसिमले तिमीहरूलाई शान्ति देऊन्। प्रभु तिमीहरू सबैसित रहिरहून्।
17म पावल, आफ्नै हातले यो अभिवादन लेख्दैछु। योचाहिँ मेरा सबै पत्रहरूको प्रमाण हो। यसरी नै म लेख्छु।
18हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरू सबैसँग रहोस्!
अहिले सेलेक्ट गरिएको:
2 थेसलोनिकी 3: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.