YouVersion लोगो
खोज आइकन

प्रेरित 8:26-40

प्रेरित 8:26-40 NCV

त्यसपछि प्रभुको एउटा दूतले फिलिपसँग यसो भने, “यरूशलेमबाट गाजातर्फ जाने दक्षिणतिर मरुभूमिको सडकमा तिमी जाऊ।” अनि तिनी त्यतैतिर लागे। बाटोमा तिनले एक जना इथियोपियाली नपुंसकलाई भेटे। ती नपुंसक इथियोपियाली महारानी कन्दाकीको सम्पूर्ण सम्पत्तिको रेखदेख गर्ने महत्त्वपूर्ण उच्‍च अधिकारी थिए। ती मानिस आराधनाका निम्ति यरूशलेम गएका थिए, र घर फर्कँदा बाटोमा आफ्नो रथमा बसेर अगमवक्ता यशैयाको पुस्तक पढिरहेका थिए। फिलिपलाई पवित्र आत्माले भन्‍नुभयो, “नजिकै जाऊ, र त्यो रथ सँगसँगै लाग।” अनि फिलिप रथतिर दौडिँदै गए, र नजिकै पुगेपछि ती मानिसले यशैया अगमवक्ताको पुस्तक पढेको तिनले सुने। अनि फिलिपले सोधे, “तपाईंले जे पढिरहनुभएको छ, के त्यो बुझ्नुहुन्छ?” “जबसम्म यसको व्याख्या कसैले गरिदिँदैन, म कसरी बुझ्नसक्छु?” उनले जवाफ दिए। त्यसैले तिनले फिलिपलाई रथमाथि उक्लेर आफूसँगै बस्‍न आग्रह गरे। ती नपुंसक पवित्रशास्त्रको यो अंश पढिरहेका थिए: “उहाँलाई मारिन लगिएको थुमाझैँ लगियो, जसरी थुमा ऊन कत्रनेको सामु चुप लागेर बस्छ, त्यसरी नै उहाँले पनि आफ्नो मुख खोल्नुभएन। उहाँको अपमानित अवस्थामा उहाँ न्यायबाट वञ्चित हुनुभयो। उहाँका पुस्ताको कसले वर्णन गर्न सक्छ? किनकि उहाँको जीवन पृथ्वीबाट हटाइयो।” नपुंसकले फिलिपलाई सोधे, “कृपया मलाई भन्‍नुहोस्, अगमवक्ता कसका बारेमा कुरा गर्दैछन्, आफ्नै बारेमा वा अरू कसैको बारेमा?” त्यसपछि फिलिपले पवित्रशास्त्रको त्यही पदबाट सुरु गर्दै तिनलाई येशूको बारेमा सुसमाचार सुनाए। तिनीहरू बाटोमा जाँदै गर्दा केही पानी भएको ठाउँमा आइपुगे; अनि नपुंसकले भने, “हेर्नुहोस्, यहाँ पानी रहेछ, मेरो बप्‍तिस्मा किन यहीँ गरिदिनुहुन्‍न?” फिलिपले भने, “यदि सारा हृदयले नै विश्‍वास गर्नुहुन्छ भने तपाईंले बप्‍तिस्मा लिन सक्नुहुन्छ।” तिनले जवाफ दिए, “येशू ख्रीष्‍ट नै परमेश्‍वरका पुत्र हुनुहुन्छ भनी म विश्‍वास गर्दछु।” अनि तिनले रथ रोक्न हुकुम दिए; अनि फिलिप र ती नपुंसक दुवै पानीभित्र पसे, र फिलिपले तिनलाई बप्‍तिस्मा दिए। जब तिनीहरू पानीबाट बाहिर आए, तब प्रभुको आत्माले फिलिपलाई अकस्मात् लिएर जानुभयो, र त्यसपछि ती नपुंसकले फिलिपलाई फेरि देखेनन्। अनि तिनी आनन्दित हुँदै आफ्नो बाटो लागे। तर फिलिपले आफूलाई अश्दोदमा पाए। अनि त्यहाँबाट कैसरिया नपुगुन्जेलसम्म बाटोमा पर्ने सबै सहरहरूमा सुसमाचार प्रचार गरे।

प्रेरित 8 पढ्नुहोस्